मलाई हिमाल नै प्यारो

Byआहा सञ्चार

२०८३ बैशाख २९, मंगलवार १०:४३ गते

हरि जिज्ञासु

नेपालको वर्णन जति गरे पनि कम हुन्छ । अझ उच्च हिमाली बस्ती, सेताम्मे हिमाल र त्यहाँको शान्त वातावरणको वर्णन गर्नु त झन् कठिन कुरा हो । म नाथेले ती विशाल हिमशृङ्खलाको सौन्दर्यलाई शब्दमा कसरी उतार्न सकुँला र ? तर यति चाहिँ निर्धक्क भन्न सक्छु, मलाई हिमालको छेउमा पुग्नुमै गर्व लाग्छ । काठमाडौँको कोलाहल, धुवाँधुलो र भीडबाट टाढा भएर हिमालको काखमा पुगेर केही समय सुस्ताउनुको मज्जा नै बेग्लै हुन्छ ।

त्यहाँ पुग्दा मन हलुका हुन्छ, आत्माले शान्ति पाउँछ । त्यसैले त यो नेपाल संसारकै सुन्दर देश लाग्छ मलाई । गत वर्ष मैले विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविर सम्मको यात्रा गर्ने अवसर पाएँ । पाँच हजार तीन सय चौसट्ठी मिटर उचाइमा पुग्दा शरीर थाकेको थियो, तर मन उत्साहित थियो । त्यहाँ भेटिएका आइसफल डाक्टर र धेरै पटक सगरमाथाको चुचुरो टेकिसकेका शेर्पा दाइहरूको कथा सुन्दा मलाई पनि लागिरहेको थियो,“एक दिन म पनि सगरमाथाको टुप्पोमा पुग्छु होला ।” तर मनको लड्डु घिउसँग खाने त हो नि । सपना देख्न सजिलो हुन्छ, पूरा गर्न भने संघर्ष चाहिन्छ । त्योभन्दा अघिल्लो वर्षको यात्रा झन् विशेष रह्यो । उत्तरी गोरखाको मनास्लु क्षेत्र हुँदै पाँच हजार एक सय छ मिटर उचाइको लार्के पास पार गरेर मनाङको भीमथाङ हुँदै लमजुङ झरेको बाह्र दिने यात्राले मलाई जीवन बुझ्ने नयाँ दृष्टिकोण दियो । चौँरीका बथान, हिमाली जनजीवन, स्थानीयको आत्मीयता र उनीहरूको संघर्षले मलाई धेरै कुरा सिकायो । मैले त्यतिबेला महसुस गरेँ,यात्राले सिकाउने पाठ कुनै किताबले सिकाउन सक्दैन । सायद बाल्यकालदेखि नै हिमालसँग मेरो सम्बन्ध गाँसिएको थियो । बाबासँग यार्सागुम्बा खोज्न डोल्पाका हिमालहरूमा पुगेका ती दिनहरूले मेरो मनमा हिमालप्रतिको प्रेम गहिरो बनाइदिएछन् ।

त्यसैले होला, आज पनि हिमाली गाउँ, चौँरीका बथान र त्यहाँका बालबालिका देख्दा मन भित्रैदेखि तानिन्छ । मलाई विशेषगरी हिमाली जिल्लामा अध्ययन गरिरहेका भाइबहिनीहरूको संघर्षले छोएको छ । त्यसैले सकेजति उनीहरूको शिक्षामा सहयोग गर्न मन लाग्छ, र गरिरहेको पनि छु । यसपटक मनाङको अन्नपूर्ण माध्यमिक विद्यालय मा अध्ययनरत भाइबहिनीहरूलाई स्कुल ब्याग र स्टेशनरी सामग्री वितरण गर्ने अवसर पाएँ । यसको समन्वय गरिदिनुहुने चोल्पा गुरुङ प्रति म विशेष आभारी छु । जापानमा रहनुहुने माया दिदीले पनि बालबालिकाको लागि सहयोग गर्नुभएको थियो । साँच्चिकै, दिने मन हुनेहरू धन्य हुन्छन् । नयाँ वर्ष २०८३ मा मैले विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल पुग्ने योजना बनाएको थिएँ । त्यसका लागि मैले धेरै अध्ययन गरेँ । युट्युब, फेसबुक, वेबसाइट, यहाँसम्म कि च्याटजिपिटीसमेत प्रयोग गरेर तिलिचोको बारेमा बुझ्ने प्रयास गरेँ । जति बुझ्दै गएँ, त्यति लाग्दै गयो, “यो ठाउँ जीवनमा एकपटक त पुग्नैपर्छ ।” जब मनाङ पुगेँ, तब मात्र बुझें किन त्यसलाई “हिमालपारिको जिल्ला” भनिन्छ भनेर । चारैतिर अग्ला हिमालले घेरेको त्यो भूगोल साँच्चिकै अर्कै संसारजस्तो लाग्दोरहेछ । त्यहाँ पुगेपछि थाहा भयो, हामी साँच्चिकै हिमालपारि पुग्दा रहेछौँ । मनाङ असाध्यै सुन्दर छ । ब्लु लेक, ग्रीन लेक, तिलिचो ताल र अग्ला हिमशृङ्खलाहरूले त्यो भूभागलाई प्रकृतिको अनुपम उपहार बनाइदिएका छन् । त्यसैले त संसारभरका पर्यटक त्यहाँ पुग्छन् । कोही साहस खोज्न, कोही शान्ति खोज्न, र कोही आफ्नै मनको भारी बिसाउन । म पनि त्यही भीडको एउटा साधारण यात्री थिएँ । तिलिचो पुग्ने क्रममा खाङ्सार गाउँ, श्रीखर्क र पुलडाँडाको यात्रा अझै सम्झनामा ताजै छ । पुलडाँडामा रहेको हेभेन रेस्टुरेन्टबाट देखिने हिमालका दृश्य साँच्चिकै मनमोहक थिए । त्यहाँ बसेर तातो कफी पिउँदै हिमाल हेरेको क्षण अहिले पनि सम्झँदा मन आनन्दित हुन्छ । स्थानीय काल्छा छिरिङ गुरुङ, जसलाई कर्म गुरुङ भनेर पनि चिनिँदो रहेछ, पर्यटनप्रति निकै चासो राख्नुहुँदो रहेछ । उहाँसँगका कुराकानीले पनि मनाङलाई अझ नजिकबाट बुझ्ने अवसर मिल्यो । तर तिलिचो पदमार्गमा केही सुधार गर्नुपर्ने पक्षहरू पनि देखेँ । व्यवस्थित डस्टबिनको अभाव थियो । खाल्डो खनेर बनाइएका डस्टबिनबाट फोहोर हावाले उडाएर बाटोभरि छरिएको देख्दा नरमाइलो लाग्यो ।

