डिल्लीबहादुर खत्री/सन्देश जैसी
चौरजहारी
रुकुम पश्चिम चौरजहारी नगरपालिकाको केन्द्र साविककै ठाउँ (वडा न. २ को बिजयश्वरी) मा तोकिएको छ । नगरपालिकाको केन्द्र तोक्न भएको पाँचौ नगर सभाले बिजयश्वरीमा केन्द्र तोकेको हो । नगर सभाको सञ्चालन गर्दै सभाध्यक्ष बिशाल शर्माले यो नगर सभा ऐतिहासिक भएको बताए । उनले विधेयक समितिलाई केन्द्रको प्रस्ताव पेश गर्न आग्रह गरेलगत्तै समिति संयोजक टिकाराम ओलिले नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा ३ बमोजिम नगर सभाको दुई तिहाइ बहुमतले साविककै ठाउँमा केन्द्र राख्न मतदान गर्न प्रस्ताव पेश गरेका थिए ।
उनको प्रस्तावमा नगरसभाका सदस्य जयलाल महतारा, सुनिता डाङ्गी, डम्बरबहादुर मल्ल, प्रेमबहादुर खत्री, धरमबहादुर केसीले समर्थन जनाएका थिए । सभाध्यक्ष शर्माले पक्षमा हुने सभा सदस्यले बायाँ तिर र विपक्षमा हुनेले दायाँ तिर मतदान गर्न निर्देशन गरेपछि नगर सभा सदस्यहरुले मतदान गरेका थिए । प्रस्तावको पक्षमा ६१ र विपक्षमा ६ मतदान भएपछि नगरपालिकाको केन्द्र प्रस्तावको पक्षमा अर्थात साविककै ठाउँमा केन्द्र तोकिएको हो । विपक्षमा मतदान गर्नेमा वडा न. ११ का वडा अध्यक्ष र वडा न. १३ का जनप्रतिनिधि रहेका छन् । कुल ७५ जना नगर सभा सदस्यहरु मध्ये ६७ जनाको उपस्थिति रहेको थियो । यस अघि नगरपालिकाको केन्द्रको लागि वडा न. ११ को चौफा, ६ को शान्तिबजार, ७ को नार्जि र २ को बिजयश्वरी केन्द्रको चर्चामा रहेका थिए ।
त्यस्तै नगर सभाले नगर अस्पताल वडा न. १० को चिन्नेबगरमा बनाउने , नमुना बिद्यालय वडा न. ७ को आधारभुत बिद्यालय नार्जि र ७ कै माध्यमिक बिद्यालय कोटजहारीलाई बनाउने, सीप बिकास तालिम केन्द्र वडा न १३ को एगौली छेर्नामा निर्माण र नगर भित्रका दुर्गम ठाउँलाई बिशेष सेवा सुविधा दिने निर्णय पारित गरेको छ । उता विपक्षमा मतदान गर्ने वडा न. ११ का वडा अध्यक्ष मनमोहन शाहले आज केन्द्र तोक्ने कुनै पनि जानकारी नदिएर एक्कासि मतदान गर्न लगाएको आरोप लगाएका छन् । नगर सभामा आफ्नो मतले हारे पनि जनताले मुल्यांकन गर्ने वडा अध्यक्ष शाहको भनाइ छ ।