डिल्लीबहादुर खत्री
चौरजहारी
रुकुम पश्चिम चौरजहारी नगरपालिकामा पकेट क्षेत्र घोषणा गरेर कृषि उत्पादन गर्न सुरु गरिएको छ । पकेट क्षेत्र घोषणा गरेर व्यवसायीक कृषि उत्पादन गरि आर्थिक समृद्धि गर्ने नगरपालिको नीति अनुसार पकेट क्षेत्र कृषि उत्पादन सुरु गरिएको हो ।
नगरपालिकाको माथिल्लो भागलाई फलफूल, बोटबिरुवा, बिचको भागलाई पशुपालन, तरकारी र तल्लो भागलाई खाद्यान्न उत्पादन पकेट क्षेत्र घोषणा गरेर कृषि उत्पादनमा लागेको नगरपालिकाको कार्यालयले बताएको छ । नगर प्रमुख बिशाल शर्माका अनुसार प्रत्येक १/१ वटा बिरुवा लगाउने , १/१ वटा पशु पालेर आर्थिक समृद्धि नहुने भएकोले त्यसलाई व्यवसायीकरण गरेर आर्थिक समृद्धि बढाइनेछ । ‘हामीले पकेट क्षेत्र घोषणा गरेर कृषि उत्पादन सुरु गरेका छौँ, यसबाट आफ्नो पालामा नगर आर्थिक समृद्धिमा लम्किनेछ’ उनले भने, ‘कृषि क्षेत्रमा नोक्सान हुन नदिनको लागि प्रत्येक वडामा कृषि प्राविधिक राखिन्छ ।’ कृषि क्षेत्रमा क्षतिको राहात उपलब्ध बनाउन कृषि बिमाको कार्यक्रम पनि बढाउने उनको भनाई छ । नगरपालिकाले पकेट क्षेत्र अनुसार फलफुलका बिरुवा बितरण, सामुहिक पशुपालन, तरकारी कृषि फार्म लगायतका कार्यक्रम अगाडि बढाएको बताईएको छ । नगरपालिकाले पकेट क्षेत्र घोषणा गरेर व्यवसायीक कृषि उत्पादन गर्नु राम्रो काम भएकोले यसलाई कार्यनयन गरि निरन्तरता दिनुपर्ने वडा न. ६ का हस्तबहादुर बुढाको भनाइ छ । ‘हामी पुरै गाउँ भरिले नगरपालिकाको कार्यक्रम अनुसार अलैंची खेती लगाउन सुरु गरेका छौँ’ उनले भने ।
