नवराज बुढा
विवाहको बिषयमा प्रवेश गर्नु अगाडि हामीले प्रेमको बिषयमा जान्न जरुरी छ । विवाहको पहिलो र अन्तिम रुप प्रेम हो । प्रेम मानव जीवनको भावनात्मक शब्द हो तर यसलाई एउटै परिभाषामा उल्लेख गर्न सकिदैन । प्रेम शब्दमा परिभाषित गर्न उचित पनि हुदैन । जसरी हावामा उडिरहेका फुलहरुको बास्ना÷सुगन्ध देख्न सक्तैनौ तर अनुभव चाहिँ गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो । प्रेम विभिन्न मानिसहरु फरक उमेर, विभिन्न सम्बन्धको लागि हुनसक्छ । जुन प्रेम आकर्षणबाट सुरु हुन्छ, त्यो क्षणिक हुन्छ । प्रेममा आकर्षण कम भएमा प्रेम लुप्त हुन्छ । जुन प्रेम सुख , सुविधा, सहजै, प्राप्त हुन्छ त्यो केही घनिष्ठ त भएको जस्तो देखिन्छ तर स्थायी उत्साह ,आनन्द र खुशी दिगो रूपमा मिल्दैन।प्रेम अनन्त हुन्छ।तपाईं प्रेमको नजिक जति जानुहुन्छ त्यति नै प्रेममा आकर्षित हुनुहुन्छ । प्रेम आकाश झै अनन्त छ जसको कुनै सिमा,तौल र नाप छैन । प्रेम हर कोहीले गर्छन् तर यसलाई बुझ्ने कमै भेटिन्छन् ।
सर्वप्रथम विवाह भनेको के हो ? विवाह कति प्रकारका छन ?सजातीय र अन्तरजातीय विवाहको समाजमा कस्तो प्रभाव वा प्रतिक्रिया आउने गर्दछ ? एक पति÷ पत्नी विवाह भनेको के हो ? बहु पति वा पत्नी विवाहको असर र हाम्रो समाजको परम्परा के हो ? दाइजो र स्त्री धनले हाम्रो समाजमा कस्तो समस्या निम्त्याउने गरेको छ ? वैवाहिक सम्बन्ध कस्तो खालको ? किन र कसरी सम्बन्ध बिच्छेद हुने गर्दछ ? नेपालमा विवाहका स्वरूपमा परिवर्तन किन भएको छ ? परिवार के हो ? परम्परागत र आधुनिक परिवारबिचका भिन्ननता के हुन ? पितृसत्तात्मक, मातृसत्तात्मक र द्धिसतात्मक परिवारमा कुन उपयुुक्त छन ? पितृ बंश, मात्री बंश र नवलोकल परिवार प्रणालीमा के भिन्नता देखिन्छ । नेपाली परिवारमा आएका परिवर्तन के के हुन ? श्रीमान श्रीमती बिचको सम्बन्ध कस्तो हुनुपर्छ ? पारिवारिक सम्बन्ध के कुरामा सफल र सुखी देखिन्छ ? वैवाहिक जीवन र समाजप्रतिको उत्तरदायित्वहरु कस्ता हुने गर्दछ ? किन समाजले विवाहको बारेमा चासो उमेर बढेसँगै राख्ने गर्दछन ? विवाह पश्चात् के समाजमा आशा विश्वास र जिम्मेवारी बढ्छ ? के शिक्षित र चेतनशील मानिसहरूले पारिवारिक जिम्मेवारीबाट हात धुने गर्दछन र ?
