रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा मानव विकास तथा सामुदायिक सेवा (एचडिसीएस) अन्तर्गत सञ्चालित राइज–अप परियोजनाद्वारा तीन दिने व्यावसायिक विकास योजना सम्बन्धी तालिम सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्ति तथा उनीहरूको परिवारका सदस्यहरूलाई लक्षित गरी आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको राईज–अप परियोजना अधिकृत सन्देश जैसीले जानकारी दिनुभयो ।

उद्यमशीलता विकास तथा व्यवसायिक योजना निर्माण सम्बन्धी ज्ञान, सीप र व्यवहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा २८ जनाको सहभागिता रहेको थियो। तालिम नगरपालिकाको वडा नम्बर १ स्थित होटल मिड भ्यालीमा सञ्चालन गरिएको थियो । तालिमको सहजीकरण कृषि विकास कार्यलय रुकुम पश्चिमका प्रमुख भरत बहादुर बस्नेत, बाली सरक्षण अधिकृत अगृम धिताल र मानव विकास तथा सामुदायिक सेवा (एचडिसीएस) का विपद् जोखिम न्यूनीकरण (डिआरआर) संयोजक विमल विकले गर्नुभएको थियो । तालिममा उद्यमशीलताको अवधारणा, व्यवसाय पहिचान र छनोट, व्यवसायिक योजना निर्माण, लागत तथा नाफा–नोक्सान विश्लेषण, बजारीकरण रणनीति, स्थानीय स्रोत साधनको उपयोग तथा व्यवसाय सञ्चालनमा आउन सक्ने जोखिम व्यवस्थापन जस्ता विषयवस्तुहरू समेटिएकको परियोजना अधिकृत सन्देश जैसिले बताउनु भयो ।

तीन दिने तालिमको उद्घाटन चौरजहारी नगर उपप्रमुख ईश्वरीकुमारी शर्मा विएमले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मी, चौरजहारी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा पोखरेल लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
तालिमपछि सहभागीहरूले सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा उतार्दै साना तथा मझौला व्यवसाय सुरु गर्न आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन्। आयोजनाले तालिमले सहभागीहरूको जीविकोपार्जन सुधार गर्दै दीर्घकालीन आर्थिक सशक्तिकरणमा टेवा पुग्ने विश्वास लिएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...