– यु.के.लाल
अन्तरजातीय बिवाहको परिवारिक चित्र
जीत तपाइको पुस्तक लेखक शिव खेरा भन्छन– “असफल मान्छेहरु अनुशासनमा रहेर कडा मेहनेत अर्थात संकल्प गर्न चाहँदैनन । सफल खाले मान्छेलाई पनि ति घेरामा बाँधिएर काम गर्न कठिनाइ अवश्य हुन्छ । तर कठिनाई भएपनि उनीहरु आँट्छन र गरेरै छाड्छन् ।” सफल रं सबल मान्छे बन्ने इच्छा सबैको हुन्छ र कठिनाइहरु सबैको जीवनमा आउछन् । मात्र फरक के छ भने कोही कठिनाइबाट भाग्छन् भने कोही कठिनाइको सामना गरेर अगाडी बढ्छन् । भारत प्रवासको जीवनमा बरालिंदा पनि अनुभव लिदै, संकटमा पनि शिक्षा सिक्दै र ब्यवसाय गर्दा पनि सामाजिक काममा क्रियाशिल बन्दै फरक पहिचान बनाएका भारत गोवा राज्य कोलोवावीचमा रहेको थापा होटलका प्रोपाइटर प्रकाश पुन पनि एक नमुना पात्र हुन ।
रुकुम (पश्चिम) जिल्ला त्रिवेणी गाउँपालिका वडा नं ७ मुरु जन्म घर भएका आमा दिव्या पुनकोे कोखबाट २०३७ बैशाख १८ गते जन्मिएका चन्द्र बहादुर पुनका एक दाजु दिनेशकुमार पुन, एक भाई महेन्द्र पुन र एक बहिनी सुष्मी पुन रहेका छन् । निर्मला सिर्पालीसंग अन्तरजातीय बैवाहिक सम्त्रन्धमा जोडिएका प्रकाश पुनका एक छोरा निखिल पुन (थापा) र एक छोरी सिर्जना पुन (थापा) रहेका छन् । गाउँको बिद्यालयमा सात कक्षासम्म अध्ययन गरेका प्रकाश पुन सहयोगी र समाजसेवी स्वभावका कारण भारत प्रवासमा रहँदा पनि दुःख कष्टमा रहेका नेपालीहरुलाई सहयोग गर्दै आउने क्रममा गोवा नेपाली समाजको अध्यक्षको जिम्मेवारी भूमिकाबाट सक्रिय रहेका छन् । डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य समेत रहेका प्रकाश पुन होटल ब्यवसाय र सामाजिक एवं राजनीतिक क्षेत्रको जिम्मेवारी भूमिकाबाट स्थापित भएका एक उद्यमी समाजसेवी ब्यक्ति हुन ।
(क) माओवादीबाट दाजु, भाई र बहिनीको अपहरण– निर्दोषलाई अपराधीकरण
गाउँमा सितोरियो कराँते र भलिबलको पनि खेलाडी भएका प्रकाश पुनका दाजुभाई ने.क.पा. (माओवादी) समर्थक र बिद्यार्थी संगठनमा पनि संगठित भएका थिए । सरकार र माओवादीको युद्ध चर्किदै गइरहेको बेला २०५४ सालको स्थानीय चुनावमा मुरुमा गएको गस्ती प्रहरीले टिकाराम पुनलाई हत्या गरेपछि आफ्नै नजिकको वडा अध्यक्षले पार्टीलाई गलत रिपोर्ट दिएर आफुमाथि कार्वाही गर्ने अवस्था आएपछि माओवादी निकट अखिल (क्रान्तिकारी) मा संगठित भएका दाजु दिनेश पुनले पनि संगठनबाट राजिनामा दिएपछि मुसिकोटमा कक्षा १२ को परिक्षा दिदै गर्दा माओवादीले दाजु दिनेश पुनलाई अपहरण गरेर सात रात–सात दिनसम्म रोल्पामा राखेपछि त्यहाँबाट भागेर दाजु दिनेश पुन प्रहरीमा भर्ती हुन गएको र जुनकुरा परिवारलाई केहीपनि थाह नहुँदा–नहुँदै दाजुलाई प्रहरीको जागीर छोडाउन दवाव दिने उद्देश्यले स्थानीय माओवादी कार्यकर्ताले आफ्नो भाई र बहिनीलाई अपहरण गरेर लिएको उनको भनाइ छ ।
(ख) बाटोमा भेटिएका बेखर्चिहरुको पीर– गाडीभाडा हालिदिएर जम्मु कश्मिर