बिवाह भनेको दुई बिपरित लिंगप्रती पति र पत्नीको रूपमा एकै ठाउँमा उठबस गर्न दिइएको सामाजिक, धार्मिक र कानुनी मान्यता हो । बिबाहबाट भावनात्मक सम्बन्धलाई एक आपसमा साटासाट गरि जीवनलाई अगाडि बढाउन खोजिन्छ । कुनै पनि समाजमा विवाहपछि मात्र पुरुष र महिला श्रीमान र श्रीमतीको सम्बन्ध स्थापित हुन्छ । त्यसपछि मात्र धार्मिक, कानुनी र सामाजिक रूपमा यौन सम्बन्धको औपचारिक मान्यता हुने गर्दछ । हुन त विवाहको बारेमा धेरै विद्धानहरुले आ–आफ्नो परिभाषित गर्ने गरेका छन । संसारका सबै समाजको प्रतिनिधित्व गर्ने परिभाषा नै माथी उल्लेखित गरिएको परिभाषा हो । नेपालको मुलुकी देवानी संहिता २०७४ अनुसार “धार्मिक, सामाजिक, रीतिरिवाज , चालचलन,अनुसार लोग्ने स्वास्नी हुन पाउने कानुनी अधिकार स्थापित गर्ने सम्बन्धलाई विवाह भनी परिभाषित गरिएको छ र बिबाहको लागि न्युनतम उमेर २० बर्ष कायम गरिएको छ । बिबाह बिषयगत दृष्टिकोण अनुसार तीन प्रकारका छन।
१.जनसाङ्ख्यीक दृष्टिकोण
अ.पहिलो विवाह
आ.पुन विवाह
२.समाजशस्त्रीय दृष्टिकोण
अ.बहुपतित्व विवाह
आ.बहुपत्नित्व विवाह
ई.एक पति वा पत्नित्व विवाह
३.सर्वमान्य विवाह (विवाह गर्ने उमेरको आधारमा)
अ.बाल विवाह
आ.चाडो बिबाह
इ. ढिलो विवाह (उपयुक्त उमेरमा गरिने बिबाह)
अहिले मंसिरको पनि धेरै दिन बितिसकेको छ । मंसिर महिना बिवाहाको महिना पनि हो । अधिकांश मानिसहरूले मंसिरमा बिबाह सम्बन्धि मानसिकता बनाउने गर्दछन । केहीले आफ्नो बिबाहको लगन गाँठो कस्ने बारे सोचिरहेका हुन्छन् तर अन्यले कसको बिहे हुदैछ या कसको बिहे गर्ने उमेर भएको छ वा उसको उमेर जान लाग्यो वा उमेर गइसक्यो भनेर कुराकानी गरिरहेका हुन्छन । समाजमा यो केटा र त्यो केटीको बिवाह हुदैछ भन्ने कुरा थाहा पाउनासाथ उनीहरूको व्यवहार, स्वभाव, जागिर, पढाइ घरको अवस्था, व्यक्तिको प्रकृति, भविष्यमाथि समेत आ–आफ्नै बिश्लेषण हुने गर्दछन । प्रत्येक मानिसहरुका आ–आफ्नै धारणा हुने गर्दछन । कसैले सकारात्मक प्रतिक्रिया दिन्छ त कसैले आफ्नो असहमति÷असमझदारी झल्काउने नकारात्मक प्रतिक्रिया जनाउँदै विवाहको चर्चा गर्दछन । साथै मंसिर महिना त्यो पनि उमेर विवाह योग्य हुन बित्तिकै आफन्तले त झन बाँकी नै नराखी बिवाह बारेमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा चासो राखिहाल्छन । यद्यपि आफन्तले र अन्यले बिवाहा योग्य उमेर पुगेकालाई बिबाहबारे जिज्ञासा, चासो, चिन्ता र जानकारी लिनु सकारात्मक हो ।
वर्तमान समय आधुनिक डिजिटल युग हो । हामीले डिजिटलको माध्यमबाट विश्वका विभिन्न विवाह संस्कार, प्रचलित विवाह उमेर, त्यहाँका वैवाहिक र पारिवारिक सम्बन्ध, बिबाह अगाडि र पछाडिको आर्थिक सम्बन्ध, वैवाहिक मनोविज्ञान, श्रीमान श्रीमती बिचको सम्बन्ध, शिक्षा र चेतना स्तत लगायतका धेरै खोज्न तथा जानकारी लिन सक्छौं । नेपालमा पछिल्लो पुस्ता र अघिल्लो पुस्ताको तुलनात्मक रूपमा केही मात्रै भिन्न भएको देखिन्छ । हामीले खासगरी पछिल्लो पुस्तालाई साक्षर पुस्ता