मेगराज खड्का

नेपाली काँग्रेस अहिले केन्द्र देखि स्थानीय स्तरसम्म संस्थापन र इतर पक्ष विच खुलमखुला फरक फरक सांगठनिक गतिविधी भैरहेका छन । काँग्रेस सभापति गगन थापा तर्फको संस्थापन पक्षले महाधिबेशनको घोषणा गरेर वडा, पालिका र क्षेत्रिय अधिबेशन अधिकांस ठाउँमा सम्पन्न गरिसकेको छ भने काँग्रेस पूर्व सभापति तथा राजधानी काठमाण्डौको चुनदेवीमा काँग्रेसको अर्को समान्तर कार्यालय बनाएर सभापतिको नेमप्लेट राखिएका शेरबहादुर देउवा पक्षले पनि १५ औं महाधिबेशन मिति घोषणा गरिसकेको छ । जस अनुसार मंसिर २१ देखि २३ गतेसम्म हुनेछ ।

देउवा पक्षले देशका विभिन्न ७६ जिल्ला महाधिबेशन प्रयोजनका लागि जिल्ला संयोजकहरु छनौट गरेको भएपनि रुकुम पश्चिममा भने हालसम्म घोषणा गरिएको छैन । तर संस्थापन पक्षको रुकुम पश्चिममा वडा, पालिका, क्षेत्र र महाधिबेशन प्रतिनिधी छनौट प्रकृयामा नेतृत्वको एकलौटी गोजीबाट अलोकतान्त्रिक तरिकाले लिष्ट तयार भएको भन्दै रुकुम पश्चिममा पनि चुनदेवी काँग्रेस विस्तारको सुरसार गरेका छन । संस्थापन पक्षले रुकुम पश्चिममा यसपटक कुनैपनि तहमा चुनाव नबनाएर सर्बसम्मत भएको भन्दै ढिला गरि मंगलबार विहान मात्र महाधिबेशन प्रतिनिधी र क्षेत्रिय सभापतिहरुको नाम सार्वजनिक गरेको थियो । त्यस्तै पालिका समितिहरु पनि विबादका बिच सर्बसम्मत भएको घोषणा गरिएको थियो । पालिका समितिहरुमा चुनाव हुनुपर्ने र नेतृत्वले एकलौटी तरिकाले पद छान्न नहुने भन्दै पार्टी कार्यालयमा नेतृत्वको चर्को आलोचना, विवाद देखि जिल्ला सभापति प्रेमप्रकाश ओलीमाथी कार्यकर्ताहरुबाट कुटपिट समेत भएको विवरणहरु बाहिरिएका थिए ।

काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले निर्वाचन नै नगराएर रातारात गोजीबाट लिष्ट तयार गरि टाँसेर नेतृत्वहरु काठमाण्डौतीर भागेको काँग्रेस नेता कार्यकर्ताहरुले सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रियाहरु दिएका छन । नेपाल दलित संघ रुकुम पश्चिमका सभापति प्रवीर ददेलले नेतृत्वले मध्यरातमा आआफ्ना गोजीबाट नाम तयार पारेको र उक्त नाम टाँसेर भागेको उल्लेख गरेका छन । ददेल पनि दलित तर्फबाट महाधिबेशन प्रतिनिधीका आकांक्षी थिए भने आफु उम्मेदवार भएको सामाजिक सञ्जालमा समेत घोषणा गरेका थिए । यसैविच यहि असन्तुष्टिलाई मौका छोपेर रुकुम पश्चिममा चुनदेवी काँग्रेस विस्तारको सुरसार भैरहेको छ । जसको हाल समन्वय नेता नन्द विष्टले गरिरहेका छन । त्यसका साथै अन्य जिल्ला स्तरका नेताहरुले पनि आआफ्ना तरिकाले संस्थापन पक्षको आलोचना र इतर पक्षलाई समर्थन गरिरहेका छन । जिल्लाका सबै पालिकाहरुमा रहेका नेताकार्यकर्ताहरुको भावनालाई सम्बोधन गर्दै केहि दिनमा इतर पक्षको भेला समेत आयोजना गर्ने र त्यहिबाट नेतृत्व छनौट गर्ने तयारी गरिएको छ । इतर पक्षका केन्द्र तथा प्रदेश स्तरका नेतृत्वबाट पनि विष्टलाई रुकुम पश्चिमको नेतृत्व गरेर अगाडि बढ्न पटक पटक आग्रह भएको समाचार स्रोतको दावी छ ।

विष्ट पनि प्रदेश तथा केन्द्रका नेताहरुसंग आवश्यक समन्वय गर्न केहि दिनअघि जिल्लाबाट बाहिरिएको बताईएको छ । द्धन्द्धकाल देखि शान्ति कालसम्म लामो समय नेपाल तरुण दलको नेतृत्व गरेका विष्ट काँग्रेसको महासमिति सदस्य समेत भैसकेका नेता हुन । यस विषयमा नेता विष्टसंग आहा सञ्चारले सम्पर्क गर्दा जुन अलोकतान्त्रिक तरिकाले हिजोराती महाधिबेशन प्रतिनिधी छनौट र घोषणा गरियो त्यसले पक्कै पनि जिल्लामा चुनदेवी काँग्रेस विस्तारको आधार बनेको बताए ।
तपाईले रुकुम पश्चिममा इतर पक्षको नेतृत्व गर्न लाग्नुभएको हो भन्ने आहा सञ्चारका प्रश्नमा विष्टले भने, ‘म अहिले जिल्ला बाहिर छु, सबै नेता कार्यकर्तासंग छलफल र संवाद भैरहेको छ, केहि दिनमा जिल्ला भेला आयोजना हुन्छ, त्यसपछि सबै कुरा थाहा पाईहाल्नु हुन्छ ।’ लामो समय रुकुम पश्चिमा देउवा पक्षमा लागेका नेताहरु पनि अहिले गगन पक्षमै लागेर महाधिबेशन प्रतिनिधीमा नाम समाबेश गरेका छन । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा युवा नेता अनुराग शाहले शेरबहादुर देउवासंग कुरा गरेर सार्वजनिक गरेको एक भिडियो क्लिपमा देउवा आफैले रुकुम पश्चिमको नेतृत्व गर्ने नेता पनि केहि दिनमा तय गरिने बताएका छन ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...