जनयुद्ध र रुकुमको माओवादी

Byआहा सञ्चार

२०८० फाल्गुन २, बुधबार २०:२६

उपेन्द्रलाल कामी

विषय प्रवेश
नेपालको राजनीतिक इतिहासमा राज्य र सामाजिक परिचालनको निरन्तरतामा निकै ठुलो क्रमभंग गर्नेगरि २०५२ फाल्गुन १ गते तत्कालिन ने.क.पा (माओवादी) को नेतृत्वमा जनयुद्धको शुरुवात भयो । जनयुद्धको उद्गम स्थल रुकुमको आठबिसकोट राडी प्रहरी चौकीमाथि आक्रमण गरेर २०५२ देखि २०६२ सालसम्म सशस्त्र युद्धको नेतृत्व गरेको माओवादीले शान्ति प्रकृयादेखि यहाँसम्म आइपुग्दा कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने कुराको त्यति चर्चा गरिरहनु पर्दैन । जनयुद्धको पक्ष–बिक्षमा रहेर जतिपनि बहस गर्न सकिन्छ र माओवादी जनयुद्धको नकार र सकार पाटोमा समिक्षा हुनसक्छ तर चाहेर पनि ऐतिहासिक एवं युगान्तकारी राजनीतिक घटनाक्रमलाई उपेक्षा गर्न सकिदैन । यस आलेखमा खासगरि रुकुममा माओवादी जनयुद्धको बेला भएका केही उल्लेखनीय घटना–प्रबृति, नेता–कार्यकथर्ता–योद्धाहरुको भूमिका र रुकुमको माओवादीको वर्तमान अवस्थालाई संक्षेपमा चर्चा गर्न खोजिएको छ ।
(क) भावपुर्ण श्रद्धासुमन ! गहिरो समवेदना तथा हार्दिक सम्मान !
माओवादी जनयुद्धको शुरुवातदेखि युद्ध अबधिभर राज्यपक्षबाट मारिएका पार्टीका नेता, कार्यकर्ता,योद्धा र शुभचिन्तक नागरिकहरु (जसलाई शहीद घोषणा गरिएको छ ।) र बिद्रोही पक्षबाट मारिएका निर्दोष ब्यक्तिहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । साथै शहीदका परिवारजन तथा बेपत्ता योद्धाहरुको परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै क्रान्तिको निम्ति भनेर गरिएको बलिदानको उच्च सम्मान गर्दछु । घाइते योद्धाहरु, द्वन्दपीडित नागरिकहरुप्रति पनि मेरो सहानुभूति छ । तत्कालिन राज्य र विद्धोही द्धन्द्धरत पक्षहरुमा मर्ने मारिने भनेका सर्व साधारण, उत्पीडीत वर्ग, समुदायका छोराछोरी नै थिए । जसले न्याय ,समानता, स्वतन्त्रता सहितको मुक्तिको सपना देखेर नै हाँसी–हाँसी वीरगति प्राप्त गरेका थिए भने राज्य पक्षका मृतकका सेना प्रहरीहरु पनि आफ्नो ड्युटी निर्वाह गर्ने क्रममा इमान्दारपुर्वक लडेरै वीरगति प्राप्त गरेका थिए । जसको हामीले साझा ढंगले सहि मूल्याङ्कन गरेर उच्चसम्मान गरिनु पर्दछ ।

