कुराकानी
नारायण ओली
प्रमुख
पशु सेवा शाखाका शाखा, भूमे गाउँपालिका, रुकुम पूर्व
यस कार्यालयमा कति बर्ष देखि कार्यरत हुनुहुन्छ ?
म विगत १० वर्ष देखि पशुपन्छी विकास क्षेत्रमा काम गर्दै आएको हो । यो समयमा सबै धेरै प्रकारका अनुभव गरेको छु । हाम्रो जस्तो विकाशिल मुलुकमा कृषि क्षेत्रको विकास गर्न धेरै मुस्किल छ । राजनीति अस्तिरताका कारणले कृषि क्षेत्र नारामा मात्र सिमित भएको छ । भूमे गाउपालिकामा पशुपालन क्षेत्रले धेरै सम्भावना बोकेको छ ।
चरण क्षेत्रको विकास र संरक्षण गर्न सके राम्रो सम्भावना देखिन्छ । गाउँपालिकाको धेरै स्थानमा चरण क्षेत्र रहेको छ । यी क्षेत्रलाई भरपुर उपयोग गरेर पशुपालन व्यवसाय गर्न सकिन्छ । पशुपालन व्यवसायबाट उत्पादित वस्तुहरुको बजारिकरणका लागि बजारको समस्या हुदैन तर लगनशिल र मेहनती किसानले मात्र यो व्यवसाय गर्न सक्छ । हाल नेपालमा अर्बौ रकमको अन्डा, मासु र दुध आयात हुन्छ । आयात प्रतिस्थापन गर्नका लागि भूमेले पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्न जरुरी छ ।
पशुपालन व्यवसायहरुको लागि के कस्तो कुरामा ध्यान दिनुपर्छ ?
पशुहरुलाई हेरविचार भन्दा पनि हामीले उपचार गर्ने हो । हामी किसानहरुको समस्या किसानकै घरदैलोमा गएर समाधान गर्ने गरेका छौ । किसानहरुका सेवाका लागि हामी दिन रात नभनी खटिएका छौ । सिमित स्रोत साधनका बावजुत पनि हामी सार्वजनिक सेवा प्रवाह गरिरहेका छौँ । हामी किसानहरुलाई मुस्कान सहितको सेवासंग मुस्कान दिने सेवा उपलब्ध गराउने पर्यास गरिरहेका छौ ।
गाउँपालिका भित्र किसानहरूका सेवामा कार्यालय मार्फत के कस्ता कार्यहरु भैरहेका छन ?
आवश्यक हुँदा किसानहरुको सेवामा हामी चौबिसै घण्टा खटिरहेककै हुन्छौ । हामीलाई सार्वजानिक विदा र शनिवार हुदैन । हामी चौबिसै घण्टा किसानको खोर गोठमा विरामी पशुहरुको उपचार, प्राबिधिक परामर्स, खोप लगाएतका सेवा दिईरहेका हुन्छौ । हाल देश भर फैलिरहेको लम्पिस्किन रोगको महामारी भूमेमा पनि फैलिरएको अवस्था छ । गाउँभरीका गाई र भैसीहरु महामारीले प्रभावित भैसकेका छन । भूमेमा पालन गरेका ८० प्रतिशत गाई विरामी भएर छटपटाईरहेका छन र १० प्रतिशत मरिसकेका छन । हामी किसानको दुख र पशुको पीडा देख्न नसकेर आफ्नो पैसाबाट औषधी किनेर पनि उपचार गरेकाछौ । हामीसंग जनशक्ति र स्रोत साधनको कमी छ । त्यसका बाबजुत पनि सबै स्थानमा सेवा दिने प्रयत्न गरेका छौ । हामीलाई लम्पिस्किन रोगले थला पारेको छ । ५ लाखको मेडिसिन ल्याउदा पनि १ महिना पुग्दैन । प्रदेश सरकार र संघिय सरकार मातहत रहेको विभाग र कार्यालयहरुले कानमा तेल हालेर बसेका छन । तल्लो स्थानमा वसेर काम गर्ने प्राविधिकहरुको आत्मवल बढाउने कुनै काम गरेको छैन ।
