आफ्ना परमाणु केन्द्रहरूमा सप्ताहान्तमा अमेरिकी आक्रमण भएका बदलामा कतारस्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार गरेको इरानले बताएको छ । प्रत्यक्षदर्शीहरूले राजधानी दोहामाथिको आकासमा ठूला विस्फोटका आवाज सुनेको बताए भने त्यहाँको हवाई प्रतिरक्षा प्रणाली इरानी क्षेप्यास्त्र रोक्न सक्रिय हुँदा आकास बेलाबेला चम्किएका भिडिओ देखिएका छन् ।
इरान, इजरेल र अमेरिका सम्मिलित भएको युद्धको यो पछिल्लो चरण हो जसमा मध्येपूर्वमा अभूतपूर्व स्तरमा तनाव बढेको पाइएको छ ।
इरानले किन र केलाई निसाना बनायो ? इरानी क्षेप्यास्त्रहरूले अल–उदैद नामक मध्येपूर्वस्थित सबभन्दा ठूलो अमेरिकी सैन्य अखडामा निसाना बनाएको छ । यो क्षेत्रभरिका सबै हवाई कारबाहीहरू सञ्चालन गर्ने यो अमेरिकी सेनाको क्षेत्रीय मुख्यालय हो । यहाँ केही ब्रिटिश सैनिक पनि तैनाथ छन् । यो आक्रमणलाई सर्वप्रथम इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरे अनि त्यसपछि त्यहाँको सेनाले पुष्टि ग¥यो । इरानको सेनाको सबभन्दा शक्तिशाली अङ्ग इस्लामिक रिभोलुशनरी गाड्र्स कोर (आईआरजीसी)ले एक विज्ञप्ति प्रकाशित गर्दै “आफ्नो सार्वभौमिकता माथिको आक्रमणलाई इरानले नाजवाफ हुन नदिने“ भनेको छ । उसले “यो क्षेत्रमा अमेरिकी अखडा भनेको (अमेरिकाको) शक्ति होइन कमजोरी हो“ पनि भनेको छ । यसअघि अमेरिकाले इरानलाई जवाफी कारबाही नगर्न चेतावनी दिँदै तेहरानका नेताहरूलाई क्षेत्रीय तनावको कूटनीतिक हलमा सहमति जनाउन आह्वान गरेको थियो । कतिवटा क्षेप्यास्त्र प्रहार गरियो भन्ने बारे भिन्न भिन्न विवरण आएका छन् । इरानले ६ वटा भनेको छ । अमेरिकाले १४ अनि रोएटर्समा उल्लेख भएअनुसार कतारले १९ वटा भनेको छ । ती सबैलाई प्रतिरक्षा प्रणालीले खसालेको भनिएको छ । कोही पनि मरेका वा घाइते भएका छैनन् । आक्रमणको केही घण्टापूर्व यूके र अमेरिका दुवैले कतारमा रहेका तिनका नागरिकलाई सुरक्षित आश्रय लिन भनेका थिए । कतारमा ८० हजार अमेरिकी नागरिक बस्ने गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ भने ब्रिटेनका पनि हजारौँ नागरिक त्यहाँ बस्छन्।
आक्रमणपछि के भनियो ?
इरानले आक्रमण गर्दैछ भन्ने कुराको तेहरानले पहिले नै चेतावनी दिएको चाँडै नै प्रस्ट भयो । न्यूयोर्क टाइम्सले उद्धृत गरेका तीनजना इरानी अधिकारीहरूले तेहरानले दोहालाई आफ्नो कारबाहीबारे जानकारी दियो ताकी हताहती कम होस् । आक्रमणपछिको पहिलो प्रतिक्रियामा राष्ट्रपति डोनल्ड ट्रम्पले पनि इरानलाई ’अगाडि नै हामीलाई सूचना दिएर कसैको ज्यान नजाने तथा घाइते नहुने अवस्था बनाउन सम्भव बनाएकोमा’ धन्यवाद दिए । उनले उक्त आक्रमणलाई ’एकदम कमजोर’ भन्दै कोही अमेरिकीलाई हानि नभएको र न्यून क्षति भएको बताए । आफ्नो बदलाको भावलाई इरानले कार्यान्वयन गरेको भन्दै उनले अब ’शान्ति’को अवसर रहेको पनि बताए । तथापि कतारको विदेशमन्त्रालयका एक प्रवक्ताले उक्त आक्रमण ’अप्रत्याशित’ तथा ’सार्वभौमसत्ताको ठाडो उल्लङ्घन’ भनेका छन् । यस क्षेत्रमा इजरेली कारबाहीको खतराबारे औँल्याउने कतार पहिलो मध्येको देश भएको पनि उनले उल्लेख गरे । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेइले चाहिँ इरानले आक्रमणबाट कसैलाई हानी नगरेको तर कसैको आक्रमणबाट आफ्नो देश नलत्रिने बताए । बिबिसी नेपाली सेवाबाट ।