गिरीप्रसाद बुढा
रुकुम पश्चिम जिल्ला कृषि पेशामा निर्भर रहेको एक पहाडी जिल्ला हो । रुकुम पश्चिमका बहुसंख्याक जनताको मुख्य पेशा कृषि नै रहेको छ । त्यसैले नेपालको कृषि क्षेत्रमा यो जिल्लाले महत्वपूर्ण स्थान लिएको छ । विशेष गरि तरकारी बीउ उत्पादनको क्षेत्रमा यो जिल्ला प्रसिद्ध रहेको छ । यो जिल्ला सुन्तला तथा अन्य फलफूल खेतिको लागि पनि प्रचुर सम्भावना बोकेको जिल्ला हो । यसैगरी अदुवा, बेसार जस्ता मसला बालिहरूको पनि यस जिल्लामा त्यत्तिकै सम्भावनाहरू रहेका छन् । यसैगरी मौरीपालन, पशुपालन जस्ता कृषि कर्मको लागि पनि यो जिल्लाको भूगोल निकै नै सुयोग्य देखिन्छ ।
यसप्रकारको कृषिमा निर्भर रुकुम पश्चिम जिल्लामा कृषि शिक्षा प्रदान गरेर योग्य र सक्षम कृषक जनशक्ति निर्माण गर्न सके यस जिल्लाले कृषिको क्षेत्रमा नयाँ फड्को मार्न सक्दछ ।

यसकोलागि तत्काल यस जिल्लाको कुनै एक क्याम्पसमा स्नातक तहमा कृषि संकाय अर्थात बि.एस.सी.एजी.को पढाई सञ्चालन गर्नु पर्ने आवश्याकता रहेको छ । यस प्रकारको आवश्याकतालाई परिपुर्ति गर्नकोलागि रुकुम पश्चिमको सदरमुकाममा रहेको जिल्लाकै जेष्ठ क्याम्पस मुसिकोट खलङ्गा बहुमुखि क्याम्पसमा बि.एस.सी.एजी.को कार्यक्रम संञ्चालन गर्नु पर्दछ भनेर छलफल चल्न थालेको बर्षाै वितिसकेको छ । मुसिकोट खलङ्गा बहुमुखि क्याम्पस २०३७ साल देखि २०७५ सालसम्म त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि समुदायकै लगानीमा सञ्चालनमा रहेको थियो । पछि जिल्लामा क्रियाशिल राजनीतिक दल, त्यसबेलाको क्याम्पस ब्यावस्थापन समिति लगायत जिल्लाका मुख्य प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वहरू सबैको बीचमा भएको छलफलमा यस क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा लैजाने अवधारणाको विकास भएको थियो ।

विशेष गरी मुसिकोट बहुमुखि क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा समायोजन गर्दा यो क्याम्पस पूर्ण रुपमा सरकारी क्याम्पस हुने र समुदाय आर्थिक भारबाट मुक्त हुने, शिक्षाको गुणस्तरमा बृद्धि हुने, समयसापेक्षा शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने जस्ता जनआकांक्षाहरू रहेका थिए । यसै पृष्ठभूमिमा २०७५ भाद्र ११ गते जिल्लाकै जेष्ठ क्याम्पस मुसिकोट बहुमुखि क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा समायोजन हुन पुगेको थियो । यसरी यो क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक भएपछि अब यस क्याम्पसमा बि.एस.सी.एजी. कार्यक्रम सञ्चालन हुने कुराले यहाँका जनतालाई थप आशाबादी बनायो । राजनीतिक दलका नेता कार्यकर्ताहरू देखि सांसद मन्त्रीहरूसम्म सवैको लागि बि.एस.सी.एजी. भाषणको एउटा राम्रो विषयबस्तु बन्न पुग्यो । यसरी रुकुम पश्चिमको मुसिकोट खलङ्गा बहुमुखि क्याम्पसमा बि.एस.सी.एजी. सञ्चालन गर्नकोलागि कुरा र भाषणमा जति सजिलो छ व्यवहारमा त्यत्ति नै कठिन र चुनौतिपूर्ण रहेछ भन्ने कुरा बि.एस.सी.एजी. कार्यक्रमको लागि मुसिकोट खलङ्गा क्याम्पसले गरिरहेको यो अत्यासलाग्दो लामो पर्खाइले पनि प्रमाणित गरिरहेको छ । यस विषयमा मध्यपश्चिम विश्वविद्यालयका भिसी स्वयम रुकुम आएर एउटा कार्यक्रम मार्फत “तिमीहरू रुकुम पश्चिममा बि.एस.सी.एजी.को लागि खाली गफ मात्र गरिरहेका छौ तर यो कार्यक्रम लागु गराउनका ेलागि मापदण्ड पुरा गर्नतर्फ लागेका छैनौं ।” भनेर यहाँका जनप्रतिनिधि तथा राजनीतिक दलहरूलाई ठाडो चुनौती दिएर गएका छन् । २०७० जेठ ३ गतेका दिन मुसिकोट बहुमुखि क्याम्पस खलंगामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले यो चुनौति दिएका थिए ।
भिसी नरबहादुर सिंह रजिष्ट्रार र विश्वविद्यालयका अन्य टिम सहित भ्रमणको रुपमा रुकुम आएको अवसरमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लाका राजनीतिक दल, पत्रकारका साथै क्याम्पसका विद्यार्थी तथा शिक्षक कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा थुप्रै विषयवस्तुहरूसँगै बि.एस.सी.एजी.को विषयमा पनि निकै गम्भिर रुपमा चर्चा चलेको थियो । छलफलको क्रममा राजनीतिक दलका नेताहरूले जिल्लामा कृषि शिक्षको महत्व र आवश्याकता दर्शाउँदै मुसिकोट खलंगा बहुमुखि क्याम्पसमा यथासिघ्र बि.एस.सी.एजी.को कार्यक्रम लागु गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
यसै क्रममा बि.एस.सी एजी. कार्यक्रम लागु गर्ने कुरामा आजै प्रतिबद्धता जनाएर जानु पर्ने भन्दै दलका नेताहरूले भिसीलाई दवाव दिएका थिए । तर यस खालको प्रतिबद्धता प्रकट गर्नकोलागि भिसीले राजनीतिक दल र यहाँका जनप्रतिनिधिहरूलाई केही शर्तहरू राख्दै भनेका थिए “तपाईहरूले राखेको कुरा म स्वीकार गर्दछु तर त्यो भन्दा पहिले तपाईहरूले मेरो माग पनि पुरा गरिदिनु पर्दछ ।” यति भन्दै उनले रामघाट लेकबेसी सुर्खेतको उदाहरण प्रस्तुत गरेका थिए । त्यो ठाउँमा कृषिको पढाई सञ्चालन गर्नकोलागि हाल लेकबेसीले ७७ विघा तथा भेरीगङ्गाले ५४ विघा जमिन यसैगरी चारओटा होस्टेल र दुइवटा एकेडेमी भवन विश्व विद्यालयलाई उपलब्ध गराएको र हालसम्म त्यहाँका स्थानियले ३ करोड लगानी गरिसकेको उदाहरण दिँदै भिसीले जनप्रतिनिधि तथा दलका नेताहरूलाई तपाईहरूले रामघाट लेकबेसीले जसरी भौतिक संरचना तथा लगानी विश्वबिद्यालयकोलागि गर्न तयार हुनुहुन्छ कि हुँदैन ? भन्दै प्रश्न गरेका थिए । बि.एस.सी.एजी. कार्यक्रम सञ्चालन गर्दा शिक्षक, कर्मचारी र विद्यार्थिहरू बस्नकोलागि भवन चाहियो ।

यसै गरि अर्काे महत्वपूर्ण कुरा जमिन चाहियो । यि सबै शर्तहरू पुरा गर्नु भयो भने बि.एस.सी.एजी. कार्यक्रम लागु गर्नेकोलागि म जतिबेला पनि तयार हुन सक्छु । के तपाईहरूले मैले भनेका यि मागहरू पुरा गर्न सक्नु हुन्छ ? यसरी त्यो अन्तरक्रिया कार्यक्रममा सबैले भिसीको खरो प्रश्नहरू सुन्नु परेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रमको सारतत्व अनुसार अब राजनीतिक दल तथा यहाँका जनप्रतिनिधीहरू साँच्चिकै गम्भिर हुनुपर्ने भएको छ । अब रुकुम पश्चिमका सांसद, मन्त्री, स्थानीय तहका जनप्रतिनिधि सबैले भिसीले उठाएका खरो प्रश्नहरूको उचित जवाफ दिन सक्नु पर्दछ । रुकुममा कृषि शिक्षा ल्याउछौ भनेर लामो समयसम्म केवल गफ मात्रै गरेर अब जताले पट्याउनेवाला छैनन् । यदि रुकुम जिल्लामा कृषि शिक्षा आवश्याकता छ भन्ने लाग्छ भने यसतर्फ लगानी गर्न स्थानीय सरकार देखि प्रदेश तथा संघीय सरकारसम्मको ध्यान आकर्षित गर्न यहाँका सबै जनप्रतिनीधि तथा ठूला दलका नेताहरू लाग्नै पर्दछ । वास्तवमा भन्ने हो भने रुकुम पश्चिममा सडक, विजुली, पुल, भवन आदी विकास निर्माणमा भएको लगानीको अनुपात अनुसार राम्रो शिक्षाको विकासमा लगानी गर्नपर्छ भन्ने विचारले खासै स्थान पाउन सकेको छैन ।

तसर्थ समय सापेक्ष जीवन उपयोगी शिक्षाको विकासमा सबैले ध्यान दिनु जरुरी छ । हाम्रो जस्तो कृषिमा आधारित जिल्लालाई दक्ष कृषक जनशक्ति उत्पादनको जिल्ला बनाउने उदेश्य हामीले बोक्नु पर्दछ । तत्काल मुसिकोट खलङ्गा बहुमुखि क्याम्पसमा बि.एस.सी.एजी.कार्यक्रमलाई लागु गर्न सकियो भने यस प्रकारको दक्ष कृषक जनशक्ति निर्माण गर्ने काममा ठूलै मदत पुग्न सक्दछ । तसर्थ मुसिकोट खलङ्गा बहुमुखि क्याम्पसमा बि.एस.सी.एजी. कार्यक्रम लागु गर्नका लागि चाहिने जमिन, भवन, पैशा, जनशक्ति, खादि जुटाउन स्थानीय तह, राजनीतिक दल, सांसद, मन्त्री लगायतका जनप्रतिनिधीहरू, प्राज्ञिक ब्यक्तित्वहरू सबैले यसमा ध्यान केन्द्रीत गर्नु पर्ने आवश्याकता छ । अब मुसिकोट खलङ्गा बहुमुखि क्याम्पसलाई बि.एस.सी. एजि.को पर्खाइमा धेरै समय बस्नदिनु हुँदैन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto