हरि जिज्ञासु
सुन्दर गाउँहरुमा पुग्नु र त्यहाँको परिवेश थाह पाउँनु मेरो बाल्यकालदेखिकै बानी हो । अझ मत हिमालको छेउमा जन्मेको मान्छे हुँ । त्यसैले पनि मलाई हिमाल हेर्न मन पर्छ । बाल्यकालमा एउटा गाउँबाट अर्को गाउँमा जात्रा हेर्न जाँनेक्रममा मैले मेरो आमाबाट धेरै पिटाई खाएको छु । अर्को गाउँको जात्रा हेर्न गएर नयाँ अनुभव बुटल्न चाहान्थे तर मेरो बुवा आमाले जानदिनुहुन्न थियो । किताबको ज्ञान भन्दा पनि अनुभवले पढ्न मन पराउँथेँ ।
बाल्यकालमा आमाबुवा विहान उठ्ने वित्तिकै मेलापात जानुहुन्थ्यो म विहान उठ्ने समयमा गाउँको सिस्ने हिमालमा घाम झुल्किएको हुन्थ्यो । त्यसैले पनि मलाई हिमाल हेर्न बानी परेको छ । गरिबिको कारण शरिरमा पातलो कपडा भएपनि हिउँदको महिना फुरुरु हिउँ परेको देख्दा मन असाध्यै खुसी हुन्थ्यो । राती पानी परेको थाह पाएपछि विहान उठ्ने वित्तिकै घरमाथिको लेकमा कहाँसम्म हिउँ पुग्यो भनेर हेर्न खुबै उत्सुकता जाग्थ्यो । हिउँ गाउँमा परोस् र हिउँ खेल्न पाउँ भन्ने बाल्यकालको चाहाना हुन्थ्यो ।

बाल्यकालमा म धेरै समयमा हिउँसँग खेलेको छु । हिउँले मेरो पैतला समेत फुटाएको छ । करिब ३५०० मिटर उचाईको झारमारे लेकमा परेको करिब १ फिट उचाईको हिउँ कुल्चेर मैले यात्रा गरेको छु । कहिले रहरले हिउँ खुल्चेको छु । कहिले कठिन बाध्यताले हिउँ कुल्चेको छु । उमेर बढेसँगै म मेरो बा सँग यार्सा टिप्न डोल्पा पुगेको छु । हिउँले छोपेका अनगिन्ति पाटनहरुमा मैले पाईला टेकेको छु । हिउँमाथि सुतेको छु । त्यसकारण मलाई हिमाल हेर्न मन लाग्छ र हिमाल पुग्न मन लाग्छ ।

समयले धेरै टाढा पु¥यायो । भविश्यको चाहानाले संधै हिउँ पर्ने र संधै हिमाल देखिने गाउँ छोड्न बाध्य बनायो । म जन्मेको घरको छानामा हिउँ परेको नदेखेको करिब १२ वर्ष वित्यो । गाउँका साथीहरु बाआमा हिउँमा रमाएको फोटो मात्र फेसबुककमा देखेको छु ।
यस वर्ष मलाई हिमाल हेर्न जान मन लाग्यो । दशैँ र तिहारको बिचमा उत्तरी गोरखाको गाउँ र त्यहाँको परिबेशको अध्ययन गर्ने कल्पना गरेँ । उत्तरी गोरखाको जनजीवन बुझ्न मेरो मनले आतुरी ग¥यो । त्यति टाढा जानुपर्ने छ त्यतिकै के जानु भन्ने लाग्यो । त्यहाँको एउटा स्कुललाई सहयोग गर्नुपर्छ भन्ने मनमा आयो । म आफूले त सहयोग गर्न सक्ने अवस्था थिएन तर पनि सहयोगी मन भएका व्यक्तिहरुसँग कुरा राखेँ । उत्साह नेपाली चर्च जापानका पास्टर चन्द्रकिरण खपाङ्गी सर, माया लामा दिदी र जेम्स राना सरसँग कुरा राखेँ । सहयोग गर्नको लागि उत्साह नेपाली चर्च परिवार तयारी हुनुहुभयो । उहाँशरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।

उत्साह नेपाली चर्च जापान परिवारले सहयोग गर्ने भएपछि उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँका वडा अध्यक्ष कर्म लामासँग समन्वय गरेर उत्तरी गोरखाको यात्रा गरेँ । सामागाउँको सरकारी स्कुलका विद्यार्थीहरुलाई झोला, कपि, कलम लगेर काठमाण्डौँको नयाँ वषपार्कबाट यात्रा गरेँ । गोरखाको माछिकोलासम्म गाडि जाँदोरहेछ । त्यसपछि सुरु हुँदारछन् फरक अनुभुतीहरु ।
बसमा लगेको सामान खच्चडमा बोकाउनु प¥यो । भनेको बेला खच्चड पनि नपाउँने । बाटोमा भेटिएका प्रिय साथीहरुले मलाई धेरै सहयोग गर्नुभयो उहाँहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । म एक अजिबको मान्छे हुँ । गाउँ हेर्न र नयाँ अनुभुती लिनको लागि साथी भएन भने म एक्लै पनि तयार हुन्छु । बाटोमा हिड्दै गर्दा भेटिए नयाँ साथीहरु । साथीहरुसँगै एक पहाड केटेपछि फेरि अर्को ठूलो पहाड भेटिए । अति प्रिय लाग्ने मेरा लागि नयाँ गाउँहरु भेटिए र नयाँ मान्छेहरु पनि ।

