रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा जनयुद्ध संग्रहालय निर्माणको कामले पूर्णता पाउने भएको छ । तत्कालीन सशस्त्र द्वन्दको समयमा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा निर्माण कार्य थालिएको जनयुद्ध संग्रहालयले पूर्णता पाउने भएको हो । तत्कालीन सशस्त्र सङ्घर्षको बेला साविकको मुरु खारा पेउघा र रुँघा गाविसबाट ७० जना बढीले ज्यान गुमाउनु पर्यो ।
देश शान्ति प्रक्रियामा आए लगत्तै त्यसको केही वर्षपछि उनै सहिदहरूको सम्झनामा झुल्नेटा डाँडामा सहिद स्मृति पार्क निर्माण गरियो । करिब १२ वर्ष अगाडि निर्माण गरिएको सो स्मृति पार्क एक दशक समयसम्म जीर्ण अवस्थामा रहिरह्यो । अहिले यही स्मृति पार्कलाई जनयुद्ध संग्रहालयको रूपमा व्यवस्थित गर्न लागिएको छ । सङ्ग्रहालयको कामले पूर्णता पाउने भएपछि यस क्षेत्रका स्थानीय बासिन्दा देखि सहिद परिवारजन खुसि भएका छन ।
कर्णाली प्रदेश सरकार अन्तर्गत उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको भ्याट बाहेक साढे ११ करोड लागतमा गएको वैशाखदेखि संग्रहालय निर्माणको काम निरन्तर चलिरहेको छ । डिभिजन वन कार्यालय रुकुम पश्चिमका अनुसार हालसम्म उक्त संग्रहालयको ५२ प्रतिशत भौतिक प्रगति भएको छ ।
हाल जनयुद्ध संग्रहालयको दुई तले घरसहित पाँचतलाको भ्यू टावर, बाल उद्यान, सडक बत्ति लगायत अन्य संरचना निर्माणको काम चलिरहेको छ । यसले पर्यटन क्षेत्रको विकास सँगै शहीदको सम्झनालाई अझै अमर अजर बनाउने काम भएको गाउँपालिका उपाध्यक्ष राज कुमारी रेउले बताउनुहुन्छ ।
जनयुद्ध संग्रहालय निर्माण ८३ असार अन्तिम सम्म सम्पन्न गरिने जम्भुदिप जेभीजी कन्ट्रक्सन प्रालीले बताएको छ ।
