यु.के.लाल
श्रमशील शिक्षित परिवारिक पृष्ठभूमि
सफलताको रहस्य बारेमा महान बैज्ञानिक अल्वर्ट आइन्सटाइनले भनेका छन्– “आफ्नो कामलाई खेल झै रमाइलो पारामा खेल्न सक्नुपर्छ । परिणाम नआएसम्म कुनैपनि गुनासो नगरी काममै रमाइरहनु पर्दछ । यहि सफलताको रहस्य हो ।” कर्ममा रमाउने मान्छेहरुलाई सम्पती कमाउनेको चिन्ता र गुमाउनेको डर पनि हुदैन । किनकी आफ्नो काममा ब्यस्त मान्छेलाई अरु धेरै कुराहरु सोच्ने फुर्सद पनि हुदैन । स्वावलम्वी मान्छेहरु स्वाभिमानी पनि हुने भएकोले कसैको अन्धभक्त बनेर चाकडी, चाप्लुसी गर्नुपर्ने वा कसैको खोइरो खनेर बिरोध गर्नुपर्ने आवश्यकता पनि हुदैन । आफ्नो सोंच अनुसारको कर्म गर्नुपर्छ भन्ने मान्यता राख्दै दैनिक अठारदेखि बीस घण्टासम्म आफ्नो ब्यवसायमा खट्ने भारतको हरियाणा राज्य पञ्चकुला सेक्टर ३१ महेशपुरमा दुई दशकदेखि फास्टफुडको उद्योग ब्यवसाय गर्दै आएका राम बहादुर बुढा पनि एक उदाहरणीय कर्मवीर पात्र हुन ।
रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं २ सेरावाङ जन्म घर भएका आमा रुपकला बुढाकोे कोखबाट २०२४ बैशाख ११ गते जन्मिएका तुलसीराम बुढाका जेठा छोरा राम बहादुर बुढाका दुई भाई र पाँच बहिनीहरु रहेका छन् । २०४२ सालमा आशा घर्तीसंग बैवाहिक सम्त्रन्धमा जोडिएका राम बहादुरका तीन छोरीहरु कृष्णमाया, राधा र इशु रहेका छन् । रोल्पाको जुँगार माध्यामिक बिद्यालयबाट २०४६ सालमा एस.एल.सि. पास गरेर दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट आइ.ए.सम्मको अध्ययन गरेका राम बहादुरका तीन छोरीहरु कृष्णमायाले स्नातक गरेर शिक्षिका, राधाले क्यानडामा ग्रेजुयसन स्नातकोत्तरमा अध्ययनरत र कान्छी छोरी इशुले स्नातक पहिलो बर्षमा अध्ययनरत रहेकी छिन । फास्टफुड ब्यवसायबाट पाँच जनालाई रोजगारी दिंदै र ब्यवसायबाट भएको आम्दानीले छोरीहरुलाई उच्च शिषा आर्जन गर्नेगरि शिक्षामा लगानी गरेका राम बहादुर काममा अति ब्यस्त हुने एक पौरखी उद्यमी हुन ।

(क) भारतीय सेनामा भर्ती हुने आशा– दौडको मापदण्ड नपुगेपछि निराशा
आफ्नो बुवा भारतीय सेनाको ब्रिगडियर जनरलको घरमा काम गर्ने भएकोले उनले सेनाको अफिसरंग कुरा गरेर छोरा रामबहादुरलाई भारतीय सेनामा भर्ती गरिदिन अनुरोध गरेपछि दौडको केही मापदण्ड पुरा गराएर आफुले भर्ती गरिदिने वचन दिए अनुसार राम बहादुरलाई बुबाले बोलाई पठाएका रहेछन् । आफ्नो बुबाले बोलाइपठाएपछि एस.एल.सि. को टेष्ट परिक्षा दिएर गाउँबाट साथीहरुसंग भारतीय सेनामा भर्ती हुनका लागी पञ्जावमा आएका रहेछन् । भर्तीको समयमा युवाहरुलाई दौडमा सहभागी गराइएको रहेछ । दौडमा तोकिएको मापदण्ड अनुसार पुरा गर्न नसकेपछि राम बहादुर भारतीय सेनामा भर्ती हुने अवसर नपाउँदा निराश बनेर त्यहिँबाट साथीहरुसंग हिमाचलको सिमलातिर लागेछन् ।