म बास्तवमा गाउँ हेर्न हिँडेको मान्छे । तर हिमाल हेर्न पुगेँ गोरखाको माछाखोलबाट दुई दिन हिडेपछि डेङ भन्ने गाउँमा पुगेँ । त्यसपछि सुरुभयो हिमालको चिसो । देखिन थाले अपरिचत हिमालहरु । टाढाबाटा देखिने हिमाललाई नै मैले हिमाल सम्झेर क्यामरा तेर्साएँ तर हिमाल आउन बाँकि नै थियो । तीन दिनको हिडाईँ पछि म नामरुङ गाउँ पुगेँ । त्यो दिनको बास् नामरुङ गाउँमा भयो । आहा क्या गजब नामरुङ गाउँ । त्यहाँको होटल ब्यवसाय लाक्पा लामा दाईले मिठो स्वागत गर्नुभयो । राष्ट्रिय समाचार समितिमा कार्यरत छु भनेपछि उहाँले पत्रकारिताको महत्व बुझ्नुभयो सम्झनायोग्य स्वागत गर्नुभयो ।

नामरुङबाट बिहान उठ्ने बित्तिकै हिँडेपछि हिमालहरु म सँग नजिकिन खोज्दै थिए । हिमालको चिसो हावाले म हिमाल पुग्दैछु भन्ने आभास बनाउन थाल्यो । धेरै वर्षपछि देखेकोले होला असाध्य प्रिय लाग्यो हिमाली जनजिवन । त्यो दिनभरी हिँडेर बेलुकीपख पुगेँ स्याला गाउँ । जो चुमनुम्रबी गाउँपालिका वडा नं. २ मा पर्छ । स्याला गाउँ पुगेपछि मलाई लाग्यो म हिमालले घेरेको गाउँमा आएको छु । गाउँमा चौँरीहरु चरिरहेका थिए । चारैतिर हिमालले घेरेको गाउँ रहेछ स्याँला गाउँ । त्यहाँ पुगेपछि जनप्रतिनिधि अर्थात पूर्व वडा अध्यक्ष पेम्बा रेता दाजुसँग भेट भयो । उहाँले बढो गजबको होटलमा रुमको व्यवस्था गरिदिनुभयो । होटलको माथिल्लो तलामा बसेको थिएँ । म बसेको रुममा दुईतीर झ्याल थियो । दुबैतिरको झ्लाबाट नजिकै हिमाल देखिन्थ्यो । लाग्दैथियो कि म हिमालको छेउमा सुतेको छु । आहा क्या दाम्मी । “विहान उठ्ने वित्तिकै हिमाल देख्न पाईयोस” भन्ने गीतको खुब याद आयो ।

बिहान उठ्ने वित्तकै आकास क्या मज्जाले खुलेको थियो । चारै तिर हिमाल देखियो । मलाई त लाग्दै थियो म स्वर्ग आएको छु । बाल्यकालमा हिउँ खेलको मान्छे धेरै वर्षपछि हिमालको छेउमा पुग्दा अच्चम नलाग्ने कुरै भएन । मज्जाले कफि पिउँदै हिमालको दृष्य क्यामरामा कैद गरेँ । पर्यटन व्यवसाय नभएको भए यहाँको जनजिवन कसरी चल्छ होला भन्ने मनमा खुलदुली पनि चल्यो । स्याला गाउँदेखि माथि गएपछि किरब तीन सय वर्ष पुरानो गुम्बा भेटिदोरहेछ । मलाई पनि त्यो गुम्बा हेर्न जान मन लाग्यो अनी गुम्बा हेररे सामागाउँ पुग्ने निधो गरेँ । गुम्बा भएको ठाउँमा जान करिब २ घण्टा लाग्यो । हिमालका दृष्यहरु अबलोकन गर्दै गुम्बा पुगेँ । आहा क्या गजब देखिदोरहेछ गुम्बाबाट मनास्लुु हिमाल । लाग्दै थियो हिम पहिरो आउँछ कि ? तर नजिक खोला भएकोले सम्भावना थिएन ।
पाँचौ दिनपछि म सामागाउँ पुगेँ । सामागाउँ वडा अध्यक्ष कर्म लामाको हाटेल रहेछ । त्यो दिन सामागाउँ नै बसेँ । अर्को दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग कुरा गरेर उत्साह नेपाली चर्च जापानले पठाएको सहयोग स्कुलमा बितरण गरेँ । विद्यार्थीहरु र शिक्षकहरु साह्रै खुसी हुनुभयो । हिमालले घेरको गाउँका भाइबहिनीहरुलाई सहयोग गर्न पाउँदा मलाई पनि निकै खुसी लाग्यो । त्यहाँ सहयोग गरेर काठमाण्डौँ फर्किनु भन्दा । करिब चार दिन यात्रा गरेर मनाङ पुगेर लमजुङ हुदै काठमाण्डौँ फर्कनु सजिलो हुँदोरहेछ । छैटौँ दिनमा सामागाउँबाट यात्रा गरेर अन्तिम गाउँ साम्दो गाउँमा पुगेँ । साम्बदो गाउँबाट चिनको सिमानामा पुग्न करिब २ घण्टा मात्र हिड्नुपर्दा रहेछ । त्यहाँका बासिन्दाहरुले चिनबाट समान धुवानी गर्दारहेछन् तर अहिले नाका बन्द छ । हिमालसँग त्यहाँको बासिन्दाहरु हाँसेपनि हिउँले जनजीवन कष्टकर बनाउँछ ।

