गणेश गौतम
आगामी फागुन २१ गते प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु आफ्नो नीति कार्यक्रम लिएर गाउँगाउँमा घरदैलो गरिरहेका छन । दल तथा उम्मेदवारहरुले चुनाव जित्न विभिन्न उपायहरु अपनाईरहेका छन । तर दल तथा उम्मेदवारहरुले तल उल्लेख गरेका विषयहरुमा केन्द्रीत हुन सके भने विजय हाँसिल गर्न सहज हुने देखिन्छ । निर्वाचनका विषयमा गरिएको विभिन्न कुराकानी र सर्बेक्षणका आधारमा तयार गरिएका यी सुझावहरू यदि इमानदारीपूर्वक व्यवहारमा उतार्न सकिएमा जनताले नेताहरूलाई अझ राम्रोसँग बुझ्नेछन्, जनसमर्थन बलियो हुनेछ र विजयको सम्भावना बढ्नेछ ।
प्रमुख सुझावहरू
१. एजेन्डा स्पष्ट र संक्षिप्त राख्ने
आफ्ना योजना, नीति र उद्देश्य सरल, बुझिने भाषामा छोटकरीमा प्रस्तुत गर्ने ।
२. भूगोलअनुसार युवाको परिचालन
क्षेत्रको भौगोलिक अवस्था बुझी स्थानीय युवालाई सक्रिय रूपमा परिचालन गर्ने ।
३. जनताको समस्या ध्यानपूर्वक सुन्ने र इमानदार रहने
समस्या गम्भीरतापूर्वक सुन्ने, गर्न सकिने काममा मात्र प्रतिबद्धता गर्ने र झुटा आश्वासन नदिने ।
४. सबै वर्गसँग नियमित अन्तरक्रिया
महिला, विद्यार्थी, बुद्धिजीवी, वृद्ध–वृद्धा, जनजाति तथा सुकुम्बासी समुदायसँग लक्षित अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ।
५. व्यवहार शान्त, सकारात्मक र सरल राख्ने
शान्त, स्पष्ट र हँसिलो स्वभावमा जनताले बुझ्ने भाषामा आफ्ना कुरा राख्ने ।
६. साधारण खानाको व्यवस्था
ठाउँ र परिस्थितिअनुसार सामान्य खानाको व्यवस्था गर्दा आत्मीयता र सकारात्मक भावना बढ्छ ।
७. स्वास्थ्यप्रति संवेदनशील रहने
जनताको स्वास्थ्य समस्याप्रति चासो देखाउने र सम्भव भएसम्म प्राथमिक उपचार सामग्री साथमा राख्ने ।
८. समयको उचित व्यवस्थापन
एकै स्थानमा धेरै समय नबिताई धेरै क्षेत्र समेट्ने रणनीति अपनाउने ।
९. जनवर्गीय संगठन सक्रिय बनाउने
पार्टीका जनवर्गीय संगठनहरूलाई योजनाबद्ध रूपमा परिचालन गर्ने ।
१०. मनोरञ्जनात्मक कार्यक्रम छोटो र सन्देशमूलक बनाउने
अनुशासित, छोटो र सन्देश प्रवाह गर्ने शैलीमा कार्यक्रम सञ्चालन गर्ने ।
११. सुरक्षा रणनीतिको नियमित समीक्षा
समय–समयमा सुरक्षा व्यवस्थाको मूल्याङ्कन र आवश्यक सुधार गर्ने ।
१२. सामाजिक सञ्जालमा मर्यादित भाषा प्रयोग गर्ने
धम्की, गालीगलौज नगर्ने, एकले अर्को लाइ सम्मान गर्ने बिरोध गरेर आफु राम्रो बन्न नखोज्ने बरु आफुले राम्रो काम गरेर देखाउने,
१३. कमजोर क्षेत्रलाई प्राथमिकता दिने
जहाँ संगठन कमजोर छ, त्यहाँ संगठन विस्तार र प्रचार–प्रसार तीव्र बनाउने ।
१४. भरपर्दो सञ्चार माध्यम प्रयोग गर्ने
विश्वसनीय माध्यममार्फत नीति, रणनीति र दृष्टिकोण स्पष्ट रूपमा प्रस्तुत गर्ने ।
१५. आफ्नो स्वास्थ्य र टिमवर्कमा ध्यान दिने
स्वास्थ्यको ख्याल राख्दै सक्षम र इमानदार सहयोगीहरूसँग समन्वय गरेर अघि बढ्ने ।
१६. निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने
निर्वाचनसम्बन्धी नियम, कानुन र आचारसंहिताको कडाइका साथ पालना गर्ने ।
१७. पार्टी घोषणापत्रको गहिरो अध्ययन गर्ने
घोषणापत्र बुझी जनतासामु छोटकरी र स्पष्ट रूपमा प्रस्तुत गर्ने ।
१८. फरक र व्यवहारिक योजना प्रस्तुत गर्ने
अन्य उम्मेदवारभन्दा फरक, व्यवहारिक र दीर्घकालीन योजनामार्फत जनताको मन जित्ने ।
१९. पीडित वर्गका माग सम्बोधन गर्ने
शहीद परिवार, बेपत्ता, घाइते तथा अपाङ्ग व्यक्तिहरूका जायज मागलाई प्राथमिकताका साथ उठाउने ।
२०. जनताको गुनासो सुन्ने र समाधानतर्फ पहल गर्ने
गुनासो ध्यानपूर्वक सुनी सम्भव समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने।
लेखक गौतम रुकुम पश्चिममा लामो समय सामाजिक र स्वास्थ्य क्षेत्रमा योगदानमा सक्रिय हुनुहुन्छ भने हाल अमेरिकामा बस्दै आउनुभएको छ ।

