रुकुम पश्चिमबाट प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)को तर्फबाट प्रतिनिधीसभा सदस्यमा उम्मेदवारी दिएका संरक्षक जनार्दन शर्माले आफु प्रलोपाको मात्र नभएर रुकुमेलीको साझा उम्मेदवार र अभिभावक भएको बताएका छन ।
उम्मेदवारी दर्ता पछि आज जिल्ला स्थित पत्रकार भेटघाटको कार्यक्रम गरेर रुकुम पश्चिमको म साझा अभिभावक भएको कारण सबैको सहयोग हुने समेत बताए । उनले आगामी निर्वाचनमा अन्य दलका कार्यकर्ताको पनि साथ रहने दाबी गर्दै युवा केन्द्रित एजेन्डा र स्थानीय स्रोत साधनको परिचालन गर्दै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए । ‘यस पटक म नयाँ पार्टी र नयाँ चुनाव चिन्ह ‘आँखा’ लिएर जनतामाझ जान लागेको छु तर सहयोग सबै पार्टीका सचेत मतदाताबाट हुन्छ ।’ उनले जिकिर गरे ।
विगतमा चार पटक चुनाव जितिसकेको र संसद् विघटनका कारण पछिल्लो कार्यकालका अधुरा काम पूरा गर्न पाँचौँ पटक चुनावी मैदानमा उत्रिन लागेको उनले बताए । आफू सधैँ रुकुमको साझा उम्मेदवारको रूपमा रहेको र चुनाव जितेपछि कसैलाई पनि राजनीतिक आस्थाका आधारमा विभेद नगरेकाले विपक्षी दलका कार्यकर्ताले समेत फोन गरेर ‘अभिभावक चाहियो’ भन्दै ढाडस दिएको शर्माको भनाइ छ ।