(ख) माओवादी जनयुद्धभित्र रुकुममा भएको क्षति
माओवादी जनयुद्धमा के कति क्षतिहरु भए भन्ने यकिन तथ्याङ्क शान्ति प्रकृयापछि गठन भएको नेपाल सरकार शान्ति मन्त्रालय मातहतको जिल्ला शान्ति समितिमा पनि राखिएको छैन होला । यहाँपनि मृतक, घाइते, बेपत्ता, बिस्थापित, सम्पति ध्वंस आदि रेकर्ड राख्दा राहत पाएकाहरुलाई मात्र आधार मानेर राखिएको छ । जुन राहत पाउनेहरु कतिपय गैरद्वन्दपीडितहरु पनि छन भने धेरैजसो वास्तविक द्वन्दपीडितहरुले राहत पाउन सकिरहेका छैनन । केहि चर्चित घट्नाहरु उल्लेख गर्नुपर्दा रुकुममा तत्कालिन राज्यपक्षबाट घटाइएका चर्चित घटनाहरुमा, पीपलको मैलगैरीमा भएको ६ जना खत्री बन्धुहरुको सामुहिक हत्याकाण्ड, खारा आगजनी सहितको सामुहिक हत्याकाण्ड राष्ट्रिय स्तरमै त्यसबेला चर्चित भएका घटनाहरु हुन भने माओवादीका नेता,कार्यकर्ता र शुभचिन्तक जनताहरुलाई गिरफ्तार गरेर हत्या गरिएका दर्दनाक घटनाहरु रुकुममा सयौं छन्, जसलाई यो छोटो लेखमा समेट्नै सकिदैन । बिद्रोही माओवादी पक्षबाट रुकुममा गरिएका फौजी आक्रमणहरु मध्येका चर्चित घटनाहरु महतको प्रहरी चौकी आक्रमण गरेर डि.एस.पि. ठुले राइलाई माओवादीले गरेको अपहरण, रुकुमकोटको प्रहरी चौकी आक्रमणमा ३२ जना प्रहरी र ८ जना जनमुक्ति सेनाले ज्यान गुमाउनु परेको घटना, खाराको सतीपोले सैन्य क्याम्पमाथि माओवादीले २ पटकसम्म गरेको असफल आक्रमणमा ठुलो संख्यामा दुबैतिर भएको मानवीय क्षति यि घट्नाहरु राष्ट्रिय राजनीतिमै प्रभाव पार्ने चर्चित घटनाहरु हुन भने साना प्रहरी चौकी आक्रमण र बिभिन्न स्थानहरुमा भएका एम्बुस र दोहोरो भिडन्तका घटनाहरु रुकुममा दर्जनौं भएका छन । त्यतिमात्र होइन बिद्रोही माओवादी पक्षबाट फरक बिचार राख्ने पार्टीका नेता कार्यकर्ताहरुलाई सुराकी गरेको र जनबिरोधि क्रियाकलाव गरेको अभियोगमा भौतिक सफाय गरिएको भनि हत्या गरेका घटना मध्य ने.क.पा.(एमाले) का नेता यदु गौतम, नेपाली काँग्रेसका पुर्व जि.बि.स सभापति हरिभक्त ओली, गणेश शाह लगायत दर्जनौको संख्यामा हत्या गरिएको छ भने कुटपीट र अंगभंग हुनेहरु सयौंको संख्यामा रहेका छन् । राज्य र बिद्रोही माओवादी पक्षबाट जतिबेलापनि आक्रमणको खतरा हुने डरले सदरमुकाम, शहर र भारततिर बिस्थापित हुनेहरु द्वन्दकालमा रुकुम जिल्लामा सयौंको संख्यामा रहेका थिए । अरबौं रकम बराबरको भौतिक संरचना र सम्पतिको क्षती रुकुम जिल्लामा भएका छन् ।