हामी यी कार्यालयहरु संग पनि समन्वय गर्ने प्रयास गरेकाछ ौ । यो मात्र हैन हाम्रो तिर कहिलेकाही रेविज रोगको महामिरीले पनि हद पार गर्छ । यस्ता समस्याहरु समाधान गर्न हामी नै अगाडी सर्नु पर्छ । काम अह्राउने सस्था धेरै आउछन तर सहयोग गर्ने संस्था हुदैनन् । संघीय कार्यालयहरुले पनि स्थानीय तहहरुलाई २०० डोज खोप दिन्छन । हामीसंग १२ हजार कुकुर हुन्छन अरु खोप कहाबाट पुर्ति गर्ने धेरै समस्याहरु आउछन । केहि खोपहरु संघिय सरकार मार्फत विभाग, प्रदेश सरकार, प्रदेश निर्देशनालय र जिल्लास्तिथ कार्यालय हुदै स्थानिय तह सम्म आउछन । उक्त खोपहरुको गुणस्तरमा व्यवस्था हुदैन फलस्वरुप खोपको गुणस्तर घट्ने वा विग्रिने हुन्छ । उक्त खोपका कारण पशुहरुमा नकारात्मक असर पर्ने वा पशु मर्ने हुन्छ र किसानको क्षति हुन पुग्छ । फिल्डमा काम गर्ने प्राविधिक र खोपकर्ताहरुले गाली खानुपर्ने बाध्यता छ । यस्ता पशुपन्छीहरुका लागि आवश्यक खोपहरु पालिकास्तरमै पुर्वधार संरचनाहर तयार गरि हस्तान्त्रण गर्दा राम्रो हुन्छ । सबै पशुहरु खोपको पहुँचमा पुग्ने र रोगको प्रकोप पनि घट्ने र हाम्रो व्यस्तता पनि घट्छ ।
पशुमा लाग्ने खोरेत के होला बताई दिनुहोस ?
खोरेत रोग खुर फाटेका पशुहरुलाई भाईरसबाट लाग्ने रोग हो । यसको प्रकोपमा किसाहरुको आर्थिक नोक्सान हुने गर्छ । भाईरसबाट लाग्ने रोग भएको हुदा यसको उपचार खास्सै हुदैन तर पनि पशुलाई लक्षणका आधारमा उपचार गर्नुपर्छ । यो रोग लागेको पशुहरुमा अत्याधिक ज्वरो आउने, खुर र मुखमा घाउँ हुने, लहरा लाग्ने घाउँ हुने मुख्य लक्षण हुन । यो रोगले गर्दा पशुहरुको उत्पादनमा गिरावट आउछ ।
अहिले देशै भरी फैलिएको रोग नियन्त्रण गर्न कस्तो कदम चाल्नु भएको छ ?
वास्तवमा यो रोग हामी भन्दा धेरै विशाल छ । अझै नियन्त्रण भन्दा बाहिर त गएको छैन तर अव नियन्त्रण बाहिर जान सक्छ । किसानहरुले धेरै दुध पाईसके, हामि दिनरात किसानकै घरदैलोमा हुन्छौ । मृत्युदर धेरै नभए पनि जटिल समस्या र अन्य संक्रमण भएर पशुहरु मर्ने गरेका छन ३ हजार बढी पशुहरु विरामी भैसकेका छन । यो संख्या भूमेमा पालिएका गाईहरु मध्य झन्डै ७० प्रतिसत हो । हाल सम्म १९० गाई र भैसी मरिसकेका छन । हामी निरन्तर उपचार गरिरहर्का छौँ । हामीसंग नियन्त्रण गर्नका लागि खोप छैन । खोप खरिद गर्न बजेट पनि छैन । खोप महंगो छ । महामारी रोग नियन्त्रण गर्ने निकायहरु चुप लागेर बसेका छन । फिल्डमा हिड्ने प्राविधिकहरुले मात्र नियन्त्रण गर्न संभव छैन तर हामी कोसिस गरिरहेका छौ । आशा छ हामी छिटै खोप ल्याउछौँ ।
संगुर र बंगुरमा लाग्ने रोग के के हुन यी रोगहरुलाई कसरी न्यूनिकरण गर्न सकिन्छ ?
बंगुर प्रजातीमा धेरै प्रकारका रोगहरु लाग्छन । जुन रोगहरु बिषाणु, जीवाणु,प्ररिजीवी र सरसफाईको कमीको कारणले लाग्ने गर्दछन । धेरै जसो वंगुरमा लाग्ने रोगहरु हग कलेरा, स्वाईन फ्ल्यु, अफ्रिकन स्वाईन फ्ल्यु फिवर, स्वाईन फिवर, हैजा, अपज, पखाला, परजीवीहरुको प्रकोप आदी हुन । यसलाई नूनिकरण गर्ने मुख्य उपाय भनेको नेपाल सरकारले सिफारिस गरेका सेडुलमा खोप लागाउने, फर्मको सरसफाई र जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्ने हो ।
जुनेटिक रोग भनेको के हो ? यो रोग कसरी लाग्दछ ?
