–यु.के.लाल

परिवारिक ममताको अभाव महसुस गरेको पृष्ठभूमि
आफ्नो सन्तानलाई बेलैमा आफ्नोपनको अनुभूति गर्न–गराउन सकिएन भने समयले धेरै टाढा बनाउदै लैजाने र पछुताउदा पनि अर्थहिन हुने अवस्थामा पु¥याउँदो रहेछ । आफ्ना छोरा–छोरीहरुले दुःख–कष्ट पाएर गए–गुज्रेको अवस्था भोगुन् भनेर कुनैपनि बाबु–आमाले सोच्दैनन् । बरु दुःख–कष्टसंग संघर्ष गर्दै सफलतामा पुगेर धेरै मान्छेले आशा र भरोसा गर्ने ब्यक्ति बन्न सकोस् भन्ने प्रायः बाबु–आमाको चाहना नै हुन्छ । छोराछोरीहरुले प्रत्यक्ष अनुभूति गर्नेगरि कसैले ममता देखाएर दिएका हुन्छन भने कसैले ममतालाई आफैभित्र सिमित राखेर बाहिर नदेखाएका पनि हुनसक्छन् । यो आफ्नो सन्तानलाई ममता दिने फरक स्वभाव शैलीको कुरा भयो । यस्तै एउटा बाल्यकालदेखि बुबा–आमाबाट ममताको अभाव महसुस गरेका र आफुलाई असाध्यै माया गरेर हुर्काउने हजुरआमालाई पनि ते¥ह बर्षको उमेरमै गुमाएर भारत प्रवासमा कष्टकर दुःख–पीडाहरु झेल्दै र दुःख–कष्टसंग खेल्दै तेजावमा खारिएको सुनजस्तो असल एवं सफल होटल ब्यवसायी बनेका भारतको हिमाचल प्रदेश रामपुरमा रहेका बिक्रम पुन एक उदाहरणीय पात्र हुन ।
रुकुम (पश्चिम) जिल्ला सानीभेरी गाउँपालिका वडा नं ३ जन्म घर भएका आमा मनकुमारी पुनकोे कोखबाट २०४४ बैशाख १३ गते जन्मिएका राम बहादुर पुनका जेठा छोरा बिक्रम पुनका एक भाइ मोदी पुन रहेका छन् । कुनै सिनेमाको कहानीमा जस्तो लाग्ने बन्दनासंग आठ महिना जति गहिरो प्रेम सम्बन्धमा रहँदा आफ्नो दायाँ हातको बुढी औंला चिरेर रगतले सिन्दूर हाली बैवाहिक सम्त्रन्धमा जोडिएको बताउने बिक्रम पुनका एक छोरी चेतना पुन र एक छोरा सुनिल पुन रहेका छन् । बाल्यकालदेखि नै पारिवारिक रुपमा भोग्दै आएको आर्थिक अभावका कारण पाँच कक्षाभन्दा माथि पढ्ने अवसर नपाएका बिक्रमले किशोरावस्थामै भारत प्रवासमा आएर तमामखाले दुःख–पीडाहरुसंग संघर्ष गरेर खारिंदै आउने क्रममा होटल ब्यवसायबाटै स्थापित बनेका उनी एक सफल उद्यमी पनि हुन ।

(क) हजुरआमाको गर्नुपर्ने उपचार– मृत्युपछि खेपेको दुःखको मार
सानै उमेरदेखि हजुरआमा थुर्मा पुनको रेख–देखमा हुर्कदै आएका बिक्रम पुन ते¥ह बर्षको उमेर अवस्थामा पुग्दा हजुरआमा थुर्मा पुन गम्भीर बिरामी भएकी रहिछन । गाउँघरमा झाँक्री–धामीबाट झारफुक गर्नेदेखि लिएर गाउँको स्वास्थ्य चौकीमा लगेर चेक–जाँच गराइ औषधी खुवाउँदा पनि सञ्चो नभएपछि बिक्रममा ठुलाबुबा र आफु सहित हजुरआमालाई भारतको हिमाचल प्रदेश रामपुरको खनारी हस्पिटलमा उपचारका लागी भर्ना गरेका रहेछन् । डाक्टरले निकै प्रयास गर्दापनि उपचार सफल नभएपछि हजुरआमाको रामपुर हस्पिटलमै मृत्यु भएको रहेछ । आफुलाई माया गरेर हुर्काउने हजुरआमाको मृत्यु भइसकेपछि रामपुरमै दाहसंस्कार गरेर उनी अब घरमा नजाने र रामपुरमै केही गरेर हजुरआमाको सपना साकार पार्ने अठोट लिएर रामपुरमै जमेर बसेको उनको भनाइ छ ।

