दामोदर पौडेल
यमुनानन्द नमुना माध्यमिक विद्यालय
सेरीगाउँ, रुकुम पश्चिम
मसँग रहेको नेपाली नागरिकताको प्रमाण पत्रमा मेरो स्थायी ठेगाना शोभा गाउँ पञ्चायत रुकुमकोट रुकुम उल्लेख छ । समय क्रम र देशमा भएका राजनीतिक फेरबदलका क्रममा मेरो स्थायी ठेगानामा पनि परिवर्तन हँुदै आएको छ । तत्कालीन राजा वीरेन्द्र शाहकी कान्छी बहिनी शोभा शाहीको विवाह रुकुमकोट बाहुनठाँनाका मोहन शाहीसँग भएको थियो । शाहाज्यादी परिवार आफ्नो कुल पूजा गर्न वि.सं. २०३२ सालमा रुकुमकोट आउँदा त्यस अघि बाहुनठाँना गाउँपञ्चायतको नाम फेरी राजपरिवारको नामबाट नामाङ्कित गरी शोभा गाउँपञ्चायत राखियो । वि.सं. २०४६ सालको राजनैतिक परिवर्तन पछि शोभा गाउँ विकास समिति रहन गयो । वि.सं. २०६२÷०६३ सालमा भएको राजनैतिक परिवर्तन पछि रुकुमकोट गाविस रहन गयो । नेपालको संविधान २०७२ लागु भई देश नयाँ संरचनामा गयो । साविक रुकुम जिल्ला विभाजन हुन गयो । प्रदेश र स्थानीय निकायहरु स्थापित हुँदै गर्दा हाल मेरो स्थायी ठेगाना सिस्ने गाउँपालिका–६ रुकुमकोट रुकुम पूर्व रहन गएको छ ।
मैले एसएलसी सम्मको अध्ययन तत्कालीन रुक्मीणी साधारण माध्यमिक विद्यालय रुकुमकोट रुकुमबाट गरेको हुँ । एसएलसी परीक्षा २०३८ सालमा समावेश भएको र परीक्षाको नतिजा २०३९ श्रावण महिनामा प्रकाशित भएपछि २०३९ सालको भाद्र २४ गतेदेखि शिक्षण पेशामा जोडिन पुगेँ । हालसम्म शिक्षण पेशामै कार्यरत रहेको छु । अबका केही महिना र दिनपछि शिक्षण पेशाबाट अनिवार्य अवकाश लिँदै छु । मेरो ४० वर्षभन्दा बढी शिक्षण कार्यमा रहँदा मैले आर्जित गरेका सम्पत्ति संक्षिप्त रुपमा पस्किन खोजेको छु ।
सम्पत्ति एक ः ४० वर्षभन्दा बढी शिक्षण पेशामा रहने अवसर
मेरो वैयक्तिक जीवनका ऊर्जाशील अवधि शिक्षण कार्यमा समर्पण गर्ने अवसर पाएँ । मैले आफूले जाने, बुझेका, अनुभव गरेका ज्ञान, सिप, क्षमता र बौद्धिकतालाई सुन्दर भविष्य निर्माण कार्यमा लागेका हजारौँ कलिला बालबालिकाहरुमा समर्पण गर्न पाएँ । जसलाई मैले मेरो आर्जित सम्पत्तिमध्ये ठूलो सम्पत्तिको रुपमा लिएको छु । चेतनारुपी उज्यालोको दियो बाल्नमा मेरा जीवनका अधिकांश समय खर्च गर्न पाउनु आफूलाई भाग्यमानी समेत सम्झेको छु । यद्यपि म शिक्षण पेशामा प्रवेश गर्दा वा शिक्षण कार्यमा रहँदै गर्दा जीवन वृत्तिका अन्य अवसर पनि प्राप्त गर्ने परिस्थिति थियो । तर पनि मेरो अन्तरात्माले शिक्षण कार्यजस्तो पवित्र कर्मलाई रोज्न पुग्यो । सायद रुकुम जिल्लामा चालिस वर्षभन्दा बढी स्थायी शिक्षण गर्ने शिक्षकहरु मध्येमा म पनि पर्छु जस्तो लाग्छ ।
सम्पत्ति दुई ः विभिन्न व्यक्तिहरुसँग काम गर्ने अवसर
चारदशक भन्दा बढी लामो समय शिक्षण कार्यमा रहँदा साविक रुकुम जिल्लाका तीनवटा विद्यालयमा सेवा गर्ने अवसर पाएँ । शिक्षण कार्यमा रहँदा अधिकांश समय (८० प्रतिशतभन्दा बढी) प्रधानाध्यापक पदको भूमिकामा रहेँ । आज पर्यन्तसम्म पनि प्रधानाध्यापकको भूमिकामा रहेको छु । शिक्षण कार्य गर्दा विद्यालयका हजारौँ विद्यार्थीहरु, शिक्षक कर्मचारीहरु, जिल्ला शिक्षा अधिकारीहरु, समन्वय प्रमुखहरु र पालिकाका शिक्षा अधिकारीहरु, विव्यस तथा शिअसंघ अध्यक्षहरुसँग साथमा रही काम गर्न पाउनु र उहाँहरुका अनुभव, सिप र कार्यदक्षताहरुसँग साक्षात्कार हुन पाउनुलाई पनि आर्जित सम्पत्तिको रुपमा लिएको छु । हालको रुकुम पश्चिम आठबीसकोट नगरपालिकास्थित हिमालय मावि दाँजेमा २०३९ भाद्र २४ गतेदेखि २०४० वैशाख २० गतेसम्म शिक्षण गर्दा बिनिराम अर्याल (गुल्मी), चन्द्रकान्त अधिकारी (गोरखा), भिमलाल शर्मा, चंखलाल धिताल, भिमबहादुर आग्री र विव्यस अध्यक्ष धनबहादुर बुढासँग काम गर्ने अवसर पाएँ ।
हालको रुकुम पूर्व भूमे गाउँपालिकास्थित शहीद शुक्र मावि सिमा मोराबाङमा कार्यरत रहँदा तिलबहादुर पुन, ऋषिराम शर्मा, रामबहादुर घर्ती, जोरबहादुर पुन, रामेश्वर सुनार, खिमप्रसाद श्रेष्ठ, मनबहादुर केसी, भुवनेश्वर बुढा, चिन्तामणि दाहाल, प्रेमप्रकाश पुन, शशिकिरण पुन, तिलक छन्त्याल, ऋषिराम शर्मा, पद्मप्रसाद पोखरेल (दाङ¬) अनन्तप्रसाद गौतम, शशिराम कार्की, मानबहादुर बुढाथोकी, रेशमबहादुर बुढाथोकी, हस्तबहादुर पुन, जुनबहादुर बुढा, सचेतकुमार शाह, हेमराज गौतम (पाल्पा), शिरोमणि सुवेदी (कास्की), टोपेन्द्र गौतम, सूर्यकुमार राई (उदयपुर), हेमराज गौतम, भुवनेश्वर उपाध्याय, हर्कबहादुर शाही, बद्रि यादव (सिराहा), प्रमोद यादव (महोत्तरी), फर्कबहादुर पुन र मनबहादुर विश्वकर्मा विव्यस अध्यक्ष जमलाल पुन, तुलासरि सुनार, सुनवीर पुन, दलबहादुर शाह, भिमप्रसाद सुनार, जनकबहादुर सुनार लगायतसँग सङ्गत गर्ने अवसर मिल्यो । हालको यमुनानन्द नमुना मावि सेरीगाउँमा २०५५ वैशाख ८ गतेदेखि हालसम्म कार्यरत रहँदा समीरजङ्ग मल्ल, सन्ध्या मल्ल, मिश्रीप्रसाद शर्मा, कालिका घर्ती, वीरबहादुर रावल, ओमबहादुर के.सी., राजवीर खत्री, ताराबहादुर कुँवर, मनबहादुर बोहरा, मानबहादुर कुँवर, तारकबहादुर शाही, खम्बबहादुर केसी, रामप्रसाद शर्मा, सुनिता मल्ल, दीपेन्द्रबहादुर पुन, सूर्यकान्त घिमिरे (स्याङ्जा), हरिबहादुर शाह (दाङ), रमेशप्रसाद शर्मा, पुष्पलता सुवेदी (प्युठान) भिमनारायण पुन, सिर्जना थापा, लोकबहादुर बुढाथोकी, सुशीला शर्मा, देवराज के.