यति सुन्दर ठाउँलाई अझ सफा र व्यवस्थित बनाउन सके कति राम्रो हुन्थ्यो भन्ने लागिरह्यो । करिब चार हजार एक सय पचास मिटर उचाइको तिलिचो आधार शिविरको बसाइ जीवनकै विशेष अनुभवमध्ये एक बन्यो । चिसो हावा, हिमाली जीवनशैली र रातको निस्तब्धताले मनलाई अर्कै संसारमा पु¥याउँथ्यो । कहिलेकाहीँ लाग्थ्यो,“यहीँ बसिरहुँ ।” तर हिमाली जीवन त्यति सजिलो कहाँ रहेछ र ? एकैछिनमा हिउँ पर्न थाल्छ, अत्यधिक चिसोले जनजीवन कठिन बनाइदिन्छ । हामीजस्ता घुमन्तेहरू त्यहाँ सधैँ बस्न सक्दैनौँ । तिलिचो तालतर्फको यात्रा झन् रोमाञ्चक रह्यो । अधिकांश पर्यटक बिहान तीन बजे नै निस्किँदा रहेछन् । म भने आफ्नो बानीअनुसार बिहान पाँच बजे मात्र उठेर हिँडेँ । मौसम बिग्रिएको थियो । मनमा डर थियो, सायद ताल देख्न पाइँदैन कि ! बाटोमा भेटिएका नेपाली तथा विदेशी साथीहरूसँग कुरा गर्दै अघि बढ्दा यात्रा रमाइलो बनिरहेको थियो । बिहान करिब नौ बजेतिर तिलिचो ताल पुगियो । त्यतिबेला मौसम केही खुल्यो । पुरै हिउँले ढाकिएको ताल देख्दा केही क्षण म निःशब्द भएँ । तालको निलो पानी देखिएन, छुन पनि पाइएन ।

तर सेताम्मे हिउँले छोपिएको त्यो दृश्य पनि कम अद्भुत थिएन । त्यहाँ उभिँदा मनभित्र अनौठो आनन्द र शान्ति महसुस भयो । जीवन धेरै छोटो छ । आफूलाई मन लागेको ठाउँ पुग्नुपर्छ भन्ने कुरा मैले यात्रामा धेरैपटक महसुस गरेको छु । बाटोमा भेटिएका एक नेपाली दाइले भन्नुभएको थियो, “युवा अवस्थामै नेपाल घुमेर सक भाइ, बुढेसकालमा चाहेर पनि सकिँदैन ।” त्यो वाक्य आज पनि मनमा गुञ्जिरहन्छ । धेरैले मलाई सोध्छन् “यति धेरै घुम्न पैसा कहाँबाट आउँछ ?” तर जब हिमालप्रति प्रेम हुन्छ, तब पैसा सामान्य लाग्दो रहेछ । सगरमाथा आधार शिविर पुग्दा मैले बाह्र दिनमा सत्तरी हजारभन्दा बढी खर्च गरेको थिएँ । तर त्यहाँ पुगेपछि मलाई कुनै पछुतो भएन । किनकि मैले पैसाभन्दा ठूलो कुरा बटुलेको थिएँ, अनुभव, सम्झना र जीवन बुझ्ने दृष्टिकोण । पैसा फेरि कमाउन सकिन्छ, तर ती क्षणहरू फेरि फर्केर आउँदैनन् । साँच्चिकै, नेपाल असाध्यै सुन्दर छ । त्यो सुन्दरता महसुस गर्न हिमालतिर पुग्नैपर्छ । त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ,किन हिमालले मानिसलाई बारम्बार बोलाइरहन्छ । सायद त्यसैले होला, मलाई हिमाल नै प्यारो लाग्छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...