(ग) शान्ति प्रकृयापछि रुकुममा भएका केही महत्वपूर्ण उपलब्धी
माओवादी जनयुद्धको उद्गम स्थल रुकुम, रोल्पा, जाजरकोट जस्ता राज्यले उपेक्षा गरेका क्षेत्रहरुलाई बिशेष प्राथमिकता दिनुपर्छ भन्नेकुरा राष्ट्रिय स्तरका सबै राजनीतिक पार्टीहरु र राज्यलाई गहिरो अनुभूति हुनेगरि ध्याकर्षण गराउन जनयुद्धले नै मान्यतालाई स्थापित गरिदियो । फलस्वरुप शान्ति प्रकृयापछि गठन हुने प्रायः संघ र प्रदेश सरकारमा रुकुमका माओवादी नेताहरु बिभिन्न मन्त्रालयका मन्त्री बन्ने अवसर प्राप्त गरेका छन् । जसमध्ये जनार्दन शर्मा (पुर्व शान्ति, गृह तथा अर्थ मन्त्री), लोकेन्द्र बिष्ट मगर (पुर्व स्वास्थ्य तथा पर्यटन मन्त्री), कमला रोका (पुर्व खेलकूद मन्त्री) गणेशमान पुन (पुर्व बाणिज्य तथा आपूर्ति मन्त्री), दलजित सिर्पाइली (पुर्व खेलकूद मन्त्री) राजकुमार शर्मा (हाल कर्णाली प्रदेश मुख्य मन्त्री) लगायत संघीय सांसद, प्रदेश सांसद, मन्त्री, जिल्ला तथा पालिका प्रमुख, उपप्रमुख, आदि जननिर्वाचित राजकीय पदमा रहेर सेवा–सुबिधाहरु प्राप्त गर्ने अवसर जनयुद्धमा सहभागी भएकै कारण प्राप्त गरेका छन् । सरकारमा रहँदा वा राज्यको नीति तथा बजेट निर्माण गर्ने स्थानमा पहुँच राख्दा बिकास निर्माण योजनाका बजेटहरु पनि रुकुम जिल्लामा धेरै ठुलो पैमाना भित्तयाउन सफल भएका छन् । यद्देपी ति बजेट रकमहरुको कत्तिको सदुपयोग गरियो भन्ने कुराको राम्ररि लेखाजोखा गर्न आवश्यक छ । पुर्वाधार बिकासमा सडक, बिद्युत, सञ्चार प्रायः रुकुमका सबै पालिकासम्म पुगेका छन् भने बाँकी केही वडाहरुसम्म पु¥याउन क्रमागत योजना र बजेटको ब्यवस्था गरिएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी प्रायः सबै वडासम्म पुगेका छन् । पर्यटन बिकास, सहरी बिकासका गुरुयोजनाहरु बनेका छन् । लगायतका कामहरु माओवादी जनयुद्धपद्धि रुकुममा भएका उल्लेखनीय उपल्धीमुलक बिषय हुन ।

(घ) राष्ट्रिय राजनीतिको रुकुममा प्रभाव र कमजोर बन्दै गएको माओवादी
माओवादी नेतृत्वले जनयुद्धको बिसर्जन गरेर शान्ति प्रकृयामा आइसकेपछि पार्टीभित्र चलिरहेको चर्को अन्तरसंघर्ष र भाँडभैलोले पार्टी नै बिभिन्न टुक्रामा बिभाजन हुने अवस्था आएपछि रुकुमको माओवादीमा पनि त्यसको प्रत्यक्ष असर परिरहेको छ । शुरुका दिनहरुमा पार्टीको केन्द्रीय हेडक्वाटरलाई ठुलो आड भरोसा दिने रुकुमका शिर्ष नेताहरु मध्य निष्ठा, आदर्श र फौजी कमाण्डका बिशेषता भएका लोकेन्द्र बिष्ट पार्टी छोडेर ब्यवसायिक कृषि कर्ममा छन् भने पार्टीमा दर्शनशास्त्र, बिचार र राजनीतिमा राम्रो दखल राख्ने नेताको रुपमा परिचित हेमन्तप्रकाश ओली प्रचण्डको पार्टी छोडर अहिले ने.क.पा.(बहुमत) गठन गरेका छन् । तीन शिर्ष नेता मध्य पार्टीभित्र कुटनीतिक, कार्यनीति र सरकार संयन्त्र परिचालनमा बिशेष क्षमता भएका जनार्दन शर्मा (प्रभाकर) मात्र रुकुम (पश्चिम) को माओवादीभित्र एकछत्र रजाइँ गरिरहेका छन् । पार्टीका अन्य नेताहरुमा कोही बाबुराम भट्टराइको बिचारमा, कोही ने.क.पा.(एमाले), काँग्रेस, रा.स्व.पा. लगायतका पार्टीमा प्रवेश गरेर क्रियाशिल भइरहेका छन् । जसले गर्दा गत २०७४ सालको स्थानीय तहमा रुकुम(पुर्व) र रुकुम (पश्चिम) को ९ वटै पालिकाहरु जितेकोे माओवादी २०७९ को स्थानीय तहको चुनावमा रुकुम(पश्चिम)मा ४ वटा पालिकामा मात्र जित्न सफल भयो भने रुकुम (पुर्व) मा माओवादीले संघ बाहेक २ वटा निर्वाचन क्षेत्रका प्रदेशमा पार्टीको उपस्थिति गुमाउनु प¥यो । यो माओवादी पार्टीको रुकुममा ओरालो लाग्दै गरेको वर्तमान अवस्था हो ।