(ख) मजदूरी गदै चौकीदारी– कुकमेन हुदै स्वरोजगारी
हिमाचलको सिमला भट्टाकुफरमा आएर क्रेसर उद्योगको काममा तीन महिना जति लागेर उनी घरमा गइ साथीहरुसंग भारतको गढवालमा आएर वन कार्यालयले लगाएको काम वृक्षारोपन गर्नको लागी खाडल खन्ने काममा लागेका रहेछन् । मजदुरी काम गर्ने समुहमा पढेलेखेको ठिटो जस्तो देखिने राम बहादुरलाई नेपाली ठेकेदारले उनको पढाइको अवस्था बारेमा सोभपुछ गर्दा आफुले एस.एल.सि.को टेष्टपास गरेको बताएपछि ठेकेदारले अलिकती पैसा खर्च गरेर इन्डियाबाट एस.एल.सि. गरेको प्रमाणपत्र निकाल्न सकिने सल्लाह दिंदा आफुले नमानेर त्यहिँबाट घरमा आई आफुले एस.एल.सि.को परिक्षा दिएको उनी बताउछन् ।
२०४६ सालमा एस.एल.सि. पास गरेर केही समय नेपालमै जागीरको लागी दौड–धुप गरेको र जागीर नमिलेपछि गाउँबाट मोहन बस्नेत लगायतका साथीहरुसंग भारतको हरियाणा राज्य पञ्चकुलाको सेक्टर ४ मा आएर बजारको चौकीदारी जागीर गरेका रहेछन् । रातमा बजारको चौकीदारी ड्युटी गर्ने र दिनमा ओष्कर एजेन्सी होटलमा लागेर वेटरको काम गर्दा भएको कमाइले घरमा भाइबहिनीहरुलाई पढाउने र घरको ऋण तिर्ने गरेको उनले बताए । चौकीदारी र होटलको काम दिनरात गर्दै जाँदा उनले ओष्कर एजेन्सी होटलमा वेटरबाट कुकमेनको सहयोगी बन्दै केही बर्षभित्रै कुकमेनको काम पनि सिकेका रहेछन् । दिनरात मेहनेत गरेर कमाएको पैसा र सीप सिकिसकेपछि आफैले पञ्चकुलाको सेक्टर १२ मा नेपाली आइटमको चिकन सुप, भेज सुप र चाउमिन लगायतका नास्ताका परिकारहरु बनाएर बेच्ने फास्टफुड ब्यवसाय शुरु गरेर सेक्टर ११, २० हुँदै सेक्टर ३१ मा सञ्चालन गरेर स्थापित गरेको उनी बताउछन् ।

(ग) नेत्रबिक्रमको रगत उमाल्ने भाषण– प्रभावित भएर जोडिएको राजनीतिक संगठन
बिद्यार्थीकालमा राजनीतिक पार्टीहरुले राजनीतिक ब्यवस्था परिवर्तनको आन्दोलनमा संगठित गरेर परिचालन गर्दै आउने क्रममा आफु रोल्पा जुँगारको स्कुलमा पढ्दै गर्दा तत्कालिन बिद्यार्थी नेता नेत्रबिक्रम चन्दको रगत उमाल्ने खालको भाषणबाट प्रभावित भएर अखिल (क्रान्तिकारी) को बिद्यार्थी संगठनमा संगठित भएर राजनीतिक जीवनको शुरुवात गरेको बताउने राम बहादुरले भारत प्रवासमा आएपछि पञ्चकुलामा हस्त बहादुर घर्तीको माध्यमबाट प्रवासी नेपाली संघमा जोडिएको र उक्त संगठन आफ्नो राजनीतिक बिचार अनुसारको नदेखेपछि आफुले बिभिन्न माध्यमबाट सम्पर्क गरेर ने.क.पा.(माओवादी) निकट अखिल भारतीय नेपाली एकता समाजमा जोडिएर संगठनको जिम्मेवारी भूमिका पनि निर्वाह गर्दै आउने क्रममा अहिले उनी माओवादी (केन्द्र) निकट अखिल भारतीय नेपाली एकता मञ्चको केन्द्रीय समिति सदस्यको पदीय जिम्मेवारी भूमिकामा रहेका छन् ।

