मेगराज खड्का
रुकुम
रुकुम पश्चिम मदिरा नियन्त्रण अभियान चलिरहेको छ । गाउँगाउँमा मदिरा नियन्त्रणका लागि पालिका देखि वडा स्तरबाट सचेतनामलुक अभियान चलिरहेको हो । यद्यपी कानुनी जटिलताका कारण जिल्ला स्तरमा अभियानले सार्थकता भने पाउन सकिरहेको छैन । मदिरा नियन्त्रण अभियान अन्र्तगत स्थानीय प्रहरी प्रशासनले मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, सवारीसाधान चलाउने तथा सरकारी कार्यालय समयमा मदिरा सेवन गरेर आउने जस्तो बिषयमा नियन्त्रणमा लिएर केहि दिन हिरासतमा राख्न र १ हजार जरीवाना तिराउन सक्छ ।
जिल्लामा मदिरा सेवनका कारण अपराधजन्य घटनामा धेरै बृद्धि भएको प्रहरीले बेला बेला बताउने पनि गरेको छ । धेरैको जिज्ञासा हुनसक्छ त्यसोभए जिल्लामा मादक पदार्थ सेवन गरेर जरिवाना तिर्ने संख्या कति छ त ? । तर ३ बर्ष यताको तथ्यांक हेर्दा चालु बर्षमा मदिरा सेवनका कारण पक्राउ तथा जरिवाना तिर्ने संख्या शुन्य छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले दिएको तथ्यांक अनुसार मापसे अर्थात मादक पदार्थ सेवन गरेर होहल्ला देखि अन्य कानुन बिपरित गतिबिधी गर्ने यस बर्षमा एक जना पनि पक्राउ गरेर जरिवाना कसैले पनि तिरेको छैन । मापसे सेवन गरेर कानुन बिपरित काम गर्नेलाई प्रहरीले पक्राउ गरेर एक दिन थुनामा राखेर भोलिपल्ट जिल्ला प्रशासन कार्यालय मार्फत १ हजार सम्म जरिवाना तिराएर छोड्ने प्रावधान छ ।
रुकुम पश्चिममा ३ बर्ष यताको विवरण हेर्दा २०७३ सालमा ७५ जना र २०७४ सालमा ९ जना ब्यक्तिलाई मापसे सेवन गरि कानुन बिपरित कार्य गरेको अभियोगमा पक्राउ गरि जरिवाना तिराईएको छ । जसबाट ८० हजार बढी तरिवाना रकम संकलन भएको छ । जसमा १७ बर्ष देखि ५० बर्ष सम्मका ब्यक्ति छन । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले चालु बर्षमा कुनै पनि ब्यक्ति मापसे सेवन कारण पक्राउ परेर जरिवाना नतिरेको बताए । ‘मापसे सेवन गरेको कार्यमा पक्राउ गरेर प्रशासन मार्फत जरिवाना तिर्ने यस बर्षमा एक जना पनि छैन’ प्रजिअ रेग्मीले भने, ‘कुनै पक्राउ गरेको भएपनि प्रहरीले आफै छोडेको हो या पक्राउ नै नपरेको हुन ।’ मापसे सेवनको कार्यमा पक्राउ नपर्नु राम्रो पक्ष नै नभएको उनको भनाई छ । उता जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले अघिल्लो बर्षहरुको जस्तै मापसे सेवन गरेकालाई पक्राउ नगरिएको बताए । ‘यस बर्ष मापसेमा कोहि पनि पक्राउ गरिएको छैन, मापसे गरेर अन्य अपराधजन्य घटना पनि गरेको छ भने मात्र पक्राउ गरेर कारबाही गरिएको छ’ उनले भने ।