राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुसिकोट नगर कार्यसमितिले जनताका गुनासा तथा स्थानीय समस्याहरू समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
नगर समितिको पहिलो अनलाइन बैठकबाट पारित प्रस्ताव तथा निर्णय सार्वजनिक गर्दै रास्वपाले आम नागरिकबाट प्राप्त गुनासालाई पहिलो चरणमा सामाजिक सञ्जालमार्फत सम्बन्धित निकाय समक्ष पु¥याउने निर्णय गरेको जनाएको छ । बैठकले जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा १३ बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।
ध्यानाकर्षण पत्रमा दूध, दही तथा डेरीजन्य खाद्य पदार्थको गुणस्तर र उच्च मूल्यका विषयमा जनगुनासाको सम्बोधन गर्न माग गरिएको छ । यस्तै, खानेपानीको शुद्धता परीक्षण तथा पिउन योग्य भएको प्रमाण सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ । रास्वपाले त्रिभुवन जनता माध्यमिक विद्यालयको जग्गा मिचिएको भन्ने विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । साथै, अटो भाडा तथा व्यवस्थापनमा देखिएको समस्या र मुसिकोट नगरपालिकाको मौनताबारे स्पष्ट पार्न पनि ध्यानाकर्षण गराइएको छ ।
बैठकले विद्युत् अवरोध, बजार क्षेत्रको ट्राफिक व्यवस्थापन, पैदलयात्रीले भोगिरहेका समस्या तथा बजारका नालाको सरसफाइ अभावका कारण उत्पन्न दुर्गन्ध व्यवस्थापनका विषयलाई पनि उठाएको नगर सचिव राजन कुमार विकले जानकारी दिनुभयो ।
त्यसैगरी बजारमा बिक्री हुने तरकारी तथा फलफूलको विषादी परीक्षण नियमित गर्न, अलपत्र अवस्थामा रहेको बसपार्क सञ्चालनमा ल्याउन, भूकम्पपीडितका समस्या समाधान गर्न र नगरपालिकासहित मातहतका कार्यालयबाट हुने भ्रमण भत्ता तथा सवारी साधन खर्चको विवरण सार्वजनिक गर्न माग गरिएको छ ।
रास्वपाले विभिन्न समयमा सरकारी अनुदानमा सञ्चालन भएका व्यावसायिक आयोजनाहरूको वर्तमान अवस्था सार्वजनिक गर्नसमेत सम्बन्धित निकायलाई आग्रह गरेको छ । बैठकपछि सार्वजनिक निर्णयपत्रमा जनताका आवाजलाई सम्बन्धित निकायसम्म पु¥याई स्थानीय समस्याको समाधानका लागि निरन्तर पहल गरिने उल्लेख गरिएको छ ।

