हरिविष्णु ओली,
पूर्व उपमहासचिव,पब्लिक क्याम्पस प्राध्यापक संघ,नेपाल
(उपप्राध्यापक,मध्यपश्चिम विश्वविद्यालय)
मध्यपहाडी लोकमार्गले छोएका गाउँवस्तीमा विकासको ढोका खुल्दैछ । आर्थिक अवस्थामा सुधार आउँदैछ र नागरिकमा आशाको दियो बालेको छ । यो नेपालको मध्य पहाडी क्षेत्रमा बनेको एक ठूलो लोकमार्ग हो जसले देशको पश्चिमबाट पूर्व, तराई भन्दा माथि जाने राजमार्गलाई जोडेको छ । यो मार्गले मध्य पहाडी क्षेत्रमा रहेका गाउँहरू र नगरहरूलाई विशेष बनाएको छ । यस लोकमार्गले नेपालको ग्रामीण अर्थतन्त्रमा अनेक लाभहरू लिएर आएको जनअनुभूति रहेको छ ।
व्यापार र वाणिज्यिक गतिविधिहरू बढेको छ । लोकमार्गबाट उत्पन्न हुने स्थानीय सामाग्रीहरूले विभिन्न वाणिज्यिक गतिविधिहरूमा वृद्धि भएको छ । उत्पादनमा सुधार हुँदा बिक्रीमा बढोतरी भएको छ । गाउँ समाजको आम्दानी वढेको छ । यो मार्गले समृद्धि हुने विभिन्न क्षेत्रमा रोजगार सृष्टि गरेको छ । सडक निर्माण, रेलिङ, होटल, रेस्टुरान्ट, ग्यारेज, आदि विभिन्न क्षेत्रमा लोगहरूलाई रोजगारी दिएको छ ।
यस लोकमार्गका कारण शिक्षा र स्वास्थ्यमा पहँच बृद्धि भएको छ । जस्ले गर्दा स्कूल र कलेजहरु सहज पठनपाठनका माध्यम भएका छन् । अस्पतालहरूलाई सुधार गर्ने सहारा मिलेको छ । विरामीहरुलाई तत्काल उद्धार गर्न सकिएको छ । कृषकहरूको उत्पादन सजिलै वजारमा पुगेको छ । खेती र पशुपालनमा सुधार आएको छ ।
केही वर्ष अघिसम्म रुकुम पूर्वको खाबाङी बगर दुर्गम बस्तीमा गनिन्थ्यो । त्यहाँका स्थानीयलाई सरकारी कामको लागि पुग्नैपर्ने सदरमुकाम आउन समेत हप्तादिन बढी समय खर्चिनु पर्ने बाध्यता थियो। खर्चको त कुरै नगरौं, आम्दानी नभएको ती बस्तीका नागरिकका लागि हजारौ खर्च गर्नु पर्ने विवशता थियो । आउजाउका लागि सवारी साधन त के समान वोक्ने खच्चड देख्न पनि महिनौसम्म पर्खिनु पथ्र्यो । स्थानीयलाई आवश्यक खाद्य सामाग्री वोकेर आउने खच्चड पनि पालो मिलाएर मात्रै महिनामा आक्कल झुक्कल गाउँतिर आउथे । दुर्गम वस्तीहरु लुगुम, तकसेरा, हुकाम, मैकोट, कोल, राङसी आसपासका बासिन्दाको दैनिक साह्रै कष्टप्रद थियो ।
तर पछिल्ला केही वर्षयता यहाँको अवस्था फेरिएको छ । घोडा खच्चड हिड्ने गोरेटो बाटो पिच भएको छ । सडकमा दैनिकै सयौ सवारी साधन कुद्न थालेका छन्। । हप्ता दश दिन लगाएर सदरमुकाम पुग्ने गाउँलेहरु आजकाल दुई घण्टामै रुकुम पूर्वको सदरमुकाम रुकुमकोट र चार घण्टामै रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगा बजार पुग्ने गर्दछन् । गाउँमा आउजाउ पनि बढेको छ ।
स्थानीय रुपमा उत्पादन हुने जौं, कोले, आलु, कोदो, फापर विक्री हुन थालेको छ । घरमा पालिएका दुई चार वटा गाई, भैंसी, बाख्रा,भेडा बेचेर स्थानीयले आम्दानी गर्न थालेका छन्। गाईवस्तुको दुध र घिउ अर्गानिक ब्राण्ड बन्दै माग बढेको छ । कष्टकर दैनिकी विस्तारै सहज बन्दै गएको छ । अध्यारा जीवन उज्याला बन्दै आएका छन्। । रुकुमकोट उद्योग बाणिज्य संघका अध्यक्ष केविन्द्र गौतम भन्नुहुन्छ, ‘मध्यपहाडी बाटोले त हाम्रो कायालपलट नै गरिदिएको छ । रुकुमकोट नमुना शहरमा परेको छ । घडेरी व्यापार ह्वात्तै वढेको छ । ठुल्ठुला होटेलहरु खुलेका छन् ।’