द्वन्दको जर्जर अवस्थामा गाउँमा बस्ने सहज अवस्था नभएपछि आफुसंगै पढ्ने स्कुले जीवनको साथी कृष्णबहादुर घर्तीको बुबाले भारतको गोवामा जागीर गरिरहेको बेला आफ्नो छोरालाई पनि गोवामै बोलाएपछि मिल्ने साथी भएकोले प्रकाश पुनलाई कृष्णले गोवा जाऔं भन्दा अरुको देशमा जान हुदैन आफ्नै देशमा केही गर्नुपर्छ भनेर सम्झाउदै रोक्न खोजेपनि साथीले रोकिन नमानेपछि आफुपनि साथीसंगै घरबाट भागेर हिडेको उनी बताउछन् । मुरु घरबाट साथीसंगै भागेर दाङको तुलीपुरमा आएपछि घोराहीतिरबाट नगएर तुलसीपुरबाटै सुर्खेत हुँदै महेन्द्रनगरतिर लागेका रहेछन् । महेन्द्रनगरबाट नेपाल–भारतको सिमाना पारी हिडेर गइुकेपछि साँझको समयमा पार्कतिर साथीसंगै घुमिरहेको अवस्थामा पाँचजना बेखर्ची भएर अलपत्र अवस्थामा रहेका नेपालीहरु भेटिएपछि गोवा जाने भनेर साथीसंगै हिडको मान्छे उनीहरुलाई गाडीभाडा खर्च हालिदिएर भारतको जम्मु–कश्मिरमा पु¥याएको उनी बताउछन् ।
(ग) जमिनदारको ज्यामी हुँदै होटल ब्यवसायको उद्यमी
जाडो मौसममा जम्मु कश्मिरमा हिउँ परेको हुँदा कुनै काम नपाइने भएपछि त्यहाँबाट हिमालको सिमलामा आएपनि काम नपाउदाखेरि दुई महिना जति त्यत्तिकै बसेर बिताएको र घरबाट त्यतिबेलै लिएर आएको बीस हजार जति पैसा साथीहरुलाई गाडी भाडा हालिदिने र खाने–बस्नेमै सिध्याएको उनी बताउछन् । पैसा सकिएपछि सिमलामा जमिनदारकै स्याउको बगैचामा स्याउको रुखको वरिपरि गोडमेल गर्ने काममा लागेका रहेछन् । अरु साथीहरुले दिनमा दश पन्ध्रवटा स्याउका रुख गोडमेल गर्दा उनले पच्चीस वटासम्म गोड्ने गरेकाले उनको कामलाई देखेर जमिनदारले मासिक पन्ध्रसय तलब दिने गरि आफ्नो घरमा काम गर्नलाई राखेको रहेछ । तीन महिनापछि गोवाबाट आफ्नो भिनाजुले बोलाएर खबर पठाएपछि उनले जमिनदारलाई दस कक्षाको परिक्षा दिन नेपाल गएर आउछु भनेपछि जमिदारले पाँचहजार भारु भाडा दिएर पठाएपछि आफु हिमाचलबाट नेपालमा नगइ गोवामा आएका रहेछन् ।
गोवाको वास्कोमा पञ्जिम सिटीको दिल्ली दरबार होटलमा मासिक सातसय तलबमा तन्दुरी कुकको सहयोगी भएर चारबर्ष काम गरेछन् । त्यसपछि उनी कान्दुलीको डोनाल सिल्बा चारतारे होटलमा सहायक कुक भएर छ महिना, मडगाउँको चारतारे गोल्डेन होटलमा एकबर्ष, मुम्बइ सेरे पञ्जाव होटलमा एक बर्ष, बालाजीमा छ महिना, ग्रेट पञ्जावमा एक बर्ष, पामग्रो होटलमा पाँच महिना, मोहनसिं शेखमा चार महिना, बेवोज रिसोर्टमा पाँच बर्ष, कोलोवावीचको गोल्डेन क्राउनमा तीबर्ष कुकमेनको काम गरेर प्राप्त गरेको ज्ञान–अनुभव र कमाएको पैसाले कोलोवा वीचमा आफैले होटल सञ्चालन गरेको उनले बताए ।
(घ) भलिवल खेल्दा भएको लफडा– भाँडीएको पहिलो बिवाह