सी., धनीराम देवकोटा, खड्कबहादुर कुँवर, राजदेव यादव (सिराहा), धनीराम के.सी., अनुपमा मल्ल, हरिमाया गौतम, डिल्लीबहादुर मल्ल, बिनु मल्ल, कालिका के.सी., दीपप्रसाद शर्मा, मेघराज गौतम, अमृत दाहाल, दीपेन्द्रा मल्ल, देवीप्रसाद शर्मा, सन्जु गौतम, बिमला शर्मा, रामलाल गौतम, हरिचन्द्र गिरी, यामबहादुर शाही, पुनम गौतम, रुपेन्द्रकुमार रावत, वसन्त नेपाली, यमुना मल्ल, सपना खड्का, सुशीला मल्ल, भवानी गिरी शक्तिराम ओली, जसन्ता के.सी., निरन्जना पाण्डे (दाङ), पवनलाल चौधरी (सप्तरी), कृष्णा पुनमगर, सुमन गौतम, सावित्रा ओली, धनमाया अधिकारी, नन्दराम देवकोटा, अनिता खड्का, निलम गौतम, अमृता खड्का र उदयराम ओली, विव्यस अध्यक्षहरुमा कुमारजङ्ग मल्ल, सुरतजङ्ग मल्ल, केदारसिंह गौतम (कावा अध्यक्ष), देवीलाल गौतम, महेन्द्रराज गौतम, जनार्दन केसी, मीनबहादुर केसी, राजेश अधिकारी, शिक्षक अभिभावक संघ अध्यक्ष बालकृष्ण मल्ल, ठगेन्द्रप्रकाश पुरी, चन्द्रबहादुर बोहरा, बामदेव मल्ल, मीनबहादुर के.सी. र भीमबहादुर खड्कासँग काम गर्ने अवसर मिलेको छ ।
हालका शिक्षक कर्मचारी साथीहरु कमप्रसाद देवकोटा, दीपेन्द्रप्रसाद चौधरी (सप्तरी) विवेक शर्मा, यज्ञबहादुर खड्का, पृथ्वी ओली, जगतबहादुर ओली, सुशीला शर्मा, प्रेमबहादुर खड्का, सेवक रिजाल (दाङ), गोपाल केसी, युवराज गिरी, प्रज्वला पुन, प्रेमकला बाँठा, रेखा मल्ल, अमर आचार्य, अमृता खड्का, कल्पना ओली, ममता चन्द, लक्ष्मण केसी, गणेशा पुन, चन्द्रबहादुर केसी, मीनकुमारी नाथ, नवीना केसी र कल्पना केसीसँग काम गर्ने अवसर मिलिरहेकै छ ।
जिल्ला शिक्षा अधिकारीहरुमा पूर्णचन्द्र पौडेल (तनहूँ), रमेशनारायण दास (सप्तरी), सुन्दरकुमार शाक्य (सङ्खुवासभा), गणेशबहादुर खत्री (ललितपुर), यमुनाप्रसाद चौरासिया (पर्सा), हीराप्रसाद ढकाल (भोजपुर), मोहम्मद हसरत अलि (कपिलवस्तु) देवीदत्त भट्ट (वैतडी), रामदयाल दास (सिराहा), दानबहादुर अधिकारी (भोजपुर), कपिलदेव उपाध्याय (बर्दिया) शालीग्राम रेग्मी (स्याङ्जा), जीवन शर्मा पौडेल (कास्की), गोविन्ददेव भट्ट (बैतडी), हंशराज रोकाया (जाजरकोट), देवीप्रसाद अधिकारी (सिन्धुली), महेन्द्रकुमार बोहरा (सल्यान) दामोदर सुवेदी (कास्की), कृष्णप्रसाद घिमिरे (भोजपुर), बद्रिकुमार बस्नेत (ओखलढुङ्गा), धर्मराज केसी. (बाँके) नारायणप्रसाद शर्मा (अर्घाखाँची), डा. बाबुराम ढुङ्गाना (काठमाडौँ), दिव्यराज