बटाहरु पिच भएपछि गाउँ विद्यालय र स्वास्थ्य चौकीहरुमा पनि राम्रा शिक्षक र स्वास्थ्यकर्मी आउन थालेका छन्। शिक्षाको उज्यालो र स्वस्थ जीवन बाँच्नको फाईदा स्थानीयले थाहा पाउन थालेका छन्। पूर्वी रुकुम र बागलुङ निसीको सिमानामा रहेको उराठ पातीहाल्ने डाँडो पर्यटकीय क्षेत्र बन्दै गएको छ । त्यही डाँडोमा रहेको तिलाचन ताल हेर्न अहिले सयौं मान्छे आउन थालेका छन्। । भूमे गाउँपालिकाका पूर्व प्रमुख रामसुर वुढामगर भन्नुहुन्छ, ‘बाटोको सहज पँहुचले मात्रै पनि यति धेरै परिवर्तन हुँदो रहेछ भन्ने कुरा अहिले आएर गाउँलेले पुरै अनुभूति गरेका छन् ।’
हुन पनि हो त्यहाँका ब्याँसी र भीरमा त्यसरी गाडी गुड्लान र त्यही गाडीमा आफु पनि चढ्न पाईएला भनेर त स्थानीयले कहिल्यै कल्पना गर्न सकेकै थिएनन्। अझ वाटोले संगै लिएर आउने परिवर्तनको सपना देख्ने त परको कुरा भयो नै। अहिले त्यहाँका पिच सडकमा दैनिक कुद्ने सवारी साधनमा नै स्थानीयले आफ्नो सुन्दर भविष्य देख्न थालेका छन्। । नेकपा एमाले रुकुम पूर्वका अध्यक्ष टोप बहादुर ओली भन्नुहुन्छ, “पिच सडकमा गुड्ने गाडीमा अहिले जनताले आफ्नो भविष्य खोज्न थालेका छन् र आशावादी पनि छन् ।”
दुर्गमका बस्तीमा खुशी दिने र भविष्य देखाउने मध्य पहाडी पुष्पलाल लोकमार्ग अहिले सवैको भरोसाको साथी बन्दैछ । बागलुङ पश्चिमको ढोरपाटन, निसी, वोहोरागाउँ, देवीस्थान, बुर्तिबाङ, भीमगिठे, ग्वालीचौर र रिघामा छोरी ल्याउ छोरी देउ चल्न थालेको छ । रुकुम पश्चिमको चौरजहारीवाट एउटा रात्री वस दैनिक रुकुम पूर्व,बाग्लुङ,पोखरा हुँदै काठमाडौ चल्न थालेको छ । मध्यपहाडी आसपासका गाउँहरु पनि सडक विस्तारसंगै आम्दानीमा जोडिन थालेका छन्। । यी गाउँवस्तीमा विकासको ढोका खुल्दैछ। आर्थिक अवस्थामा सुधार आउदैछ र नागरिकमा आशाको दियो बलेको छ।
हुन पनि पूर्वको पाँचथर चिवाभञ्ज्याङदेखि पश्चिमको बैतडीसम्मका नेपालीले पहाडी लोकमार्गको यात्रा गर्दा सिस्ने गाउँपालिकाको रुकुमकोटमा रहेको सुन्दर कमल ताल, मुसीकोटमा रहेको मुसी दरबार, रुकुम पश्चिम र जाजरकोटको सिमानामा पर्ने सानीभेरी र ठुलीभेरीको संगमस्थल रिम्ना दोभानको दृष्यावलोकन गर्न पाइन्छ । सिस्ने गाउँपािलकाका उपप्रमुख एवं नेकपा एमाले रुकुम पूर्वका सचिव गोपाल रेउले भन्नुहुन्छ, ‘रुकुमकोटमा रहेको असाध्यै सुन्दर कमलतालका कारण एक छाक खाना खाने,बास बस्ने र फोटो खिच्ने अवस्था सिर्जना भएको छ । यसले आर्थिक उपार्जन पनि भएको छ । भविष्यमा पर्यटन विकास गर्ने अवसर सिर्जना भई यहाँको समृद्धिको ढोका खोल्ने ठुलो संभावना देखाएको छ ।’ बाउन्न पोखरी र त्रिपन्न टाकुरीको जिल्ला भनेर चिनिएको रुकुम जिल्लामा अग्ला टाकुरा मात्रै होइन टप्पा र सिङारुको मौलिक साँस्कृतिक सम्पति पनि प्रसिद्ध रहेको छ ।
