नेपालमा सरकार परिवर्तन भएपछि आज पहिलो पटक शेयर बजार खुल्दै छ । जेनजी आन्दोलनका कारण २४ गतेदेखि बन्द भएको शेयर बजार आज खुल्न लागेको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार दिएको निर्देशन बमोजिम नेप्सेले कारोबार खुलाउन लागेको हो । भदौ २३ गतेको जेनजी आन्दोलन चर्किएसँगै भदौ २४ देखि शेयर कारोबार बन्द थियो ।

भदौ २४ गते कफ्र्यू बीच पनि ठूलो आन्दोलन भएपछि असोज २ गतेसम्म शेयर बजार बन्द गर्ने निर्णय भएको थियो । तर गत आइतबारदेखि जनजीवन सामान्य अवस्थामा फर्किएसँगै शेयर कारोबार खुलाउन दबाब परेको थियो । नेप्सेले असोज १ गतेबाट कारोबार खुलाउने गृहकार्य गरेको भए पनि जेनजी आन्दोलनका शहीदहरुको सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेपछि सेबोनले असोज २ गतेबाट कारोबार खोल्न नेप्सेलाई निर्देशन दिएको थियो ।

कतिपयले सत्ता परिवर्तन भएपछि शेयर बजार घट्ने अनुमान गरेका छन् भने कतिपयले दल विहीन राम्रो सरकार बनेका कारण बजार बढ्ने प्रक्षेपण पनि गरिरहेका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...