यी रोगहरु मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने प्रकृतिका हुन्छन । यी रोगहरुले जनस्वास्थ्यमा ठूलो क्षती गर्न सक्छन । यसका उदाहरणः रेविज, बर्ड फ्लु, टक्जोपल्ज मोसिस, ब्रसेलोसिस, टि बी लगाएत नेपालमा १६० ओटा जोनोसिस रोगहरु रहेको डब्लुएचओको तथ्याङ्क छ । जुनोसिस रोगहरु पशुहरुसंग प्रत्यक्ष सम्पर्क मार्फत सर्छन । केही रोगहरु असुरक्षित सम्पर्क तथा दुधको सेवनबाट सर्ने गर्छन । केहि रोगहरु बहुला कुकुरको टोकाईबाट सर्ने गर्छन । यसको सिकार उपचारमा संलग्न प्राविधिक र हेरचाह गर्ने ब्यक्तिहरु पर्छन ।
रेविज भनेको के हो सर ? यो खोप कति दिनको फरकमा लगाउनुपर्छ ?
भाईसरबाट सबै प्रकारका तातो रगत भएका स्तनधारी जनावरहरुलाई लाग्ने जुनोसिस रोग हो । यो रोगले जनस्वास्थ्यमा धेरै संख्यामा असर गर्न सक्छ । यसको लक्षण देखिसकेपछी कुनै उपचार हुदैन । त्यसैले हामी हाम्रो घर छरमिमेकमा पालेका कुकुर विरालोहरुलाई पहिलोपटक ३ महिनाको उमेरमा र १ महिना पछि थप मात्र दिने त्यसपछि प्रत्येक वर्ष खोप लगाउन सकिन्छ । खोप लागाउने ब्यवहारमा सुधार गर्न सकेमा डब्लुएचओको सन २०३० सम्म रेविज रोग उन्मुलन गर्ने लक्ष्यलाई पनि सहयोग हुन्छ ।
पशु सेवा कार्यालयबाट दिने सेवामा आम किसानहरूले के कस्ता सेवाहरु लिइरहेका छन् ?
हाम्रो कार्यालयबाट प्रदान गरिने सबै प्रकासका सेवाहरु सबै किसानहरुको पहुँचमा छ भन्न सकिदैन । धेरै सेवाहरु किसानहरुको आवश्यक्तामा भर पर्ने भएको हुँदा सबै किसानलाई सबै सेवा पुग्न सकेको छ भन्न मिल्दैन । हामीले प्रदान गर्ने ९० प्रतिशत सेवाहरु किसानहरुको पहुँचमा छ । धेरैजसो सेवाहरु किसानहरुको घरदैलोमै गएर दिन आदत छ । हामिले उपचार सेवा, खोप सेवा, परामर्स सेवा लगायतका दुई दर्जन भन्दा बढी सेवा प्रदान गरिरहेका छौ ।
कुखुरामा लाग्ने बर्ड फ्लु कस्तो रोग हो ?
यो रोग सबै प्रकारका पंक्षीहरुमा भाईरसको कारणले गर्दा लाग्ने जुनोसिस रोग हो । यो रोग लाग्यो भने फार्ममा भएका सबै पंक्षीहरुलाई नष्ठ गर्नु नै यसको अन्तिम विकल्प हो । यसको उपचार गर्दा झन धेरै धनजनको क्षति हुन सक्छ । भूमे गाउँपालिकामा यसको प्रभाव खास्सै छैन भन्दा पनि हुन्छ । हाम्रो गाउँपालिकामा धेरै असुरक्षित तरिकाले कुखुरा ओसार पसार हुदैन । सुरक्षित कुखुराहरु मात्र भित्रिन्छन । कदमकदाचित यो रोग देखिहाल्यो भने हामिले पालेका सबै कुखुरा नष्ट गर्नुपर्छ । कुखुरा तथा कुखुरा जन्य पदार्थ आयातमा पूर्ण प्रतिवन्द गर्नुपर्छ । प्रस्तुतीः वालाराम शेर्पाली