सरकारी तथ्यांक अनुसार कर्णाली प्रदेशको शैक्षिक स्थिति अन्य प्रदेशको भन्दा न्यून छ । भूगोलको कारण घर नजिक स्कुल नहुनु, गरिबी लगायत विविध कारणले कर्णालीका केही बालबालिका अझै पनि शिक्षाबाट बञ्चित छन् । कर्णालीका हिमाली जिल्लाहरूमा समयमै पाठ्यपुस्तक नपुग्ने समस्या लगायत अन्य धेरै समस्याहरू त्यहाँका बालबालिकाले झेल्नु परेको छ ।
आर्थिक अभाव र अन्य विविध कारणले कर्णालीका धेरै बालबालिकाले पढ्दा पढ्दै स्कुल छोडेर आर्थिक आयआर्जन गर्न कोही भारत जान्छन् भने कोही अन्य खाडी मुलुकतिर । कर्णालीका बालबालिकाको शैक्षिक स्तर माथि उकास्न नत सरकारको ध्यान छ, नत कुनै गैरसरकारी संस्थाको । कर्णालीको शिक्षामा कमजोर लगानीका कारण बालबालिकाहरू बीचमै स्कुल छोड्न बाध्य छन् ।
धेरै दाता र गैरसरकारी संस्थाहरूले काठमाडौं उपत्यका आसपासका जिल्लाहरूका विद्यालयमा सहयोग गरेपनि युनिभर्सल फेथ कलेक्टिभ (upc) ले भने आइतबार भेरी नगरपालिका—७, जाजरकोटका ३८० बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेर उनीहरूको मुहारमा उज्यालो ल्याएको छ । २०८० साल कात्तिक १७ गतेको विनाशकारी भूकम्पका कारण जाजरकोटका कतिपय विद्यालय अझै पुनःनिर्माण नभएको अवस्थामा छन् । कतिपय विद्यालयका बालबालिकाहरू अझै पनि जीर्ण भवनमा पठनपाठन गरिरहेका छन् । उचित र व्यवस्थित शिक्षाको पर्खाइमा रहेका बालबालिकाहरूलाई दातृ निकाय युनिभर्सल फेथ कलेक्टिभले सहयोगको हात बढाएकोमा स्थानीयहरू समेत खुसी भएका छन् ।
जाजरकोटको भेरी नगरपालिका क्षेत्रका श्री चन्द्रज्योति आधारभूत विद्यालयका २२६ जना, सीमा प्राथमिक विद्यालयका ७३ जना र बालज्योति प्राथमिक विद्यालयका ५३ जना गरी जम्मा ३५२ जना विद्यार्थीहरूलाई आइतबार शैक्षिक सामग्री वितरण गरिएको हो । जसमा विद्यालय पोसाक र शैक्षिक सामग्री पाउनेहरूमा अध्ययनरत दृष्टिविहीन, बहिरा, न्यून दृष्टियुक्त, सुस्त श्रवण, बौद्धिक तथा मनोसामाजिक अपाङ्गता भएका विद्यार्थीहरू प्रमुख थिए ।
श्री चन्द्रज्योति आधारभूत विद्यालयमा कार्यक्रम गरी शैक्षिक सामग्री वितरण गरिएपछि बालबालिका र उनीहरूका अभिभावकको मुहारमा खुसी छाएको छ । शैक्षिक सामग्री प्रदान गरेपछि उनीहरूलाई फेथ कलेक्टिभका प्रतिनिधि गोपाल कोइरालाले अध्ययनरत विद्यार्थीहरूलाई निरन्तर विद्यालय जान र पढाइमा ध्यान दिन आग्रह गर्नुभएको थियो । विद्यार्थीहरूलाई पोसाक, स्टेसनरी, झोला तथा दैनिक आवश्यक सामग्री हस्तान्तरण गरेपछि उहाँले भन्नुभयो, “शैक्षिक पहुँचमा सहजता ल्याउने हाम्रो प्रयास हो । यसरी सहयोग पु¥याउँदै जाँदा बालबालिकामा आत्मबल वृद्धि हुनुका साथै विद्यालय प्रतिको आकर्षण बढ्छ ।” “शिक्षा भनेको केवल किताब र कलमको विषय होइन; अवसरको साँचो हो ।” यही सन्देशलाई आत्मसात गर्दै युनिभर्सल फेथ कलेक्टिभले अपाङ्गता भएका र विपन्न परिवारका बालबालिकाका लागि शिक्षा सुलभ बनाउने उद्देश्यले विद्यालय पोसाक, स्टेसनरी र झोला वितरण गरेको हो ।
शिक्षा मात्र होइन, आत्मविश्वासको पनि सहयोग
विद्यालयका प्रधानाध्यापकहरूले यो सहयोगलाई केवल सामग्री वितरणको रूपमा नभई आत्मबल निर्माण गर्ने अवसरका रूपमा लिनुभएको छ । “दातृ निकाय फेथ कलेक्टिभलाई धन्यवाद दिंदै विद्यार्थीहरूमा ठूलो उत्साह थप्ने काम भएको र सहयोगी संस्थाको प्रयासले हाम्रो विद्यालयमा सकारात्मक परिवर्तन ल्याएको छ,” प्रधानाध्यापकले बताउनुभयो । यस सहयोग कार्यक्रमलाई स्थायित्व र निरन्तरताको खाँचो रहेको भन्दै उहाँहरूले यस्ता पहललाई भविष्यमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
सहयोगको दायरा फैलाउँदै
युनिभर्सल फेथ कलेक्टिभले सहयोगको दायरा केवल जाजरकोटमा सीमित नराखी रुकुमको चौरजहारी अनाथालय, इलामको अमर उच्च माध्यमिक विद्यालय, काठमाडौंको गोकर्णास्थित अपांग पुनर्वास केन्द्र, लाछी स्नो माउन्टेन अनाथालय तथा धार्मिक बौद्ध कलेजसम्म विस्तार गरेको छ । यो सहयोग अभियान वैशाख र जेठ महिनाभित्र सम्पन्न गरिने बताइएको छ ।
कुल ५,९०० विद्यार्थीहरू सहित अपाङ्गता भएका बालबालिकाहरूलाई प्राथमिकतामा राखेर सहायता पु¥याउने लक्ष्य लिइएको यो अभियान नेपाली समाजमा सकारात्मक सामाजिक परिवर्तन ल्याउने देखिन्छ । दातृ निकायले शिक्षामा गरेको लगानीले नेपालका धेरै विद्यालयमा अध्ययनरत बालबालिकाहरूले लाभ लिनेछन् ।
शिक्षा सबैका लागि समान हुनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेको युनिभर्सल फेथ कलेक्टिभको यो अभियान उदाहरणीय छ । भौगोलिक विकटता, आर्थिक अभाव र अपाङ्गताको पीडाभित्र पनि उज्यालो भविष्य देख्ने बालबालिकाका लागि यस्तो सहयोगले आशाको किरण मात्र होइन, जीवनको परिवर्तनको ढोका पनि खोलिदिन्छ ।