कट्टेल (सङ्खुवासभा) रामप्रसाद पाण्डे (इलाम), हरिहर धिताल (मोरङ), मित्रमणि खनाल (अर्घाखाँची), निर्मलकुमार घिमिरे (महोत्तरी) रामलाल खड्का (रुकुम), पूर्णबहादुर अछामी (लम्जुङ), कर्णबहादुर कुँवर (रुकुम) इकाइ प्रमुख लालबहादुर घर्ती (रुकुम), ताराप्रकाश पुन (रुकुम) र मुसिकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिनाराम खड्का लगायत हजारौँ विद्यार्थीहरुसँग सङ्गत गर्ने अवसर पनि प्राप्त भएकाले यसलाई पनि मैले अर्को सम्पत्ति आर्जित गरेको महसुस गरेको छु ।
सम्पत्ति तीन ः दुई विद्यालयको स्तर तथा तह वृद्धि गर्ने अवसर
सुरु नियक्ति लिएको विद्यालय हिमालय निमावि दाँजेमा बस्ने लामो अवसर मिलेन उक्त विद्यालयमा आठ महिनाभन्दा बढी बसिएन । दैनिक पठनपाठनका काम बाहेक अरु केही गरिएन । तत्कालीनको शहीद शुक्र निमावि मोराबाङमा कार्यरत रहँदा २०४८ देखि अस्थायी अनुमति लिई उक्त विद्यालयलाई मावि तहमा स्तरवृद्धि गर्ने काममा लाग्ने अवसर मिल्यो । पछि सो विद्यालय २०५२ साल फाल्गुण १२ गते जिल्ला सदरमुकाम मुसिकोटमा जिल्ला शिक्षा कार्यालयबाट आयोजित शिक्षा दिवसको अवसरमा विद्यालयले स्थायी स्वीकृति पायो र चारवटा मावि तहका सरकारी दरबन्दी प्राप्त गर्ने अवसर प्राप्त गर्यो । मेरो निमावि तहको स्थायी दरबन्दी सोही विद्यालयमा कायम रहने गरी मावि तहको लियन दरबन्दीमा कार्यरत रहँदै विद्यालयको तह तथा स्तरवृद्धि गर्ने काममा लाग्ने अवसर मिल्यो । त्यसैगरी हाल कार्यरत रहेको यमुनानन्द नमुना निमाविमा २०५५ साल वैशाख ८ गते सरुवा भई आई २०५८ सालमा मावि तह २०६६ सालमा उच्च मावि (कक्षा ११, १२) को पढाइ हुने व्यवस्थापन गर्नुका साथैसम्बन्धित सरोकारवालहरुको सहयोगमा विद्यालयमा दुई तह स्तरवृद्धि तथा तहवृद्धि गर्ने अवसर प्राप्त भयो । तत्कालीन समयमा केवल नौवटा मात्र दरबन्दीमा सीमित रहेर विद्यालय सञ्चालन हुँदै आएकामा हाल आएर शिशु कक्षादेखि १२ कक्षासम्म शिक्षक, कर्मचारी, विद्यालय नर्स, भान्से सबै गरी जम्मा सो संख्या अठ्ठाइस पुग्न गएको छ । दुईवटा विद्यालयका तह तथा स्तरवृद्धि गर्ने र दरबन्दी वृद्धि गर्ने कामलाई मैले अर्को सम्पत्तिका रुपमा लिएको छु ।
सम्पत्ति चार ः आर्थिक वृद्धि तथा भौतिक निर्माण कार्यमा संलग्न