भन्न सक्छौं किनभने अहिले एइई वा बाह्र पास नगरेका मानिसहरू कमै हुन्छन् । पहिलेको पुस्ता अशिक्षित, न्यून चेतनास्तर,आर्थिक रूपमा ज्यादै कम्जोर, सञ्चारमाध्यम शुन्य जस्तैको अवस्था र बिकासको गति अत्यधिक न्यून थियोे । अहिलेका पुस्ताले यति धेरै अवसर पाउँद पनि खासै सदुपयोग गर्न सकेको छैन र पुरानो पुस्ताको तुलनामा नयाँ पुस्ता साक्षर मात्रै हुनु दुखद छ । सामान्य कुरा अहिलेको पुस्ताले पनि कानुनले तोकेको न्युनतम बिवाह उमेर भन्दा अगाडि अधिकांश मानिसहरूले बिबाह गरिरहेका छन । हामीले यसो उनीहरूको कुरा सुनौ,व्यवहार हेरौं वा निकट भविष्यको योजना के छ भनी सोध्यौं भने पुरानो पुस्ताको पात मात्रै फेरिएको झै लाग्छ । उनीहरूको लागि सञ्चार सुविधा दुरुपयोगमा प्रयोग भएको छ र विवाहको लागि उनीहरूले सञ्चारलाई द्रुत मार्गको रूपमा पनि प्रयोग गरेको देखिन्छ । हुन त सञ्चारमाध्यमले पनि समाजमा के भाइरल हुन्छ ?लोकले के रुचाउँछ ? सन्देशमुलक सामाग्री ,समाचार ,भिडियो ,अन्तर्वार्ता र लेख रचना हे¥यौं भने ज्यादै न्यून रुचि राखेको देखिन्छ । साच्चिकै भन्नुपर्दा अहिलेको पुस्तालाई गम्भीर हुन आउदैन र उनीहरू अल्लारे छन । अहिलेका पुस्ताका केही युवायुवतीहरूलाई राम्रो र थरिथ्रीका फेसन गर्न, कृत्रिम सुन्दर बनिरहन मेकअप गरिरहन, मीठो खान,लाखौंको क्यामराले फोटो खिच्न, रक्सीका विभिन्न ब्राण्ड पिउन, सहरमा भाडामा बस्न र झगडा गर्न मात्रै आउने गर्दछ
खासमा पछिल्लो पुस्ताको लागि धेरै अवसरहरु छन र चुनौती पनि त्यत्तिकै छन । हाम्रो पुस्ताले १०÷१२ कक्षा पढेलेखेको छ, विश्वका बारेमा सुन्न र देख्न पाएको छ,कानुनी कुरा पनि जानेकै छ,स्वतन्त्रता पनि पाएकै छ,एक ठाउँबाट अर्को ठाउँमा आफ्नो स्वैच्छिक रूपमा हिँडडुल गर्न पनि पाएकै छ । त्यसैले वर्तमान युवा पुस्ताले गर्नुपर्ने के हो भने नयाँ सकारात्मक सोच, चिन्तन , प्रयोग र परम्परागत एतिहासिक एंवम समाजको हित हुने पुराना संस्कारलाई पनि जगेर्ना गर्नुपर्ने हो । अहिलेका पुस्ताले बिबाहका बारेमा परिवारमा घनिभुत छलफल ,सरसल्लाह र आफ्ना कुराहरू राख्न सक्नुपर्ने हो । साथै केटा र केटीबिचमा पनि प्रेम सम्बन्ध, वैवाहिक योजना, सामाजिक मुल्यमान्यता ,आफ्नो घरको अवस्था ,आफ्नो सोच, योजना र बिचार बारेमा घनिभुत छलफल गर्ने हो । उनीहरूले प्राय शारीरिक सम्बन्ध प्रधानता दिएर प्रेम गरेको पनि पाइन्छ । केही पछि बच्चा गर्भधारण भएर बाध्यात्मक विवाह, आत्महत्या र सामाजिक रूपमा अपमानजनक व्यवहार सहनु परेका थुप्रै घटनाहरु घटिरहेका छन । हाम्रो समाज बन्द समाज हो त्यसैले यौवनको लागि प्रेम गर्नु गलत हो । संसारमा आ–आफ्ना मुल्य मान्यता, संस्कृति, परम्परा, रीतिरिवाज र धर्म अनुसार व्यवहार हुने गरेका छन । अहिलेको पुस्ताले अवसर र चुनौती दुबैलाई अंगिकार गरि सामना गर्न तयार हुनुपर्छ ।