सशस्त्र द्वन्दको समयमा नेपालबाट भागेर भारतमा आएपछि प्रकाश पुनलाई उपहारमा पाइएको जिन्दगी जस्तो लागेर शुरुका केही बर्षहरुमा आफुले कमाएको पैसा जमाउने भन्दापनि साथीभाईहरुसंग घुम्ने, रमाइलो गर्ने, दुःखी–गरिबका बाल बच्चाहरुलाई कापी–कलम, खेलौना किनिदिने गरेर खर्चगर्ने गरेको उनी बताउछन् । यस्तै गर्दा उनको उमेर चौबिस–पच्चीुस बर्षको जवान भइसकेपछि साथीभाई आफन्तहरुले पनि बिहे गर्नुपर्छ भनेर कर गर्न थालेपछि उनका मिल्ने साथी कृष्ण चन्दका दम्पतीले एकजना क्षेत्री थरकी केटीलाई हेराउन लगेका रहेछन् । केटीले पनि मन पराएर उनीसंग बिहे गर्न मञ्जुर भएको तर आमालाई पनि मनाउनुपर्ने हुन्छ भन्ने शर्त राखेपछि अर्कोपटक केटीको आमासंगै भेटेर बिहेको कुरा चलाउने भनेर फर्केर आएका रहेछन् ।
एकदिन साथीभाइहरुसंग मिलेर भलिबल खेल्ने बेला बिपक्षी टिमको खेलाडीले धाँधली गर्न खोज्दा खेलमै लफडा भएर कुटाकुट हुन थालेपछि त्यहि बाटो भएर आफुले बिहे गर्ने भनेकी केटीकी आमा आइरहेकी रहिछन् । उनले प्रकाश पुनलाई झगडा गर्दै गरेको अवस्थामा देखेपछि आफ्नी छोरीलाई यो मान्छे खराब छ तैले कुनैपनि हालतमा यो मान्छेसंग बिहे गर्नुहुदैन भनेर बिवाह नै भाँडिदिएको उनी बताउछन् । त्यसपछि आफुले पनि चूनौति दिएरै केही दिनपछि आफुभन्दा दशबर्ष उमेरले कान्छी केटी निर्मला सिर्पालीसंग अन्तरजातीय बिवाह गरेको र निर्मलासंग बिवाह भइसकेको केही महिनापछि छोरीको बिवाह भाँड्ने आमाले प्रकाश पुनको वास्तविकतालाई राम्रोसंग बुझेपछि चाँही उनी पछुताएर पछाडि फेरी आफ्नो छोरीसंगै बिवाह गर्नुपर्छ भनेर अप्रत्यक्ष दवाव दिएको कुरा प्रकाशले बताए ।
(ङ) अप्ठ्यारोमा पाउँदा आड–भरोसा– जित्न सकिने निराशा
मानिसको जीवन सरल रेखाबाट अगाडी ढेको हुदैन । हरेक मानिसले आफ्नो जीवन बिभिन्न खाले आरोह अवरोह पार गर्दै अगाडी बढाएको हुन्छ । मानिसलाई सुखमा भन्दापनि संकटपूर्ण अवस्थामा साथ दिने र आड–भरोसा दिने मान्छेहरु निकै महत्वपूर्ण लाग्ने गर्छ । प्रकाश पुनको जीवनमा निकै ठुलो संकट त्यतिबेला आयो जतिखेर आफ्नी श्रीमती निर्मलाको दुबै मृर्गौलाको शल्यक्रिया गरेर उपचार गर्नुपर्दा चरम आर्थिक संकटले गर्दा मासिक सयकडा दश प्रतिशतका हिसाबले ऋण सापटी लिएर पनि उपचार गर्नुपरेको अवस्था र त्यतिबेला आवश्यक आर्थिक सहयोग गरेर उच्च मनोबलका लागी हौसला दिने माइला बुबाकी छोरी दिदी सीता बुढाथोकी, साथीहरु–बिसन चन्द, संगत माझी र करण पुनको महत्वपूर्ण भूमिका पनि बिर्सनै नसकिने खालको रहेकोे उनको भनाइ छ ।
(च) राजनीतिक अस्थीरता भ्रष्टाचार मौलाउने कारक तत्व
भारतको पर्यटकीय सहर गोवामा लामो समयसम्म होटल ब्यवसायको काममा जीवन ब्यतित गरेका प्रकाश पुनले आफ्नो अनुभवबाट नेपालको अवस्थालाई नियाल्दा नेपालले पर्यटन क्षेत्रको बिकास गर्न सकेमा देशको आर्थिक बिकासमा निकै ठुलो फड्को मार्नसक्ने सम्भावना रहेको उनको धारणा छ । राज्यको सबै निकाय र तहमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न र भ्रष्टाचार मौलाउने प्रमुख कारकतत्व भनेको राजनीतिक अस्थिीरतालाई अन्त्य गर्ने राजनीतिक नयाँ प्रणाली, संरचना र संस्कार निर्माण गर्नुपर्ने कुरामा उनको सुझाव रहेको छ । भविष्यमा आफु नेपालमै आएर ब्यवसायिक कामसंगै जनसेवा गर्ने सामाजिक कामलाई पनि निरन्तरता दिन चाहेकोले उपयुक्त समयको प्रतिक्षामा रहेको उनी बताउछन् ।
