रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आइतवार जनतासंग स्थानीय सरकार कार्यक्रम सम्पन्न भएको छ । मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत थ्रीयसआर परियोजनाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । जहारीखोला वहुउद्धेश्य सहकारी संस्था लिमिटेडको सभाहलमा संचालन गरिएको कार्यक्रममा वडा नम्वर १०, ११ र १२ का कृषि तथा पशुपालन आमा समुहका करिव ४० जना सदस्यहरुको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोपालप्रसाद रेग्मीले सहजिकरण गरेको कार्यक्रममा चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीको प्रमुख आतिथ्यता रहेको थियो । चौरजहारी नगरपालिका भित्रका १४ वटा वडामा स्थानीय सरकारले कृषिको क्षेत्रमा गत आर्थिक चालु आर्थिक वर्ष र आगामी दिनमा नगरपालिकाले कृषि तथा पशुपालनको क्षेत्रमा गरेका कार्यर रणनीतिक योजनाको वारेमा संवाद गरिएको थियो । संवाद कार्यक्रममा बीउ, मल र औजारको उपलब्धता किसानलाई समयमै गुणस्तरीय बीउ, मल र औजार कसरी उपलब्ध गराईने गरिएको छ, उत्पादनको मूल्य निर्धारण, किसानले उत्पादन बेच्दा न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्ने उपाय के ? स्थानीय बजार विस्तार, नगरस्तरमा किसानका उत्पादन बिक्री गर्न बजार वा सहकारी मार्फत कसरी विक्रिवितरण गरिन्छ जस्ता विषयमा संवाद गरिएको थियो ।
किसानहरुका लागि सिंचाइ सुविधा नहर, ट्युबवेल वा पानीको स्रोत व्यवस्थापन,जलवायु परिवर्तनको असर अनियमित वर्षा वा सुख्खा अवस्थालाई सामना गर्न नगरले वनाएको योजना पशुपालनमा रोग नियन्त्रण, भ्याक्सिन र पशुचिकित्सा सेवा उपलब्धता वारेमा पनि छलफल गरिएको परियोजना संयोजक सुदिप खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार फलफूल, तरकारी, मत्स्यपालन जस्ता विकल्पलाई प्रोत्साहन गर्ने योजना, कृषि तालिम किसानलाई आधुनिक खेती प्रविधि सिकाउने तालिम सञ्चालन गर्ने, डिजिटल प्रविधि मोबाइल एप वा डिजिटल प्लेटफर्ममार्फत किसानलाई जानकारी दिने योजनाहरुको वारेमा समेत छलफल गरिएको थियो ।
परियोजना अधिकृत सुदिप खत्रीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा वडा नम्वर १० का अध्यक्ष विरेन्द्र रोकाय, वडा नम्वर ११ का अध्यक्ष तुल्से ओली, वडा नम्वर १३ का अध्यक्ष श्रीकृष्ण शर्माको उपस्थिति रहेको परियोजनाका प्राविधिक राजेश्वर शर्माले जानकारी दिनुभयो ।