विद्यालयको आर्थिक स्तर वृद्धि गर्न शहीद शुक्र मावि सिमामा २०४१ देखि २०४४ सम्म विद्यालय परिवारले तिहारको अवसरमा देउसी भैलो खेली विद्यालयको आर्थिक स्तरवृद्धि गर्ने काम गरियो । विद्यालयबाट तत्कालीन समयमा देउसी भैलो खेल्नु भनेको त्यस भेगको लागि पहिलो र नमुनायोग्य कार्य थियो । तत्कालीन मोराबाङ, काँडा तथा काक्री गाउँहरुमा चन्दा तथा भैली खेली आर्थिक सङ्कलन गर्ने काम भएको थियो । वि.सं. २०४८ सालको जिल्ला विकास समितिबाट पचास हजार रुपैँयाको आर्थिक सहयोग लिई ११ कोठे पक्की लामो भवन बनायौँ । सल्यान लान्ती बजारसम्म गाडी आउने भएकाले विद्यालय सेवा क्षेत्र भित्रका घरकुरियाबाट श्रमदान जुटाई कर्कट पाता, सिमेन्ट, रङ ल्याउनको अगुवाई स्वयम् मैले गरेको थिएँ । त्यसै गरी ब्रिटिस सोल्जर बोर्ड खुङ्ग्री रोल्पामा भूपू व्रिटिस आर्मी गल्लावाल सिमा निवासी सुनवीर पुनमार्फत् २ कोठे आधुनिक शौचालय निर्माण गरिएको थियो । जुन शौचालय जिल्लाकै र विद्यालयका लागि नमुनायोग्य थियो ।
तत्कालीन प्रधानपञ्च जमलाल पुनलाई कागजपत्र निर्माणमा सहयोग गरी स्थानीय तुनबाङ खोलाबाट पानी सिँचाई सिमा गाउँमा ल्याई पानी खसाली टरवाइन जडान गरी कुटानी पिसानी मिलबाट ०.२५ किलोवाट विद्युत निकाली सिमा मोराबाङ गाउँमा बत्ती बाल्ने काम मुसिकोट सदरमुकाम खलङ्गा पछि सीमा मोराबाङका गाउँहरुमा बत्ती बाल्ने काम भएको थियो । मावि सेरीगाउँमा मावि खोल्नका लागि विद्यालय क्षेत्रभित्र देउसी भैलो खेल्नुका साथै माध्यमिक तहका लागि भौतिक निर्माण कार्यका संरचनाहरु बनाउने काम गरियो । हाल विद्यालयमा रहेका सबै आधुनिक पक्की भवन तथा अन्य संरचनाहरुपछिनिर्माण गरिएका हुन् र अहिले पुराना संरचनाहरु कुनै छैनन् । विद्यालयभित्र निजी शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । आधुनिक खालको मञ्च तथा प्रतिक्षालय, सरस्वती मन्दिर, तुलसी मठलगायत विद्यालयलाई आवश्यक पर्ने भवन तथा शौचालयहरु निर्माण गरिएका छन् । त्यसै गरी पारिजात बालपार्क, पारिजातको प्रतिमा र यमुना बाबाको शालीक विद्यालय परिसरभित्र निर्माण गरी स्थापित गरिएको छ । विद्यालयलाई पूरै तारबारले घेरिएको छ । आधुनिक प्रवेशद्वार निर्माण गरिएको छ । विद्यालयका भवनहरुभित्र कम्प्युटर ल्याव, ज्ञानकुञ्ज पुस्तकालय, गणित ल्याव, विज्ञान ल्याव, नर्सिङ सेवा कक्ष, मिटिङ हल छुट्टा छुट्टै निर्माण गरिएका छन् । परीक्षा शाखा, लेखा शाखा, जुनियर तथा युवा रेडक्रस सर्कल, नेपाल स्काउट ब्वाइज तथा गल्र्स टु«प कक्षहरु छुट्टा छुट्टै रुपमा व्यवस्था गरिएको छ । त्यसै गरी कर्ण स्मृति अक्षय कोष २०६६, शशी स्मृति शैक्षिक उन्नयन अक्षय कोष २०७५, यमुना असहाय बालबालिका शैक्षिक अक्षय कोष २०७५, गरिब तथा जेहेन्दार विद्यार्थी शैक्षिक उत्थान अक्षयकोष २०७७, धर्म निर्मला उकृष्ट विद्यार्थी निस्पादन अक्षयकोष २०७९, केदार पुनम सिर्जनशील उत्कृष्ट विद्यार्थी निष्पादन अक्षयकोष २०८० क्रमशः वसन्त पुन मगर, राजकुमार पुन मगर, दोर्णराज गौतम, वामदेव गौतम, विष्णुराज गौतम, यामबहादुर शाही, शनम शाही, सुजाता शर्मा, डा.विमला शर्मा, सुलोचना शर्मा, सुदीप शर्मा, धर्मराज के.सी., निर्मला के.सी., केदार गौतम र पुनम गौतमले स्थापना गर्नु भएको छ । अक्षयकोष निर्माण गर्ने काममा मेरो भूमिका उल्लेखनीय रहेको थियो । यस कार्यलाई पनि सम्पत्तिका रुपमा लिएको छु ।
सम्पत्ति पाँच ः व्यक्तित्व विकास र पेशागत जिम्मेवारीको अवसर
शिक्षण पेशामा संलग्न रहँदाका समय अधिकांश समय प्रअको जिम्मेवारी निभाउने कार्य गरेको माथि उल्लेख छ । आम नेपाली शिक्षकहरुको पेशागत हक, हित र संरक्षण र गुणस्तरीय शिक्षाका लागि निरङ्कुश पञ्चायत कालीन अवधिमा स्थापित नेपाल राष्टिय शिक्षक सङ्गठनमा आबद्ध भई जिल्लाका विभिन्न पदाधिकारीहरुको जिम्मेवारी लिँदै अध्यक्ष समेतको भूमिका निभाउने अवसर पाएँ । केन्द्र स्तरमा सङ्गठनबाट प्रतिनिधित्व गरी नेपाल शिक्षक युनियन केन्द्रीय सदस्यको भूमिकामा रहेँ । त्यसैगरी शिक्षकमै रहँदा जिल्ला स्थित तत्कालीन शिक्षा समिति, जिल्ला स्तरीय परीक्षा समिति, पेशागत हक, हितका लागि आवश्यकताअनुसार जिल्ला स्तरमा गठन भएका कार्यदलका सदस्यहरुमा रही आफ्नो भूमिका निर्वाह गरेँ । एसएलसी, एसइइ राष्टिय परीक्षा बोर्डबाट सञ्चालन हुने ११ र १२ को परीक्षाहरुको केन्द्राध्यक्षको भूमिकामा पनि सधैँ रहेँ । जिल्ला स्थित नेपाल रेडक्रम सोसाइटी जिल्ला समितिको उपाध्यक्ष हुँदै जिल्ला स्काउट समितिको संरक्षक तथा सदस्य भई जिम्मेवारी निर्वाह पनि गरेँ । नेपाल रेडक्रस सोसाइटी, नेपाल राष्टिय शिक्षक सङ्गठन, कोपिला सेवा युवा क्लब रुकुमकोटको आजीवन सदस्यको रुपमा रहेको छु । शिक्षणमै रहँदा वैवाहिक जीवनमा पनि जोडिन पुगेँ ।हामी चारैजना परिवारका सदस्यहरु (दुई छोराहरुसहित) अधिकृत स्तरमा कार्यरत छौँ । जीवन सङ्गिनी जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा वरिष्ट नर्सिङ अधिकृत पदमा कार्यरत छिन् भने जेठा छोरा काठमाडौँ लैनचौरस्थित अलोफ्टपाँचतारे होटेलमा व्यवस्थापक युनिट प्रमुख छन् । कान्छा छोरा काभ्रे भकुण्डेवेसी अस्पतालमा मेडिकल अधिकृतमा कार्यरत छन् । बसोवासका लागि काठमाडौँ महानगरपालिका–१६ वसन्तनगर बालाजुमा घर बनाएका छौँ । यो मेरो जीवनको व्यक्तिगत सम्पत्ति भए पनि शिक्षण कार्यमै रहँदा आर्जित गरेको सम्पत्ति सम्झेको छु ।