ते¥ह बर्षको किशोर अवस्थामा परदेशको ठाउँ जो कसैले सित्तैमा खान–बस्न नदिने स्थितीमा आफैले काम खोज्दै दिनभर बालुवा बोक्ने र साँझ भएपछि बसअड्डा, मन्दिर, गुम्बानेर गएर एक्लै सुत्ने गर्दा निदाएको बेला कहिलेकाँही चोरहरुले आफुसंग भएको पैसा, हातको घडी गोजीमा जे छन् ति सबै चोरेर लगिदिने गरेको उनी बताउछन् । बजारमा भारी बोक्ने कुली कामदेखि होटलमा भाँडा माझ्ने, जमिनदारहरुको स्याउको पेटी बोक्ने लगायतका कामहरु गरेर दुई–तीन बर्षसम्म दुःख–कष्टका साथ दैनिक गुजारा चलाउदै आइरहेको उनले बताए ।

(ख) दैलेखी भिनाजुले दिएको उपाय– ठेलागाडाबाट शुरु गरेको होटल ब्यवसाय
मजदूरी गरेर मात्रै जीवनलाई बदल्न नसकिने र त्यसका लागी केहि सानोतिनो ब्यवसाय गर्नेपर्ने सोंच बन्दै गइरहेको अवस्थामा बिक्रमले भिनाजु नाता लगाएका दैलेख जिल्लाका एक मनकारी ब्यक्तिले उनलाई ठेला गाडामा सानो भएपनि चिया–नास्ता बनाएर बेच्न सुझाव दिएर एकहजार भारु ब्यवसाय गर्नका लागी उनलाई सहयोग गरेका रहेछन् । त्यसैबाट उनले ठेलागाडा भाडामा ल्याएर नास्ता पसल शुरु गरेपछि शुरुका दिनहरुमा केही स्थानीय गुण्डा र पुलिसले समेत हेपेर सित्तैमा खाइदिने, उधारो खाइदिएर पैसा नदिने गर्दा कहिले–काँही आफुले एकदुई दिन बाहिर मजदूरी गर्न गएर पैसा कमाइ नास्ता बनाउने सामान किनेर ल्याउनु परेको तितो अनुभव पनि उनीसंग रहेको छ । तै पनि हरेस नखाएर ब्यवसायलाई निरन्तरता दिंदै आउने क्रममा ते¥ह बर्षको अबधीमा उनले ब्यवसायबाट रामै कमाइ गरेर रामपुरमा घर–जग्गा, कार–मोटरसाइकल, सुन गरेर पाँच करोड बराबरको सम्पति जोड्न सफल भएको उनी बताउछन् ।

(ग) दुर्घटनामा मरेको परिवारको सहयोगी बनी– संगठनबाट लिएको पहलकदमी
होटल ब्यवसायसंगै प्रवासमा मजदुरी र ब्यवसाय गर्न आएका नेपालीहरुको हक–हितका लागी संगठित भएर सामाजिक क्षेत्रबाट पनि सक्दो भूमिका खेल्नुपर्छ भन्ने सोंच राखेर बिक्रम पुन राष्ट्रिय जनमोर्चा निकट मूलप्रवाह अखिल भारतीय नेपाली एकता समाजको रामपुर नगर कमिटीको सल्लाहकार समेत रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । जाजरकोट जिल्लाको एक युवा रामपुरमा ट्रकबाट मार्वल झार्ने क्रममा मार्वलले च्यापेर गम्भीर घाइते भइ उपचारको क्रममा अस्पतालमै मृत्यु भएपछि पोष्ट मार्टम नै नगरी दाहसंस्कार गर्न खोजेको हुँदा आफुले पुलिससंग छलफल गरि पोष्टमार्टम गर्न लगाएर दुघटना मुद्दा दर्ता गराई मृतककी श्रीमतीलाई चारलाख भारु क्षतीपूर्ति भराउन सफल भएको कामलाई आफ्नो संगठनबाट लिएको महत्वपूर्ण पहलकदमी भएको उनी बताउछन् ।

(घ) बिश्वसनीय बनाऔं बानी– गर्न सकिन्छ नेपालमा लगानी
नेपालबाट आएका श्रमिक नेपालीहरु भारत प्रवासमा आएर पनि बिकृति–बिसंगतिमा लागेर फजुल खर्च गर्ने, रक्सी खाएर आपसमा झै–झगडा गर्ने कामले आफुलाई पनि लज्जाबोध गराउने अवस्था देखिने गरेको उनी बताउछन् । सकभर नेपालमै रोजगारी सिर्जना गर्नेगरि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारहरुले ठोस योजना बनाएर अभियानात्मक ढंगले लाग्नुपर्ने उनको सुझाव रहेको छ । नेपालीहरुले फजुल खर्च गर्ने बानीमा सुधार ल्याएर ब्यवसायिक सोंचको बिकास गर्ने र राज्यले पनि लगानीमैत्री नीति, योजना र कार्यक्रम बनाएर बिश्वसनीय वातावरण बनाउन सकेमा आफुले पनि नेपालमा लगानी गरेर उद्यमशीलता बिकासमा योगदान गर्न सकिने उनको भनाइ रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto