नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले आफ्नो पार्टीको तर्फबाट उम्मेदवार रहेका गोपाल शर्मालाई विजयी गराउन मतदान गरेर भूमिका खेल्ने सबै मतदाता लगायत सरोकारवाला सबैलाई धन्यबाद ब्यक्त गरेको छ । विजयी उम्मेदवार शर्मालाई पार्टीको तर्फबाट बधाई ज्ञापन गर्दै निर्वाचन अभियानमा अथक मेहेनतका साथ अहोरात्र खट्ने सबै पार्टी संगठन नेतृत्वप्रति आभार समेत ब्यक्त गरेको छ ।

नेकपाका केन्द्रीय सदस्यद्धय सचिन रोका र सुरज परियारको हस्ताक्षरमा निकालिएको प्रेस विज्ञप्तीमा यस जिल्लामा हाम्रो पार्टीको लागि यसपटकको निर्वाचन चुनौतिपूर्ण अग्निपरीक्षाको महासंग्राम भएपनि कम्युनिष्ट पार्टीको विजयको विरासत जोगाउन मतदाताले खेलेको अतुलनीय भूमिकाका कारण विजय संभव रहेको विश्वास व्यक्त गरिएको छ ।
‘सदाझैं यसपटकको निर्वाचनमा पनि नेपाली कम्युनिष्ट पार्टीप्रति रुकुमेली मतदाताले देखाएको अटुट विश्वास, अगाध माया र अद्भूत भरोसालाई उच्च सम्मान गर्दै जनताको सेवामा अझ बढी सक्रियता र दृढताका साथ लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ ।

विस्तृत विज्ञप्ती तल पढ्नुहोस

प्रेस विज्ञप्ति

२०८२ फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनाको अन्तिम नतिजा आइसकेको छ ।यस निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट तारा चुनाव चिन्हका उम्मेदवार कमरेड गोपाल शर्मा अनललाई भारी मतका साथ विजयी गराउनुहुने आदरणीय रुकुमेली मतदाताज्यूहरुमा हाम्रो पार्टी हार्दिक आभारसहित विशेष धन्यवाद ज्ञापन गर्दछ । विजयी उम्मेदवार मा. गोपाल शर्मालाई हार्दिक बधाईसहित कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं ।

निर्वाचन अभियानमा अथक मेहेनतका साथ अहोरात्र खट्नुहुने जिल्ला निर्वाचन परिचालन समितिका संयोजक क. वसन्त कुमार शर्मासहित पार्टीका सबै तहका नेता/कार्यकर्ताहरु, युवा संगठनका कमरेडहरु, आर्थिक सहयोग गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मित्रहरु, सामाजिक सञ्जाल तथा आम संचारका माध्यममार्फत प्रचार प्रसारमा सक्रिय रहनुभएका डिजिटल अभियन्ता तथा संचारकर्मी मित्रहरु, कम्युनिष्ट विचारका रक्षकको भूमिकामा रहेका महान शहिद परिवार तथा पूर्व जनमुक्ति सेनाका कमरेडहरु, घाइते अपाङ्ग यौद्धाहरु, स्थानीय प्रशासन तथा सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र मतदान केन्द्रमा खटिनुभएका सम्पूर्ण कर्मचारी तथा शिक्षक मित्रहरुलाई हाम्रो पार्टीको तर्फबाट हार्दिक धन्यवाद टक्र्याउछौं । यस जिल्लामा हाम्रो पार्टीको लागि यसपटकको निर्वाचन चुनौतिपूर्ण अग्निपरीक्षाको महासंग्राम थियो ।

एकातिर निरन्तरताको निकटतम प्रतिष्पर्धी दलसँगको चुनावी रस्साकस्सी र अर्कोतिर कम्युनिष्ट पार्टी छोडेर गठबन्धनसहित चुनावमा होमिएको निवर्तमान कमरेडको नयाँ पार्टीसँगको चुनावी प्रतिष्पर्धा एउटा विशिष्ट प्रकृतिको कठिनतम परिवेश थियो । यो विषम परिवेशमा कम्युनिष्ट पार्टीको विजयको विरासत जोगाउन हाम्रा मतदाताले खेलेको अतुलनीय भूमिकालाई सलाम गर्छौं ।र आगामी दिनमासमेत आम मतदाता र उर्जाशील कार्यकर्ताहरुको उक्त भूमिका अझ सशक्त र प्रभावकारी रहने विश्वास व्यक्त गर्दछौं ।

आम रुकुमेलीहरुको साझा जनप्रतिनिधिको रुपमा अत्यधिक बहुमतद्वारा निर्वाचित मा. गोपाल शर्माको अभिभावकत्वमा अधुरा कामहरु पुरा गरी जिल्लाको विकास र समृद्धिको अभियानले गति लिनेछ।यस अभियानमा जिल्लास्थित क्रियाशील राजनैतिक दलहरुसहित सम्पूर्ण जिल्लावासीहरु एकतावद्ध र लामवद्ध हुने विश्वास लिएका छौं । सदाझैं यसपटकको निर्वाचनमा पनि नेपाली कम्युनिष्ट पार्टीप्रति रुकुमेली मतदाताले देखाएको अटुट विश्वास, अगाध माया र अद्भूत भरोसालाई उच्च सम्मान गर्दै जनताको सेवामा अझ बढी सक्रियता र दृढताका साथ लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । धन्यवाद !

२८ फागुन २०८२ –

गोविन्द रोका (केन्द्रीय सदस्य)

-सुरज परियार (केन्द्रीय सदस्य)

फेसबुकमा प्रतिक्रिया दिनुहोस...