मध्य पहाडी पुष्पलाल लोकमार्गले जिल्लाको मात्रै होइन, कर्णाली प्रदेशको समृद्धिको यात्रालाई पनि संगै उजिल्याएको छ। यो प्रदेश देउडा संस्कृतिका साथै पर्यटकीय र आर्थिक विकासको संभावना बोकेको क्षेत्र हो । यस लोकमार्गले रुकुम पूर्व, रुकुम पश्चिम,जाजरकोट र दैलेखलाई नागबेलीमा चिरेर हिडेको छ । मध्यपहाडी लोकमार्गबाट प्रसस्त फाइदा लिन सकिने आधार रहेको नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवं अधिवक्ता रचना मल्ल भन्नुहुन्छ, ‘मध्यपहाडी लोकमार्गले कर्णाली प्रदेशका लागि समृद्धिको ढोका खोलेर आएको छ । यसको भरपूर उपयोग गर्न सकियो भने कर्णाली प्रदेशलाई सुनको डल्लो बनाउन सकिन्छ ।’
मुख्य मुख्य ठाउँ पहिचान गरेर अवलोकन स्थल निर्माण गरेर यात्री अडिने मार्गको रुपमा यसलाई विकास गरेर लैजाने छलफल भैरहेको दैलेखका समाजसेवी एवं एमाले नेता रुद्र शाहीले बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘मध्य पहाडी लोकमार्गले सवै क्षेत्रमा सम्भावना बोकेर आएको छ । हामी यसलाई उच्चतम उपयोग गरेर समृद्धिको यात्रामा लामवद्ध भएकाछौ । अछामको सिमानामा पर्ने दैलेखको राकम नयाँ शहर बन्दैछ । जुन साविक कर्णालीको प्रवेशद्धार हो । यो बजार बाट भारतीय मालसामान चीनतर्फ र चीनियाँ मालसामान भारततर्फ आयात निर्यात हुनेछ ।’
लोकमार्गका यी सवै सम्भावनालाई उजागर गरी समृद्धिको यात्रा अगाडि बढाउन नेकपा एमालेले अध्यक्ष केपी ओलीको नेतृत्वमा मंसिर १४ गतेदेखि झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्रा सञ्चालन गरी सकेको छ । नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाह भन्नुहुन्छ, ‘एमालेले दिर्घकालिन सोचका साथ अगाडि सारेको मध्यपहाडी लोकमार्गको महत्व दर्शाउन झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सञ्चालन गरिएको हो ।’
संकल्प यात्रामा स्थानीय जनतासंग संवाद गर्दै अगाडि बढेको थियो । मंसिर १७ गते दैलेख र अछामको सिमाना बजार दैलेखको राकम कर्णालीमा आमसभा, मंसिर १८ गते विहान जम्बुकाँध,चगत्रा र दुल्लुमा जभेटघाट,पेट्रोलियम पदार्थ उत्खनन स्थल र कहिलै ननिभ्ने श्रीस्थान ज्वालाको अवलोकन,मंसिर १८ गते दिउँसो प्रदेश राजधानी सुर्खेतमा आमसभा, मंसिर १९ गते जाजरकोट र रुकुम पश्चिमको सिमाना बजार रिम्नामा भूकम्प पीडित लगायतका सर्वसाधारणसँग अन्तरक्रिया गरी उदियमान शहर रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा बास र मंसिर २० गते विहानल ७ वजेदेखि कार्यालय प्रमुख,पार्टी कार्यकर्ता र सर्वसाधारणसँग भेटघाट, विहान १० बजे भुम्याको खाबाङबगर र ११ बजे लुगुममा जनतासँग भलाकुसारी गर्दै बाग्लुङ प्रस्थान गरेको एमाले रुकुम पूर्वका नेता नन्दलाल शर्माले बताउनुभयो । यसपटकको संकल्प यात्राले मध्यपहाडी लोकमार्गको दुरगामी महत्व र जनआकर्षण झनै बढाएको सुर्खेत बहुमुखी क्याम्पसमा प्राध्यापनरत डा.दीपक गौतमले प्रतिक्रिया दिनुभयो ।
![Siddhartha Auto](https://aahasanchar.com/wp-content/uploads/2024/11/aaha-dijital-final.jpg)