संयुक्त एम्बुलेन्स चालक संघ नेपाल, जिल्ला शाखा रुकुम पश्चिमले आफ्नो ८ औँ वार्षिक उत्सव एवं स्थापना दिवस विविध सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । उत्सवको अवसरमा स्वास्थ्य सेवा कार्यालय सल्ले, रुकुम पश्चिम मा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्नुका साथै रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
यसका साथै, मिति २०८२ साल श्रावण २५ गते जाजरकोट जिल्लाको कोल्चौरमा भएको दुर्घटनामा दिवंगत एम्बुलेन्स चालक सुनिल चदरा की धर्मपत्नी पार्वती चदरा लाई सहयोग स्वरूप संयुक्त एम्बुलेन्स चालक संघका विभिन्न शाखाहरूबाट संकलन गरिएको जम्मा रु १ लाख ३४ हजार १ सय ५५ रकम संघका जिल्ला अध्यक्ष कृष्णकुमार ददेलले औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल, जिल्ला शाखा रुकुम पश्चिमले मुसिकोट नगरपालिका भित्र हुने आकस्मिक दुर्घटनामा घाइतेहरूलाई अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा, तथा असक्त, असहाय, गरिब तथा द्वन्द्वपीडित नागरिकहरूलाई देशका विभिन्न अस्पतालसम्म न्यूनतम भाडादरमा सेवा प्रदान गर्दै मानव सेवाको उदाहरण प्रस्तुत गर्दै आइरहेको छ । यस किसिमका कार्यहरूले एम्बुलेन्स चालकहरू केवल सवारी चालक मात्र नभई जीवन र मृत्युको बीचमा उभिएका सच्चा मानव सेवक भएको सन्देश समाजमा प्रवाह गरेको छ ।