हाम्रो नयाँ पुस्तालाई आग्रह छ । आउनुहोस् घनिभुत रूपमा छलफल गरौं र हामीले के संस्कार ल्याउने अनि कुन परम्परा हटाउने ? हाम्रो समाजमा के के हुन्छन् ? वैवाहिक सम्बन्ध कस्तो हुनुपर्छ ? परिवारमा समानता खोजी किन नगर्ने ? श्रीमान श्रीमतीको सम्बन्ध कस्तो हुनुपर्छ ? बिवाह किन गर्ने ? कति सन्तान जन्माउने ? विवाहपछि पारिवारिक सम्बन्ध कस्तो हुनुपर्छ ?आफन्त र नातेदारसँगको सम्बन्ध कसरी मजबुत बनाउन सकिन्छ ? विवाहपछि पनि असल सन्तान कसरी बन्ने ? किन श्रीमतीको नजरमा सासुससुरा,नन्द देवर राम्रो हुदैनन् वा राम्रो सम्बन्ध हुँदैन ? केटा मान्छेले आफ्नो श्रीमतीका आमाबाबुको हेरचाहको जिम्मेवारी किन नलिने ? जिम्मेवार र गम्भीर वैवाहिक सम्बन्ध कस्तो हो ? मितव्ययी परिवार र आम्दानीको श्रोत कसरी बढाउने ? समाज र राष्ट्रको जिम्मेवार नागरिक कसरी बन्ने ? बिवाहा पछि सन्तान जन्मिन्छन तिनीहरूलाई कसरी हुर्काउने ? राम्रो संस्कार कसरी दिने ?गुणस्तरीय शिक्षा प्रदान र नैतिकवान नागरिक कसरी बनाउने ? स्वास्थ सन्तान कसरी जन्माउने अथवा हुर्काउने ? समाजमा सामुहिक र पारिवारिक रूपमा एकरूपता बनाउने कसरी ? अध्यन बिवाहा पछि कसरी गर्ने ? वैवाहिक व्यवहार कस्तो हुनुपर्छ ? तपाईंहरू किन विवाह गर्दै हुनुहुन्छ या हामीले किन विवाह गर्ने ? आफुलाई रुपान्तरण गर्न के गर्नुपर्ने हो? राजनीतिक व्यक्तिको घरमा या राजनीतिमा आबद्धलाई कुन रूपमा हेरिन्छ ? बिहे पछि हिजो पुरुषले पढ्थे आज केटीले क्याम्पसमा पढ्ने गर्दछन किन ? बिहेमा तपाईं दुईजनाको संकल्प के हो ? जस्ता प्रश्नहरुको बारेमा बिहे अगाडि किन छलफल नगर्ने?हाम्रो समाजमा किन यस्ता छलफल प्रेमिल जोडिले गर्दैनन् ?
अन्त्यमा, पक्कै पनि म आफ्नो जीवनमा फरक रूपमा जिम्मेवारी निर्वाह गर्न चाहन्छु । म मानवतावादी अवधारणाको पक्षधर छु । भगवान कृष्णले भनेका थिए रे “माया प्रेममा न जात ,न वर्ण , न धनि गरिब,न भौगोलिक रूपमा टाढा नजिक ,न पेशा,न रुप रङ्ग हेरिन्छ केवल हेरिन्छ त केवल समान मनोभावना र आपसमा सकारात्मक समान बुझाइ“। त्यसकारण मैले पनि आफ्नो व्यक्तिगत सवालमा हामीलाई जोड्ने समानताको पुल भए केहीले फरक पर्नेछैन । हाम्रो नजरमा सकारात्मकता भए त्यो जीवन यात्रामा फरक पर्दैन । सैद्धान्तिक र व्यवहारिक रूपमा मैले एउटा मानवीय भावनालाई कदर गर्ने प्रेम सम्बन्ध र विवाह सम्बन्धको लागि तयार पात्र हो । साच्चिकै हिर्दयदेखी भन्नुपर्दा म केही आफ्नो प्रेम र वैवाहिक जीवनमा धेरै परिवर्तनको चाहना राख्ने पक्षमा छु । म आफैंबाट परिवर्तन चाहन्छु र अघिल्लो पुस्ताको तुलनामा सम्बन्ध, कार्यशैली, आर्थिक उपार्जन, पेशा, सन्तति, पारिवारिक सम्बन्ध, स्वतन्त्रता र समानताको बारेमा भिन्न रूपमा देखाउन चाहन्छु । हामीले सैद्धान्तिक रूपमा वर्तमानमा भनिने समानता, अधिकार र स्वतन्त्रता व्यवहारिक रूपमा परिवारमा लाग्नु गर्नुपर्ने मत राख्ने गर्दछु । मलाई तर्कसंगतता मनपर्छ र प्रकार्यात्मक वा कार्यात्मक सम्बन्धको पक्षमा उभ्याउन मन लाग्दछ । त्यसैले आउनुहोस् गतिलो र गम्भीरतापूर्वक बहस गरि जिम्मेवार बन्नका लागि आपसमा ज्ञान,अनुभव र भित्री मनसाय साटासाट गरौ ।