जयमान बुढा मगर
रुकुम पश्चिम मुसिकोट खलंगामा कर्णाली प्रदेश स्तरीय संस्कृतिक सम्मेलन हुने भएको छ । चैतको २४ गते देखि २६ गते सम्म कार्यक्रम सञ्चालन हुने भएको हो । कर्णाली प्रदेशका १० ओटा जिल्ला र रुकुमपूर्व गरी ११ ओटा जिल्लाको संस्कृतिक झलकहरु समेट्ने गरि प्रदेश स्तरीय सम्मेलन गर्न लागीएको हो । आज जिल्ला समन्वय समिति रुकुम पश्चिमले पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी गरेको हो । कार्यक्रमको मूल आयोजक जिल्ला समन्वय समिति रुकुम पश्चिम र सह–आयोजक रुकुम कला संस्कृतिक मञ्च रहने छ ।
जिल्लामा छरिएर रहेका कला संस्कृतिलाई संरक्षण गर्ने, परम्परागत कला संस्कृतिलाई पुराना पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण गर्ने मुख्य उद्देश्य राखेको मुख्य आयोजक जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले जानकारी दिए । नेपालको संविधानले समाजवाद सहित आर्थिक तथा न्याय सहितको विकास गर्ने एजेन्डा राखेकोले त्यसलाई संस्थागत गरेर कला संस्कृति क्षेत्रबाट समृद्धमा सहयोग पुर्याउन यस्ते कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ । ‘कला संस्कृतिको कसरी उथान गर्ने, अध्ययन गर्न लायक बनाउने त्यसका लागि यो कार्यक्रम सार्थक हुनेछ’ प्रमुख शर्माले भने, ‘गत वर्षको रारा भ्रमणलाई टेवा पु¥याई भाषा, कला, स्थानीय स्तर र राष्ट्रिय स्तरका कलाकारलाई समन्वय गरिदिने पनि हाम्रो लक्ष हो ।’
मौलिक कला संस्कृतिकलाई झल्कने भिडियो डकुमेन्ट्री तयार गरी पछिल्लो पुस्ताको लागि पनि हेर्नलायक बनाउने समेत कार्यक्रमको लक्ष छ । कार्यक्रम तथा अतिथिहरुको व्यवस्थापनको लागि आयोजक समितिमा आ–आफ्नो विभागमा जिम्मेवारीको टुङ्गो लागेकोे मूल आयोजक समितिले जनाएको छ ।
