सम्माननिय प्रधानमन्त्रीज्यू,
शिक्षा राष्ट्र निर्माणको मेरुदण्ड हो भनेर तपाईं स्वयंले पटक–पटक सार्वजनिक मञ्चहरूमा व्यक्त गर्नुभएको छ । यही आधारमा हामी शिक्षकहरू आज तपाईं समक्ष केही गम्भीर प्रश्न, केही पीडा र केही समाधानको बाटो लिएर सडकमा छौ ।
शिक्षा केवल विद्यालयभित्र सीमित विषय मात्र होइन, यो त समाज, संस्कार र सम्पूर्ण राष्ट्रको समृद्धिको जग हो । शिक्षाको उद्देश्य ज्ञान प्रदान गर्नु मात्र होइन, मूल्य, चेतना र नेतृत्व उत्पादन गर्नु हो । तर यस्ता गम्भीर उद्देश्य बोकेको शिक्षालय जब अव्यवस्थाको गतिमा अगाडि बढ्दछ, तब त्यसको असर पुस्तौंपुस्ता माथि पर्दछ । आजको शिक्षण प्रणाली फेरि पनि त्यही मोडमा उभिएको छ, जहाँ प्रश्नहरू धेरै छन्, तर जवाफहरू अनुत्तरित छन् ।
केवल दुई अंकको एउटा सानो समयखण्ड, तर हामी शिक्षकहरूको जीवनमा यो एउटा युग बनेर आयो । घरको न्यानो अँगालो छोडेर, विद्यालयको पवित्र प्राङ्गणलाई रित्तो पारेर, विद्यार्थीका उत्सुक आँखाहरूलाई पर्खाइमा राखेर हामी सडकमा उत्रियौं । चर्को घामले हाम्रो छाला डढेको छ, भारी वर्षाले हाम्रो शरीर भिजाउँदा पनि हाम्रो मनको आगो निभेको छैन । यो केवल शरीरको कष्ट थिएन, यो त शिक्षाको चीत्कार थियो, एउटा मौन तर गहिरो समग्र शैक्षिक प्रणालीको परिवर्तन हो ।
हामी शिक्षक हौँ । केवल अक्षर चिनाउने, पाठ्यक्रम घोकाउने कर्मकाण्डी मात्र होइनौं । हामी त त्यो शिल्पकार हौँ, जसले काँचो माटोलाई सुन्दर मूर्तिमा बनाउदछ । हामी त्यो माली हौँ, जसले कलिला बिरुवालाई मलजल गरेर विशाल वृक्ष बनाउँछौ । हरेक बिहान हामी ‘शुभदिन’ भन्दै विद्यालय प्रवेश गर्छौ, हाम्रा हातहरूमा ज्ञानको ज्योति बोकेर, ओठमा भविष्यको मुस्कान सजाएर विद्यालय प्रवेश गर्दछौ । तर आज त्यो मुस्कान उदाएको छ, किनकि हामी आफैंलाई यो राज्यले बेवास्ता गरेर टुहुरो महसुस गराइरहेको छ ।
प्रधानमन्त्रीज्यू,
हामी यो सडकमा रमाइलो गर्न आएका होइनौं । यो हाम्रो रहर होइन, बाध्यता हो । हामी आफ्नो व्यक्तिगत स्वार्थका लागि होइन, शिक्षाको अस्मिता रक्षाका लागि यहाँ उभिएका छौं । तपाईंको नजरमा सायद हामी केवल संख्या हौँ, तलब थाप्ने कर्मचारी हौँला। तर एक सच्चा शिक्षकको हृदयमा प्रत्येक विद्यार्थी एउटा राष्ट्रिय धरोहर हो। हामी त्यही धरोहरलाई जोगाउन चाहन्छौं, तर तपाईंको मौनताले ती भविष्यका ताराहरू धमिलिँदै गएका छन्।उनिहरूको भविष्यमा प्रश्न चिन्ह तपाइको नेतृत्वको सरकारले गरिरहेको छ ।
यी चौध दिन हामीले के पायौं?
