तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले जितेको छ । सोमबार भएको फाइनलमा बौदीकालीले हाम्रो सरोकारलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । दुवै टिममा राष्ट्रिय स्तरमा ख्याति प्राप्त खेलाडीहरू रहेका थिए । विजेता बौदीकालीमा हिमाल सुनारी, सरोज वर्देवा, राजन दर्लामी मगर लगाएका खेलाडी रहेका थिए भने हाम्रो सरोकारमा नेपाल आर्मीका धनबहादुर भट्ट, कोसी प्रदेशका क्याप्टेन विष्णु बस्नेत तथा मनोज घिमिरे लगायतका खेलाडीहरू रहेका थिए । विजेता बौदीकालीले नगद ५ लाख ११ हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो ।

उप विजेता हाम्रो सरोकारले नगद २ लाख ६१ हजार, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । त्यस्तै टिम खनाल रुकुम पश्चिम तेस्रो र वनगाड कुपिण्डे सल्यान सान्त्वना भएको छ । टिम खनालले १ लाख ५१ हजार र टिम वनगाडले १ लाख ११ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गरेका थिए ।

महिला तर्फ भने बाँफिकोट गाउँपालिका रुकुम पश्चिमले उपाधि हात पारेको छ । आइतबार भएको फाइनलमा जनज्योति युवा विकास केन्द्र रुकुम पूर्वलाई ३–० को सोझो सेटमा पराजित गर्दै बाँफिकोटले उपाधिमा कब्जा जमाएको हो । उसले १ लाख नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेता जनज्योतिले नगद ७५ हजार, ट्रफि मेडल र प्रमाणपत्र तथा तेस्रो बनेको रुकुम भलिबल टिमले नगद ५० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।

फाइनल खेलको लाइभ भिडियो तल हेनुहोस ।

फेसबुक प्रतिक्रियाहरु
adv.