रुकुम पश्चिममा विजेतालाई ५ लाख बढी पुरस्कार रहेको भलिबल प्रतियोगीता आयोजना हुने भएको छ । यही जेठ १८ गते देखि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा तेस्रो रुकुम कप भलिबल प्रतियोगीता आयोजना गरिएको हो । जिल्ला सदरमुकाम खलंगा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी दिइएको हो ।

जस अनुसार जेठ १८ गते देखि २५ गतेसम्म जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाको बराहटाकुरामा सञ्चालन हुनेछ । रुकुम भलिवल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाका अनुसार पुरुष तर्फ खुला पालिका स्तरीय र महिला तर्फ खुला हुनेछ । पुरुष भलिबलको विजेताले ५ लाख ११ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । उप विजेताले २ लाख ९१ हजार पाउँदा तेस्रोले १ लाख ५१ हजार र सान्त्वना हुने टिमले १ लाख ११ हजार पुरस्कार पाउने बुढाले बताउनुभयो । कप, मेडल र प्रमाणपत्र समेत रहने छ ।

पुरुष तर्फ नेपाल भरीका पालिकाले सहभागिता जनाउन पाउने छन् भने अनिवार्य रूपमा तीन जना खेलाडी पालिका बाहिरका राख्नुपर्ने उहाँको भनाई छ । पालिका बाहिरका खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समेत राख्न सकिने छ । त्यस्तै महिला तर्फको विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । उप विजेताले ७५ हजार पुरस्कार पाउँदा तेस्रो हुनेले ५० हजार सान्त्वना टिमले २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । कप, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ । त्यसका साथै महिला तथा पुरुष भलिबलमा विधागतमा तर्फ पनि खेलाडी पुरस्कृत गरिने छ ।

फेसबुक प्रतिक्रियाहरु
adv.