प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हचुवा र तथ्यहीन प्रचारबाजीमा नलाग्न युट्युबहरू लगायत सबै सामाजिक प्रयोगकर्ताहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष बस्नेतले नकारात्मकता त्यागेर सफलताका लागि रचनात्मक पहल लिन सबैलाई आग्रह गरे ।
काउन्सिलमा आयोजित एक कार्यक्रममा उनले युट्युब र अनलाइन सञ्चार माध्यम हावा सूचनाको पछि लाग्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने समेत बताए । मिडियाको गलत प्रस्तुतिका कारण सिङ्गो समाजमा गलत भाष्य स्थापित भएको भन्दै काउन्सिलले केही महिनादेखि रचनात्मक पत्रकारितालाई अभियानकै रूपमा बहस चलाएको छ । काउन्सिलले बोर्ड बैठकबाट अबको पत्रकारिता समाधानमुखी र रचनात्मक हुनुपर्ने र त्यसलाई देशव्यापी बनाउने निर्णय भएको थियो ।
युट्युबसहित सामाजिक सञ्जालमा देखिएका बेथिति रोक्न काउन्सिलले यस्तो अभियान थालेको हो । प्रेस काउन्सिलले पछिल्लो समयमा एकपक्षीय, आधारहीन र तथ्यहीन सूचना सम्प्रेषण गर्ने युट्युबसहितका मिडियालाई कानुनी कारबाही गर्दै आएको छ । पछिल्लो पटक काउन्सिलले भ्रमपूर्ण खबर प्रशारण गर्ने केहि युट्युब च्यानलहरुलाई आगामी दिनमा यस्तो नगर्न निर्देशन तथा कारवाहीका लागि सिफारिस समेत गरेको छ । विस्तृत विवरण तलको विज्ञप्तीमा हेर्नुहोस ।