सम्पत्ति छ ः वफादारिता, कर्तव्यनिष्ठता तथा पारदर्शिता कायम
व्यक्तिगत तथा सार्वजनिक जीवन व्यतित गर्ने क्रममा थुप्रै मानिसहरुसँग मेरो सङ्गत भयो । थुप्रै कामहरु सम्पादन गर्ने अवसर पाइयो । काम गर्ने क्रममा अनजान तथा व्यक्तिगत स्वभावका कारण थुप्रै त्रुुुटिहरु भए होलान् । तर कहिल्यै पनि कुभावना तथा कुविचार लिएर काम गरिएन । राजनीतिक आस्था, विश्वास तथा नाता सम्बन्धलाई कहिल्यै पनि प्रश्रय दिने काम गरिएन । मबाट व्यक्तिगत स्वार्थ, मतलब साध्य हुने गरी कुनै व्यवहारहरु प्रदर्शन भएनन् । आफू कार्यरत संस्थाको स्तरोन्नतिका लागि दिलोज्यानले काम गरियो । आफ्नो संस्थालाई सुन्दर, रमणीय तथा शोभायमान बनाउने मेरो चाहना सदैव रह्यो । कार्यरत रहँदा विविध खाले प्रलोभन तथा धम्कीहरु नआएका होइनन् तर ती कुत्सित राजनैतिक भावनाहरुलाई व्यवहारले जित्ने काम गरियो । तथा हरेक कामहरुमा संस्थालाई नमुनायोग्य बनाउने सोच र विचार पलाइरह्यो । यद्यपि एकाध कसैलाई मेरा सोच र भावनाप्रति शङ्का लाग्न सक्छ । तर ती शङ्काहरुलाई समयको परिपक्वताले सही तथा सच्चाईमा परिणत गरिसकेको छ र गर्दै पनि जानेछ भन्ने मेरो पुष्ट्याइँ छ । यसरी ठिक ठाउँमा उभिएर सही मार्गदर्शन पक्रन सक्नु मेरो अमीट सम्पत्ति हो ।
सम्पत्ति सात ः पुरस्कार तथा सम्मान
शिक्षण कार्यमा रहँदा विभिन्न सरकारी तथा गैर सरकारी विभिन्न संघ संस्थाहरु तथा शिक्षण संस्थाहरुबाट सम्मान, कदर तथा प्रशंसा पत्रलगायत पुरस्कार प्राप्त गर्ने अवसर पाइएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालय रुकुमबाट राष्टिय शिक्षा दिवस २०६५ मा दीर्घ सेवा पदक, यमुनानन्द नमुना माविको स्वर्ण महोत्सवमा सम्मान पत्र २०६६, बाल अधिकार मञ्च रुकुमबाट प्रशंसा पत्र २०६६, नेपाल राष्टिय शिक्षक सङ्गठन रुकुमबाट सम्मान पत्र २०६९, न्यूमून लाइट सेकेन्डरी बोर्डिङ रुकुमबाट सम्मान पत्र २०७३, मध्यपश्चिमाञ्चल विश्वविद्यालय मुसिकोट खलंगा बहुमुखी क्याम्पसबाट प्रसंशा पत्र २०७५, नेपाल राष्टिय शिक्षक सङ्गठन रुकुमबाट कदर पत्र २०७६, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट ४० औँ राष्टिय शिक्षा दिवस तथा अन्तर्राष्टिय साक्षरता दिवसबाट शिक्षा पदक पुरस्कार २०७६, राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिमबाट २०७६, २०७८ र २०७९ मा कदर पत्र तथा आदर पत्र, नेपाल शिक्षक महासंघ मुसिकोट नगरपालिका रुकुम पश्चिमबाट सम्मान लगायत अन्य संघ संस्थाहरुबाट पुरस्कृत हुने अवसर मिलेको छ । यो पनि आर्जित सम्पत्ति सम्झेको छु ।