उपसंहार

माओवादी जनयुद्धको दुखद अवसान र रुकुममा माओवादी पार्टीको आफ्नै कमजोरीको कारणले ओरालो यात्रा हुदै गइरहेको भए ता पनि नेपालका ठुला राजनीतिक पार्टीहरु ने.क.पा.(एमाले), नेपाली कााग्रेस लगायत नयाँ उदयीमान राजनीतिक दलहरुले एउटा स्वीकार्नैपर्ने तथ्य के हो भने जनयुद्धको बैचारिक नेतृत्व, सांगठनिक परिचालन तथा ब्यवस्थापन माओवादीले गरेको भएता पनि क्रान्तिको सपना देखेर बिना तलब निस्वार्थ भावले अहोरात्र खट्ने र त्याग, तपस्या, बलिदानीको किर्तिमान कायम गर्ने भनेका आधारभूत वर्ग समुदायबाट आएका जनताका होनहार छोराछोरीहरु नै भएकोले राजनीतिक पुर्वाग्रहको चस्मा फालेर मुक्तकंण्ठले सम्मान गर्नसक्नुपर्छ ।

इतिहासको सहि मूल्याङ्कन र बिश्लेशन गर्न सकेमात्रै भविष्यको सहि गन्तब्य पहिल्याउन सकिने छ । माओवादी पार्टीका इमान्दार र बिभिन्न अवसरबाट बञ्चित नेता–कार्यकर्ताहरुले मनमा निकै ठुलो पीडा र असन्तुष्टिको भारी बोकेर सकि–नसकी बाध्यताले राजनीतिक यात्रामा हिरहेको स्थिति छ । माओवादी जनयुद्धको गाडी दुर्घटनाबाट बाँचेका नेता–कार्याकर्ताहरुलाई सम्हाल्ने सही राजनीतिक पार्टी र बैचारिक नेतृत्वको आवश्यकता छ । त्यो आवश्यकता पुरा गर्न नेपालको बाम–लोकतान्त्रिक चरित्र बोकेको पार्टी ने.क.पा.(एमाले) ले प्रभावकारी ढंगले पहलकदमी लिन जरुरी देखिन्छ । त्यसको लागी ने.क.पा.(एमाले) पार्टीका नेता, कार्यकर्ताहरु निकै फराकिलो साेंच बनाएर इतिहासको सम्मान गर्दै बैचारिक बहस–छलफलमा क्रियाशिल बन्नुपर्ने हुन्छ र पार्टीमा आउने साथिहरुलाई उचित जिम्मेवारी दिएर परिचालन गर्नुपर्ने हुन्छ । माओवादी जनयुद्धको सकारात्मक उर्जाको कडीलाई रुकुममा ने.क.पा.(एमाले)ले जोड्न सक्यो भने आगामी दिनमा एमालेको राजनीतिक बिजय यात्रालाई कसैले पनि रोक्नसक्ने छैन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto