नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पश्चिमले पत्रकार बलेन्द्र ओलीमाथि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गरेको दुब्र्यवहारको घटनाको भत्सना गरेको छ । पार्टी जिल्ला इन्चार्ज बसन्त शर्मा र संयोजक गोविन्द रोकाले आज एक प्रेस बिज्ञप्ती जारी गरी घटनाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्तिक ६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतद्वारा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आयोजित प्रदेश विशेष कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको समाचार सङ्कलनका लागि पुगेका पत्रकार ओलीलाई मुख्यमन्त्री कँडेल स्वयंले अपमानजनक ढङ्गले हल बाहिर निकालेको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तीमा मुख्यमन्त्रीको यो हर्कतले पूर्ण प्रेस स्वतन्त्रताको गम्भीर उलंघन भएको समेत पार्टीले जनाएको छ ।
हेर्नुहोस पार्टीले जारी गरेको विज्ञप्ती ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति रुकुम पश्चिम
विषयः प्रेस विज्ञप्ति
मिति २०८१ कार्तिक ६ गते
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतद्वारा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आयोजित प्रदेश विशेष कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रमको समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालयको निमन्त्रणामा कार्यक्रमस्थल पुगेका पत्रकार प्रेस सेन्टर नेपालका जिल्ला सदस्य तथा कखरा अनलाईनका संवाददाता बलेन्द्र ओलीलाई मा. मुख्यमन्त्री यामलाल कँडेल स्वयंले अपमानजनक ढंगले हल बाहिर निकालेको घटनाप्रति हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । जिल्ला प्रशासन कार्यालयको निम्तोमा कार्यक्रम स्थलमा पुगेका पत्रकारलाई कार्यक्रमको प्रमुख अतिथिको रुपमा आसिन मुख्यमन्त्रीजस्तो व्यक्तित्वबाट यस प्रकारको दुर्व्यवहार हुनु मानवीय दृष्टिले अशोभनीय कार्य मात्र नभई संविधानले प्रत्याभुत गरेको पूर्ण प्रेस स्वतन्त्रताको गंभीर उलंघन भएको हाम्रो ठहर छ । तसर्थ उक्त घटनाप्रति घोर निन्दा एवं खेद प्रकट गर्दै आइन्दा प्रेस स्वतन्त्रताको हनन् हुने तथा संचारकर्मीको अपमान हुने खालका कुनै पनि गतिविधि दोहोरिन नदिन सम्बन्धित पक्षको गंभीर ध्यानाकर्षण गराउदछौं । साथै उक्त घटनाको सम्बन्धमा प्रेस सेन्टर नेपाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पश्चिम र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गरेको विरोधप्रति हाम्रो पार्टी ऐक्यवद्धता जाहेर गर्दछ ।
७ कात्तिक २०८१
वसन्त शर्मा गोविन्द रोका (ईञ्चार्ज) (संयोजक)