हरि जिज्ञासु
म प्रायः विचार लेख्छु । व्यक्तिगत विचार लेख्नको लागि मलाई खासै गाह्रो हुँदैन । तर यो लेख कहाँबाट लेख्न सुरु गर्ने भन्ने विषयमा धेरै गाह्रो भयो । एक घण्टासम्म कम्प्युटरमै अलमलिएर बल्ल “प्रेम भित्रको जात र जात भित्रको समाज” लेख्न सुरु गरेँ । जति नेपाल सुन्दर छ भनेर हिमाल र पहाडलाई देखाएर सुन्दरताको परिभाषा दिन्छौँ त्यो भन्दा सयौँ गुणा कुरुपता नेपाली समाज भित्र सामाजिक विभेद छ । मान्छेले मान्छेलाई घृणित दृष्टिले हेर्नु ठूलो कुरुपता हो ।
बेलाबेलामा अखबारमा मान्छेले मान्छेलाई विभेद गरेको घटनाहरू प्रकाशित हुन्छन् । ती प्रकाशित घटनाहरूले लक्षित समुदायको मात्र मन दुख्छ । सबै नेपाली नागरिकहरूको मन देख्नको लागि त जातीय विभेद देशबाट हराएर जानुपर्छ । मान्छेले मान्छेलाई नै विभेद गर्ने यस्तो प्रकारको कुरूप मानसिकतालाई सबै नेपालीहरूले नहटाएसम्म नत देश बन्छ, नत समाजमा सामाजिक सद्भाव निर्माण हुन्छ ।
नेपालको कुरूप सामाजिक प्रणाली जातीय भेदभावले देश विकासमा मुख्य लक्षलाई धेरै पछि धकेल्नेछ । अस्ती भर्खरै जुम्लामा दलित समुदायको युवकले उपल्लो जातको भनिने केटीसँग प्रेम विवाह गर्दा केटी पक्षका आफन्तले केटाको घर जलाइदिए । यी घटनाहरू त बाहिर आएर देखिएका घटनाहरु हुन् । अन्तरजातीय विवाह गरेकै कारण पीडा खेपिरहेका शाहासिक प्रेम जोडिहरुका सङ्घर्षका कथाहरू कति छन् कति ? मिडियामा नआएरमात्र हो । जातभित्रको प्रेम र प्रेम भित्रको समाज सँग संघर्ष गरिरहेका छन् ।
म बेलाबेलामा एकान्तमा सोचिरहन्छु, “आखिर यो मान्छे भन्ने तत्व यो संसारमा कति वर्ष रहन सक्छ र ? बढि बाँचेमा ९० वर्ष त हो । मृत्युले बोलायो भने आज होकि भोली पत्तो छैन । सबथोक छोडेर जानैपर्छ । जात, धर्म र धन सम्पती सबै सदाका लागि छोडिनेछ । अनि कहिले हामीले मान्छेलाई विभेद गर्न पाउने छैनौँ । कहिले हामीले दमाई, कामी र सार्कीले मेरो छोरी लगिदियो भनेर मुर्मुरीने पाउने छैनौँ । कहिले हामीले पवित्र प्रेमलाई छुटाउन प्रयास गर्न पाउने छैनौँ । हाम्रो एक मुठी सासले हामीलाई छोडेपछि हाम्रो चेतना र हाम्रो शरिर चितामा जलेर खरानी हुनेछ ।
नेपाली समाजमा त्यस्तो प्रकारको कुरुप सामाजिक प्रणाली छ जसले पवित्र प्रेमलाई समेत बन्देज लगाउन प्रयास गरिरहेको हुन्छ । सहर बजार तथा सामाजिक सञ्जालमा अन्जानमा ठोक्किएको अन्तरजातिय प्रेम जात थाह पाएपछि मनभित्रै जलेर खरानी हुन्छ । अर्थात प्रेम सकिन्छ । जातभित्रको कुरुपता देखिन सुरु गर्छ । धेरै प्रेमहरू कुरुपतामा परिनत हुन्छन् । सबैले अन्तरजातीय प्रेम गर्नुपर्छ र अन्तरजातीय विवाह गर्नैपर्छ भन्ने पनि होइन । मान्छेलाई मान्छे देखेर बसेको प्रेमलाई जलाएर खरानी बनाउनु उचित पनि होइन ।
यदि यो देशमा एकले अर्कालाई विभेद गर्ने प्रचलन नभएको भए यो देश कति सुन्दर हुन्थ्यो होला ? अन्तरजातीय विवाह गरेकै कारण युवायुवती घरबाट निकालिने र घर नै जलाईदिने स्थिति नभएको भए हाम्रो नेपाल कस्तो हुन्थ्यो होला ? हामी सबैले एकपटक कल्पना गरौँ न ? हामीले संधै भन्ने गर्छौँ, नी यदि हामीले कसैको कुभलो चितायौँ भने हामीलाई पाप लाग्छ । मलाई त लाग्छ कि यदि पाप नै लाग्ने हो भने जातकै कारण पवित्र प्रेमलाई छुटाउन चाहने सिंगो समाजलाई पाप लाग्छ । ईश्वर कत्तिपनि खुसी छैनन् । यदि अर्को जुनि हुदोरछ भने पक्कै पीडा दिन्छन् ।