पानीले निथ्रुक्क भिजेका वस्त्र, धूलोले पुरिएका आँखा, थकानले लखतरान परेका पाइला र भविष्यको धुमिल चित्रले भरिएको एउटा निराश मन । तर यी सबै पीडाका बाबजुद हामीले एकअर्काको हात समातेर गीत गायौं, नाच्यौ, हाम्रा रचनात्मक गतिविधि द्वारा धान आकर्षण गर्ने प्रयास ग¥यौ, आशाको नारा लगायौं। किनकि हामीलाई विश्वास छ कि शिक्षाको परिवर्तनको संवाहक शिक्षकको आवाज हो, शान्तिपुर्ण पर्दशन हो। तर राज्य बेखबर छ ।
तर आज त्यो आवाज सिंहदरबारको पर्खालमा ठोक्किइरहेको हुनुपथ्र्यो । नीति निर्माताहरू जिम्मेवार भएर तपाइकोन कक्षमा बसेर हाम्रो यो संघर्षको राप महसुस गर्नुपर्दथ्यो । तपाइहरूलाई लाहेको होला, केही दिनको होहल्लापछि सबै शान्त हुन्छ। तर प्रधानमन्त्रीज्यू, हामीलाई नबिर्सनुहोस् । हामी इतिहासका निर्माता हौँ, र आज हामी आफैं इतिहासको एउटा दर्दनाक अध्याय सडकबाट लेखिरहेका छौं।यति मात्र होइन अगामि निर्वाचनको लेखाजोखा पनि गरिरहेका छौ ।
हाम्रा मागहरू कुनै व्यक्तिगत लाभका लागि छैनन् । हामी एउटा व्यावहारिक शिक्षा नीति चाहन्छौं। शिक्षकहरूको भविष्य सुरक्षित होस् भन्ने चाहन्छौं। नयाँ पुस्ताले गुणस्तरीय शिक्षा पाओस् भन्ने हाम्रो एकमात्र ध्येय हो । यो केवल आन्दोलनको नारा मात्र होइन, यो त देशको जग बलियो बनाउने आधारशिला हो। हामीलाई कक्षाकोठा छोडेर सडकमा आउनुपर्ने बाध्यता सिर्जना हुनु नै राज्यको अक्षमताको प्रमाण हो ।
जब शिक्षा प्राथमिकतामा पर्दैन, तब देशको स्वास्थ्य, अर्थतन्त्र, कानुन र शासन व्यवस्था सबै कमजोर हुन्छन्। शिक्षित नागरिक बिना सुशासनको कल्पना गर्न सकिँदैन। र ती शिक्षित नागरिक बनाउने पवित्र कार्य त हामी शिक्षकहरूले नै गर्छौं ।
प्रधानमन्त्रीज्यू,
हाम्रा विद्यार्थीहरू चौध दिनदेखि ज्ञानको ज्योतिबाट टाढा छन्। हामी उनीहरूलाई सम्झिरहेका छौं । ती जिज्ञासु आँखाहरू, ती अनगिन्ती प्रश्नहरू, ती भविष्यका सपना बोकेका कलमहरू। आज ती सबै मौन छन्, र यसको जिम्मेवार तपाईंको सरकारको उदासीनता हो।
हामी शिक्षकहरू हरेक दिन अनेकौं भूमिकामा आफूलाई ढाल्छौं । कहिले कवि बनेर भावना भर्छौं, कहिले वैज्ञानिक बनेर प्रयोग सिकाउँछौं, कहिले मनोचिकित्सक बनेर विद्यार्थीका पीडा सुन्छौं । तर हामीसँग न त उचित सम्मान छ, न त जीवन निर्वाहका लागि पर्याप्त व्यवस्था । अस्थायी शिक्षकहरूको भविष्य अन्योलमा छ । दुर्गम भेगका विद्यालयहरू भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र पहुँचको अभावमा छटपटाइरहेका छन्। नीतिहरू कागजमा मात्र सीमित छन्, कार्यान्वयन फितलो छ ।
यो आन्दोलनले हामीलाई धेरै कुरा सिकाएको छ । एकताको शक्ति के हो ? समर्पणको मूल्य कति हुन्छ ? कर्तव्यको भावना कस्तो हुन्छ ? हामीलाई यो सडकले पाठ पढाएको छ । हामीले सिकेका छौं कि राज्यले कान नसुने पनि हामीले बोल्न छोड्नु हुँदैन । हामीले बुझेका छौं कि यदि हामी चुप लाग्यौं भने, हामीजस्ता हजारौं आवाजहरू सधैं दबिरहनेछन् ।
हामी तपाईंको सरकारसँग कुनै युद्ध गर्न चाहँदैनौं । हामी त खुला हृदयले संवाद गर्न चाहन्छौं, सहकार्यको हात बढाउन चाहन्छौं, हाम्रो समर्पणको कदर भएको हेर्न चाहन्छौं । शिक्षालाई केवल चुनावी भाषणको मसला नबनाउनुहोस् । यसलाई एउटा जीवन्त प्रणाली बनाउनुहोस्, जहाँ शिक्षक सम्मानित हुन्छ, विद्यार्थी प्रेरित हुन्छ र अभिभावक विश्वस्त हुन्छ।
प्रधानमन्त्रीज्यू,
अझै पनि समय छ । हामी यो धुलोधुवाँ र हिलोबाट फर्किएर ज्ञानको बगैंचामा पस्न आतुर छौं। तर त्यो परिवर्तन तपाईंको सक्रिय पाइला बिना सम्भव छैन। हामी शिक्षाको यो उज्यालो यात्रालाई रोक्न चाहँदैनौं । तर यदि सरकारको आँखा अझै बन्द रह्यो भने, शिक्षाको यो रथ अँध्यारोतिर धकेलिनेछ, र त्यसको परिणाम पुस्तौं पुस्ताले भोग्नेछन्।
हामी तपाईंबाट केवल आश्वासन होइन, ठोस कदमको अपेक्षा गर्छौं ।
हामी तपाईंको नेतृत्वबाट शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आह्वान गर्दछौं ।
बिगत १४ दिनदेखि माइतिघर मण्डला देखि बानेश्वरसम्मको सडकका अनवरत संगर्षमा छौ, यी थाकेका शरीरहरू दुखिरहेका छन्, तर हाम्रो मनमा सजिएको शिक्षाको सुन्दर सपना अझै ओसिलो छ। त्यो सपना अझै जीवित छ। गुणस्तरीय शिक्षाको, समृद्ध नेपालको, समान अवसरको खोजिको दियो अझै निभेको छैन।
प्रधानमन्त्रीज्यू, शिक्षकहरूको यो शान्तिपुर्ण आवाजलाई अझै पनि बेवास्ता गरियो भने, यसले शैक्षिक क्षेत्रमा यस्तो घाउ बनाउनेछ, जुन पुस्तौंसम्म निको हुनेछैन। १४ दिनसम्म सडकमा गरिएको यो त्याग र तपस्या खेर गएमा, विद्यालयको ढोका बन्द रहनेछ, शैक्षिक क्षेत्रको भविष्य अन्योलमा पर्नेछ। याद राख्नुहोस्, यसबाट हुने हरेक शैक्षिक क्षतिको एकल जिम्मेवारी तपाईंकै नेतृत्वको सरकारले बोक्नुपर्नेछ। समयको यो आवाजलाई सुन्नुहोस् र शिक्षाको ज्योतिलाई निभ्न नदिनुहोस्।
हामी अझै आशावादी छौंः
सहनशील छौ ।
किनकि हामी शिक्षक हौँ ।
सचिव
टिकाराम बिष्ट
नेपाल राष्ट्रिय शिक्षक संगठन रूकुम पश्चिम