साम्बादो गाउँ बास बसेपछि सातौँ दिनपछि पुगियो धर्मशाला । जहाँ गाउँ छैन । होटल व्यवसायीहरुले मात्र तीनवटा होटल सञ्चालन गरेका छन् । होटल भन्ने मात्र हो टिनको छाप्रो रहेछ । खाना खाएर टेन्टमा सुत्नुपर्छ । त्यहाँ पुगेको बेला हिउँ प¥यो । करिब १२ वर्षपछि मेरो शरिरमा हिउँ प¥यो । चारैतिरको हिमाल फूरुरु हिउँ परेकोले एउटा मनले खुसी थिए तर अर्को मनलाई चिसोले सताई रहेको थियो । पर्यटकहरुको आगमनले गर्दा व्यवस्थित तरिकाले सुत्न पाइएन । त्यहि दिन राती जाजरकोट र रुकुममा भुकम्प गएछ मलाई त पत्तो भएन । नेटवर्क नभएकोले दुई दिनसम्म सम्पर्कमा आउन सकेन ।
आठौँ दिनको बिहान ३ बजे उठेर धर्मशालाबाट यात्रा गरियो । ५ हजार १ सय ६ मिटर उचाईको लार्केपास गरेर मनाङ झर्नु थियो । बिहान विस्तारै मोबाइलको लाईट बालेर हिँडियो । अक्सिजनको कमी हुँदै थियो । बाटोमा भेटिने साथीहरु भएपनि नजिकको साथीहरु छैन । बिरामी भएँ भने त गाह्रो हुन्छ होला भन्ने चिन्ता पनि थियो । तर फेरि सोचेँ, म त बाल्यकालमा हिउँ खेलको र हिउँमा सुतेको मान्छे हुँ । खासै केहि हुँदैन । हुनु पनि केहि भएन । करिब १० वजे लार्केपास पुगियो ।

५ हजार १ सय ६ मिटर उचाईमा पुगेर हात हल्लाइयो । अनी अनुभुती भयो हिमाल हेर्नु र हिमाल पुग्नुमा फरक रहेछ । त्यसपछि लाग्यो म हिमाल पुगेको छु । अझै पनि मनास्लु बेस क्याम्प भन्दा माथि पुग्छु भन्ने आँट जाग्यो । करिब १ बजेतिर मनाङको भीमथाङ ओर्लीएँ । मनाङको भीमथाङबाट मनास्लुको स्वर्गीय दृष्य देखिदोरहेछ । मलाई ती हिमालको दृष्य र हिमाल भित्रका सुन्दर गाउँहरुको दृष्य देखेर लाग्दैथियो । बाँचुन्जेलसम्म देश हर्नेु पर्दोरहेछ । हिमाल हेर्नुपर्दोरहेछ । हामी विश्वको सर्वाेच्च शिखरको मान्छेहरु हौँ । विश्वलाई हिमाल देखाएर बाँच्नु पर्ने हो र देश विश्वसामु चिनाउनु पर्ने हो तर त्यसो छैन । आर्थिक अभावको कारण देशका मान्छेले देश घुम्न र हेर्न पाएका छैनन् । देश भनेको देश रहेछ । हिमाल भनेको हिमाल रहेछन् । म फेरि पनि एक पटक हिमाल हेर्न चाहान्छु । हिमाल पारीका गाउँ र हिमालले घेरको गाउँहरु मेरा लागि प्रिय छन् ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds