जेष्ठ नागरिकलाई अम्खोरा सहित सम्मान

Byआहा सञ्चार

२०८२ जेष्ठ १३, मंगलवार ११:१० गते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर –१२, ले जेष्ठ नागरिकलाई अम्खोरा र खादाले सम्मान गरेको छ । वडा अध्यक्ष धिरण सिर्पालीले पदभर ग्रहण गरेको ३ वर्ष पुगेको अवसरमा कार्य प्रगति विवरण सार्वजनिक तथा समीक्षा कार्यक्रममा वडाका जेष्ठ नागरिकलाई अम्खोरा र खादाले सम्मान गरेको हो ।
जसमा ६८ वर्ष माथिका ९० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको बडा कार्यालयले बताएको छ । मायाको चिनो र सम्मान स्वरूप जेष्ठ नागरिकलाई पानी खाने अम्खोरा र खादा लगाएर सम्मान गरिएको अध्यक्ष सिर्पालीको भनाइ छ । वडा कार्यालयले गरेको सम्मानबाट जेष्ठ नागरिकहरू खुसी भएका छन् । वडा कार्यालयले वडाका स्वास्थ्य स्वयंसेविकालाई पनि सम्मान गरेको छ । चारजना महिला स्वास्थ्य स्वयंसेविकालाई छाता र झोलाले सम्मान गरिएको छ । त्यस्तै वडा कार्यालयको विकास निर्माण तथा समग्र गतिविधिलाई समाचारको रूपमा सम्प्रेषण गर्ने पत्रकारहरुलाई पनि सम्मान गरेको छ ।

वडाको विकास र समृद्धिलाई उजागर गर्ने गरी चालु वर्ष सहित तीन वर्षको कार्यकालमा भए गरेका कामहरूको प्रगति विवरण सार्वजनिक गर्न वडाले कार्यक्रम आयोजना गरेको थियो । वडा सचिव देवीलाल पुनको सञ्चालनमा रहेको कार्यक्रममा वडा अध्यक्ष सिर्पालीले वडाको कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधी भुपालप्रकाश ओली, नेकपा एमालेका प्रतिनिधी मोहन ओली, नेकपा माओवादी केन्द्रका देविलाल ओली, एकिकृत समाजवादीका प्रतिनिधी खिमबहादुर ओली, स्थानीय बुद्धिजीवी, शिक्षक, वडाबासी, पत्रकार, लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको १२ नम्बर वडा कार्यालयले बताएको छ ।


तीन वर्षको विस्तृत कार्यप्रगतिको भिडियो तल हेर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु
adv.