कर्मफ्लाइट्स फाउन्डेसनले तनहुँ र गोरखा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति परियोजना तथा ७२ सालको भूकम्प पश्चात् विद्यालयलाई दिइँदै आएको नियमित शैक्षिक सामग्री वितरण गरेको छ । गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नं ४ बालुवामा अवस्थित श्री जीवन ज्योति माविमा उक्त मावि र आसपासकाका गाउँपालिका विभिन्न विद्यालयका अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले ७२ सालको विनाशकारी भूकम्पदेखि हालसम्म गोरखा जिल्ला सँगको संस्थाको सम्बन्धले सय जना विद्यार्थीमध्ये धेरैले १२ कक्षा पास गरेपनि अझै केही विद्यार्थीको अध्ययन बाँकी रहेको बताए । साथै निर्देशक कुँवरले बाँकी विद्यार्थीलाई १२ कक्षासम्म साथ दिने विश्वास दिलाए । गोरखा लगायत उक्त दिन तनहुको बन्दिपुरका तीनवटा विदालयमा पनि शैक्षिक सामग्री वितरण गरिएको थियोे । श्री भैरव आविमा अध्ययनरत २० जना विद्यार्थी, श्री देउराली आविमा अध्ययनरत २५ जना विद्यार्थी र श्री चामुण्डा आविका बालविकासका विद्यार्थीलाई झोला, कापी, कलम, हाइजिन कीट, स्कुल पोशाक प्रदान गरिएको थियोे ।
केही अघि ढोरपाटन नगरपालिका–५ अधिकारीचौरस्थित श्री भुजी माध्यमिक विद्यालयमा कर्मफ्लाइट्स फाउन्डेसन नेपाल र एडुटेक नेपालको सहकार्यमा संस्थाको ३० औँ आईसीटी कम्प्युटर ल्याब र निसीखोला गाउँपालिका–२ बहुङगाउँस्थित श्री हिमालय आधारभूत विद्यालयमा कर्मफ्लाइट्स फाउन्डेसन नेपाल, एडुटेक नेपाल र निसीखोला गाउँपालिकाको सहकार्यमा संस्थाको ३१ औँ आईसीटी कम्प्युटर ल्याब स्थापना, उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । सात दशकभन्दा लामो इतिहास बोकेको श्री भुजी माध्यमिक विद्यालयमा स्थापित कम्प्युटर ल्याबबाट करिब २५० विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रमेश पौड्यालले भने, “कृत्रिम बुद्धिमत्ताको युगमा कम्प्युटर शिक्षा विकल्प होइन, अनिवार्य आवश्यकता हो । यो ल्याब ग्रामीण र सहरी शिक्षाबीचको दूरी घटाउने र बाँकी विश्वलाई चियाउने आँखीझ्याल बन्नेछ ।” त्यस्तै कर्मफ्लाइट्सले बाग्लुङका तीनवटा विद्यालयमा ‘लैङ्गिक समता तथा सामाजिक अभियान (जेसा) र महिनावारी स्वच्छता (एमएचएम) सम्बन्धी कार्यक्रम पनि सञ्चालन गरेको छ ।
अर्नाकोट मावि खल्बाङ, अर्नाकोट मावि देउराली तथा भुजी महाविर आधारभूत विद्यालयका कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूलाई मानव अधिकार, लिङ्ग तथा लैङ्गिकता, किशोरावस्थाका परिवर्तन तथा हिंसासम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको थियो । जेसा प्रोजेक्ट अफिसर सौगात अधिकारीका अनुसार यो कार्यक्रमले विद्यार्थीले बेलैमा समाजमा रहेका हरेक कुराको राम्रा र नराम्रा कुरा केलाउन सक्नेछन् । किशोरावस्थामा प्रवेश गर्दै गरेका विद्यार्थीका लागि यो कार्यक्रमले अझ थप सचेत बनाउन सक्ने बताएका छन् । जेसा कार्यक्रम लगत्तै तीनवटै विद्यालयका कक्षा ६, ७, ८, ९ र १० मा अध्ययनरत १२० जना छात्रालाई महिनावारी स्वास्थ्य तथा सरसफाइ सम्बन्धी प्रशिक्षण प्रदान गरी पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरिएको थियो । वितरण गरिएका प्याडहरूको कुल बजार मूल्य करिब रु. १ लाख ८० हजार बराबर रहेको र ती प्याड दुई वर्षसम्म सुरक्षित रूपमा प्रयोग गर्न सकिने जानकारी एमएचएम प्रोजेक्ट अफिसर निथोइ विकले दिएकी छिन् ।
यसैगरी अर्नाकोट सामुदायिक स्वास्थ्य इकाइको कार्यालयमा जेठ दिन करिब ४५ जना महिलालाई ३ दिने हस्तनिर्मित कपडाको पुनः प्रयोगयोग्य महिनावारी प्याड सिलाउने तालिम प्रदान गरिएको थियो । कार्यक्रममा अर्नाकोट मावि खल्बाङ, अर्नाकोट मावि देउराली, भुजी महाविर आधारभूत विद्यालय चौरका महिला शिक्षक, अर्नाकोट सामुदायिक स्वास्थ्य इकाइका स्वास्थ्यकर्मी तथा गाउँ आसपासका महिला तथा महिला अपाङ्गताको उत्साहजनक उपस्थिति रहेको कुरा प्रमुख प्रशिक्षक तथा एमएचएम अफिसर जिथोई विकले बताएकी छिन् । कार्यक्रम निकै प्रभावकारी रहेको र यसले महिलामा सीप विकास हुनु र वातावरणीय संरक्षण पनि हुने कुरा सहभागि उषा कुँवरले बताएकी थिइन् । एमएचएम प्रोजेक्ट अफिसर निथोइ विकका अनुसार महिलाहरूको उत्साहजनक सहभागितासहित सम्पन्न उक्त तालिममा प्रशिक्षकको रूपमा निथोइ विक, पार्वती गुरुङ र दुर्गा थापा सहभागी थिए ।