यी पाप र धर्मको कुरा छोडिदियौँ । तर वास्तविक कुरा भनेकै तपाईँ र मैले एकदिन यो संसार छोड्नुपर्छ । एकदिन हामीले यो संसारका सबै आफन्तहरूलाई छोड्नेछौँ र आफन्तहरूले हामीलाई छोड्नेछन् । अनी हामी फेरि किन पवित्र प्रेमको बाधक बन्छौँ त ? आखिर लानु के छ ? यदि हाम्रा दिदीबहिनी वा छारोछोरी अन्तरजातिय प्रेम सम्बन्धमा छन् भने खुसीसाथ विहे गर्ने बातावरण मिलाउन हामीलाई किन गाह्रो पर्छ ? तपाईँ हामीलाई थाह छनी त जातीय विभेद भनेको यो कुरुप सामाजिक प्रणाली हो । यसलाई हामीले उखेल्नुपर्छ । यदि तपाईँ र हामीले मर्नुभन्दा पहिले पवित्र प्रेमलाई बन्देज लगाई राख्यौँ भने हामीलाई पाप नलाग्ला त ? हामीले पुज्ने देबता अर्थात भगवान हामीदेखि साँच्चिकै खुसी होलान त ?
समाजले त अन्तरजातीय विवाहलाई अस्वीकार गर्छ । तर त्यो समाज भनेकै तपाईँ र म हो । अनी हामी किन अस्वीकार गर्छौँ ? यो गम्भिर प्रश्न होइन र ? यदि तपाईँ अन्तरजातिय प्रेम सम्बन्धलाई स्वीकार गर्नुहुन्छ तर तपाईको बुवा आमा र बाजे बजैले स्वीकार गर्दैनन् भने तपाईँसँग उनीहरुलाई सम्झाउँन सक्ने क्षमता हुनुपर्छ । तपाईँले तपाईँको भाइबहीनीहरुलाई विभेदको दृष्टिकोणले शिक्षा दिनुहुँदैन । अहिले पनि सानो भाइबिहनीहरुलाई प्रश्न गरेर “बाबु तिमीले ठूलो भएपछि बिहे कोसँग गर्ने हो भन्दा उसले सजिलै आफ्नै जातको मान्छेसँग विहे गर्ने रुची राख्छ । उसले दलितसँग विहे गर्ने हो भन्दा सिधै हुँदैन भन्छ । अनि हाम्रो समाज त्यस्तो समाज छ जसले सानो बालकको समेत दिमागमा विभेदको आगो सल्काईरहेका छौँ ।
समाज भनेकै हामी हौँ र हामी भनेकै समाज हो । प्रेम भनेकै हामीमा छ घृणा भनेको तत्व पनि हामीसंगै छ । यदि अन्तरजातिय प्रेम सम्बन्धमा रहेका छोराछोरीको बीच प्रेमलाई देखेर हाम्रो मन किन घृणाले भरिन्छ त ? म फेरि प्रश्न गर्छु तपाईँ यो संसारमा कति बाँच्नुहुन्छ ? आखिर एकदिन धर्ती छोड्ने निश्चित छ हैन र ? कि तपाईँ हजारौँ बर्ष दलित समुदायलाई विभेद गर्दै बाँच्नुहुन्छ र ? । यदि मृत्युले बोलायो भने आज होकी भोली खरानी बन्नु पर्ने मान्छेको जुनीले अनी किन फेरि पवित्र प्रेमलाई तहसनहस पार्ने झोक चलाउनु ?
संसारमा रहुन्जेलसम्म सबैसँग मिठो बोलौँ । मान्छेले मान्छेलाई राम्रो दृष्टिले हेरौँ । यो समाजको कुसंस्कारलाई जरैदेखि उखेल्ने प्रयास गरौँ । त्यो नै एउटा परिवर्तनकारी जीवन हो । किन संकुचित भावनाले ग्रसित हुनु र । आखिर मरेर लानुपनि त केहि छैन । भेदभावले जलिरहेको समाजलाई भेदभावरहित बनाउनु तपाईँ र मेरो सबै भन्दा उत्तम लडाइ हो र सुन्दर जीवन हो । मैले माथी नै भनिसकेँ कसैको कुभलो चितायौँ भने पाप लाग्छ । हामी कुनै पनि व्यक्ति पापी हुनुहुँदैन । तपाईँ र मैले गरेको राम्रो कामले ईश्वर खुसी हुन्छन् तर रुकुम चौरजहारीमा प्रेमकै कारण घटेको घटना र ज्यान गुमाएका युवाहरूको जस्ता क्रियाकलापले ईश्वर खुसी पक्कै हुँदैनन् ।