चिनियाँ एआई च्याटबट डीपसीकले संसारमा तहल्का मच्चाएको छ तर चीनलाई नियालिरहेकाहरू भने यसबाट अचम्ममा परेका छैनन् । चीनले ’मेड इन चाइना २०२५’ नाम दिइएको महत्वकांक्षी योजनाअन्तर्गत विगत १० वर्षदेखि एआईलगायत उच्च प्रविधियुक्त उत्पादनहरूमा आफ्नो विज्ञता बिस्तारै बढाउँदै आएको छ ।

विश्लेषकहरूका लागि डीपसीकको सफलताले चिनियाँहरूको बृहत् योजना सफल भएको थप प्रमाण मिलेको छ । चिनियाँ सरकारले सन् २०१५ मा धूमधामले ’मेड इन चाइना २०२५’ को घोषणा गरेको थियो । दैनिक लाखौँको सङ्ख्यामा उत्पादन भएका सामानहरूबारे विश्वभरि रहेको कम गुणस्तरको छविलाई उच्च गुणस्तर र उच्च प्रविधिको रूपमा सर्वव्यापी बनाउने अवधारणा राखेर उक्त अभियान थालिएको थियो ।

चीनले सन् २०२५ सम्ममा आफ्नो प्रभुत्व देखाउनका लागि १० प्राविधिक उद्योगहरूलाई मुख्य क्षेत्रका रूपमा चयन गरेको थियो । विस्तृत दस्ताबेजमा एआई, क्वान्टम कम्प्युटिङ, विद्युतीय कार, नवीकरणीय ऊर्जा र ब्याटरीसम्बन्धी प्रविधिहरू भनी उल्लेख गरिएको थियो । यी धेरै क्षेत्रमा चीनले मुख्य खेलाडीका रूपमा सफलता हासिल गरेको छ र केहीमा त आफूले हासिल गर्ने आशा गरेको लक्ष्यलाई पनि पार गरिसकेको छ ।
बीबीसी रिसर्चका अनुसार विश्वका उत्कृष्ट १० ड्रोन निर्माताहरू चिनियाँ हुन् र विश्वव्यापी रूपमा शेङ्जेनमा रहेको डिजेआईको ७० प्रतिशत बजार शेअर रहेको छ । चीनको कम्युनिस्ट पार्टीले आफ्नो उद्देश्य हासिल गर्न २५० भन्दा बढी सानाखाले लक्ष्यहरू तय गरेको छ । साउथ चाइना मर्निङ पोस्टको विश्लेषणअनुसार ती मध्ये ८६ प्रतिशत हासिल भइसकेका छन् ।

यस्तो सफलता हात पार्न चीनले ठूलो रकम पनि खर्च गरेको छ । अमेरिकी कङ्ग्रेसको अनुसन्धानअनुसार चिनियाँ सरकारले अनुसन्धान, विकास वा विदेशी कम्पनी खरिदका लागि अनुदानमा १.५ ट्रिलिअन डलर उठाउने वा खर्च गर्ने योजना गरेको थियो ।
चीनका लागि अर्को सम्भावित बाधा भनेको राष्ट्रिय सुरक्षा चासोलाई लिएर छ । यसै कारण अमेरिकाबाहेकको पहिलो सामाजिक सञ्जालका रूपमा टिकटकको विश्वव्यापी सफलतालाई अहिले अमेरिकाको सम्भावित प्रतिबन्धले चुनौती दिइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto