लैङ्गिक समानता र सामाजिक अभियान तथा महिनावारी स्वच्छता सम्बन्धि ७ हप्ते तालिम कार्यक्रम पोखरा मनपा –१० राम बजारस्थित सिग्मा तालिम केन्द्रमा सञ्चालन गरिएको छ । निसीखोला, बागलुङबाट पोखरा आएर स्थायी/अस्थायी बसोबास गर्ने निसीखोला बागलुङ पोखरा सम्पर्क समाजका अगुवा तथा सदस्यहरूलाई लक्षित गरी कर्मफ्लाइट्स फाउन्डेसन नेपाल मार्फत उक्त तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रममा कर्मफ्लाइट्स फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले विद्यालय, स्वास्थ्य र समुदायमा आफ्नो संस्थाले हरेक वर्ष काम गर्दै आएको बताएका थिए । उनले समाजमा भएको लैङ्गिक विभेद, मानव अधिकार र महिनावारी स्वच्छता बारे समुदायमा रहेको परम्परागत मान्यतालाई चिर्ने लक्ष्य कार्यक्रमको उद्देश्य रहेको बताए ।
कार्यक्रममा जेसा प्रोजेक्ट अफिसर सौगात अधिकारीले लैङ्गिक समानता र सामाजिक अभियानबार जेसाको कार्यक्रमबारे प्रष्ट पारेका थिए । एमएचएम प्रोजेक्ट अफिसर निथोई बिकले महिनावारी स्वच्छता सम्बन्धि समुदायमा रहेको मान्यता र आफ्नो कार्यक्रमको उद्देश्यबारे प्रष्ट पारेका थिए ।
अर्का जेसा प्रोजेक्ट अफिसर कर्मसही घर्ती मगरले कर्मफ्लाइट्स र कार्यक्रमले दूरदराजमा पनि काम गर्दै आएका बताएका थिए । कार्यक्रमको अध्यक्षता गरेका निसीखोला बाग्लुङ पोखरा सम्पर्क समितिका अध्यक्ष बिमला खड्काले ७ हप्तासम्म चल्ने प्रशिक्षण कार्यक्रमको अभिमुखीकरण कार्यक्रममा आफुहरूले धेरै कुरा सिक्न पाउने अपेक्षा गरेको बताएकी थिइन् । उनले उपस्थित सबैलाई ढुक्क भएर सिक्न र आफुलाई लागेको कुरा खुल्ला रूपमा प्रशिक्षकसँग भन्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा निसीखोला बाग्लुङ पोखरा सम्पर्क समाजका पदाधिकारी तथा परिवारभित्रका किशोर–किशोरीहरूको उपस्थिति थियो । कार्यक्रम सम्पर्क समाजका कोषाध्यक्ष र रजिस्टर्ड नर्स शान्ता कुँवरले समन्वयको भूमिका निर्वाह गरेकी थिइन् ।