(घ) श्रीमतीको मुटुरोग– उपचारको दौरानमा आर्थिक अवस्था बिजोग
भारतको हरियाणा राज्य पञ्चकुलामा फास्टफुडको ब्यवसाय शुरु गरिसकेपछि श्रीमती र छोरीहरुलाई पनि साथमै लिएर ब्यवसायको काम गर्दै आएका राम बहादुरकी श्रीमती आशा बुढालाई स्वास्यमा समस्या देखिएपछि पञ्चकुलाको जनरल हस्पिटलमा लगेर स्वास्थ्य परिक्षण गराउदा मुटु रोगको समस्या देखायो । त्यसबेला उनका दुई छोरीहरु पनि सानै रहेको र कान्छी छोरी आमाको गर्भमा रहेको अवस्थामा रहेको अवस्थामा चण्डीगढको पि.जि.आई. हस्पिटलमा लगेर डाक्टरको सल्लाह अनुसार दुईबर्ष जति नियमित औषधी सेवन गराउदै आएका रहेछन् । औषधीले मात्र काम नगर्ने अवस्था भएपछि मुटुको शल्यक्रिया नै गर्नुपर्ने भएको हुँदा बेङ्लौरको सत्य साइबाबाको हस्पिटलमा मुटुको निशुल्क शल्यक्रिया गरिदिन्छ भन्ने आफुले सुने अनुसार त्यहाँ गएर बुझ्दा एकहजार जना शल्यक्रिया गर्ने बिरामीको पछाडी पालो आएको हुँदा आफन्तजन सबैबाट ऋण–सापट जुटाएर चण्डीगढको पि.जि.आई. हस्पिटलमा लगेर श्रीमतीको मुटुको शल्यक्रिया गरेर उपचार गराएका रहेछन् । त्यसबेला आफ्नो आर्थिक अवस्था सा¥है नाजुक रहेको स्थितीमा अखिल भारतीय नेपाली एकता समाजको संगठनबाट भारु बा¥हहजार नगद सहयोग गर्नुका साथै संगठनका नेता टोप बहादुर ओली र अन्य साथीहरुले रक्तदान गरेर श्रीमती आशा बुढाको जीवन बचाउन निकै ठुलो सहयोग गरेकोमा संगठनका साथीहरुप्रति उनी आभारी रहेका छन् ।

(ङ) जोड दिने कृषि र उद्योग धन्दा– गर्नुपर्ने बिचौलियाको हालीमुहाली बन्द
नेपालमा पढेर पनि उपयुक्त जागीर गर्ने रोजगारको अवसर नपाएर भारतको हरियाणा पञ्चकुलामा कर्मथलो बनाएर बसेका राम बहादुर बुढाले नेपालको राजनीति र देशको अवस्था बारेमा पनि चिन्ता र चासो राख्दै यो संसदीय ब्यवस्थाको अस्थीर राजनीतिबाट धेरै प्रगती गर्न नसकिने बताउदै कार्यकारी प्रमुख सहितको पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने उनको धारणा रहेको छ । ब्यवसायिक कृषीमा जोड दिंदै कृृषिमा आधारित उद्योग–धन्दा खोलेर नेपालमै रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्ने र बिचौलियाहरुको बिगबिगीले गर्दा धरासायी भएका नेपालका उद्योगहरुलाई सञ्चालनमा ल्याउन राज्यले ठोस पहल गरेर बिचौलियाहरुको हालीमुहाली बन्द गर्नुपर्ने उनको सुझाव रहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto