डिल्ली खत्री
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगरपालिकाको सिमा नाका प्रत्येक वडामा स्वास्थ्य सहायता कक्ष निर्माण गरेको छ । नोवेल कोरोना भाइरस ( कोभिट १९ ) विश्वभर फैलिरहेको बेला चौरजहारी नगरपालिकाले यसबाट बच्न स्वास्थ्य सहायता कक्ष निर्माण गरेको हो । नगरपालिकाले नगरपालिकामा प्रवेश गर्ने सीमा नाका र प्रत्येक वडामा स्वास्थ्य सहायता कक्ष निर्माण गरेको हो ।
सल्यानबाट प्रवेश गर्ने सिलिङ्गी, बाँसखोला र जाजरकोटबाट प्रवेश गर्ने मटेला र प्रत्येक वडाको स्वास्थ्य संस्था नजिक स्वास्थ्य सहायता कक्ष निर्माण गरेको नगर प्रमुख बिशाल शर्माले बताए । उनका अनुसार स्वास्थ्य सहायता कक्षमा सामान्य ज्वरो चेकजाँच गरिने र केही लक्षण देखिएमा स्वास्थ्य संस्थामा र्पुयाउने व्यवस्था गरिएको छ । ‘चौरजहारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएका छौँ’ नगर प्रमुख शर्माले भने, ‘दुईवटा अस्पतालमा गरि २५ बेड तयारी अवस्थामा राखेका छौ, सबै ठाउँमा आवश्यक सामाग्री पुगिसकेको छ, हामीसँग मास्कको अभाव छ स्थानीय स्तरमा मास्क उत्पादनको तयारी जुटेको छौँ ।’ अहिले देशका विभिन्न सहर तथा भारतको विभिन्न ठाउँबाट घर फर्कनेको संख्या बढेको छ । त्यस्ता ब्यक्तिलाई कम्तिमा १४ दिन होम क्वारेन्टाइनमा बस्न नगरपालिकाले भनेको छ । कोरोनाको संकेतजस्तो गाउँमा कसैलाई देखिने बित्तिकै स्वास्थ्य संस्थामा र्पुयाउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।
विश्व कठिन अवस्थामा गइरहेको बेला एकले अर्कालाई सहयोग गर्न नगरवासि सबैमा नगरपालिकाले अनुरोध गरेको छ । अब कुनै पनि स्वास्थ्यकर्मी बिदामा नबस्न र शनिबार पनि स्वास्थ्य संस्था बन्द नगर्न नगरपालिकाले सूचना जारी गरेको छ । त्यस्तै यो रुघाखोकी र ज्वरो आउने समय भएकोले पनि धेरै नआतिन भनेको छ । स्वास्थ्य सहायता कक्षमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरेर ५ जना छन् भने २४ घण्टा नगरपालिकाका एम्बुलेन्स तयारी अवस्थामा रहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु