हरि जिज्ञासु
कर्णाली एउटा सभ्यता हो । नेपाली खस भाषाको इतिहासमा कर्णाली जोडिन्छ । विश्वलाई सुन्दर नेपाल भनेर चिनाउनको लागि कर्णालीका सेता हिमालहरुले भूमिका खेलेका छन् । मुगुको रारा र डोल्पाको सेफोक्सण्डो तालहरुले विश्वसामु नेपाल चिनाउनको लागि महत्वपूर्ण भूमिका खेलको कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । विश्वसामु नेपाल चिनाउनको लागि संधै सक्रिय रहने कर्णाली किन शिक्षा, स्वास्थ्य र रोजगारबाट पछि परेको छत ? यो एउटा सोचनीय विषय हो ।
कर्णाली प्रदेशमा जम्मा १० वटा जिल्ला छन् । दश वटा जिल्लामा २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका रहेका छन् । कर्णालीमा सबैगरी ७ सय १८ वडा रहेका छन् । अब हामीले कल्पना गरौँ राज्यको दृष्टिकोणबाट टाढा रहेको कर्णालीका ७ सय १८ वडाहरुमा विकासको रंगहरुले रंगिन सुरु गरेको छ की छैन ? विकासको रंगले रंगिनु भनेको शिक्षा, स्वास्थ्य, यातायात र गरिबीको दागहरुलाई विकासको रंगले पोत्नु हो । तर गरिबी र बेरोजगारको दागहरु कर्णालीमा प्रशस्त भेटिन्छन् । कर्णालीका ७ सय १८ वडामा रहेका दागहरु मेटाउनको लागि संघीय सरकार र प्रदेश सरकार अझै पूर्ण रुपमा लागिपरेको देखिदैन । हरेक आर्थिक वर्षको बजेट भाषणमा कर्णाली देखिन्छ तर बजेट भाषणपछि कर्णाली कहाँ जान्छ अत्तोपत्तो हुँदैन । त्यसकारण विकास र समृद्धिको यात्रामा हिँडिरहेको हाम्रो कर्णाली बेलाबेलामा थाकेको हुन्छ ।
देशको राजधानीबाट कर्णाली धेरै टाढा भएको कारण संघियता पछि विकासले फट्को मार्छकी भन्ने आशा थियो । स्थानीय तहबाट विकासको यात्रा अलि छिटो हुन्छकि भन्ने आशा अझै पुरा भएको छैन । सिंगो कर्णालीको विकासको अबस्थाबारे हामी कर्णालीका धेरै जिल्लाको अवलोकन गरेका व्यक्तिहरुलाई मात्र थाहा छ । कर्णालीले कर्णालीकै विकास र समृद्धिको लागि आवाज उठाउन राजनीतिक व्यक्तिहरू नजन्माएको पनि होइन । कर्णालीबाट धेरै व्यक्तिहरु संघीय संसद हुदै मन्त्री बने । तर विकास जति गर्न खोजेपनि त्यति हुनै सकेको छैन ।
कर्णालीका दश वटा जिल्ला सदरमुकाममा गाडी पुग्ने वित्तिकै कर्णालीका दुर्गम जिल्लाहरु केन्द्रीय सडक सञ्जालमा जोड्यौँ भनेर नेताहरु खुसी हुन्छन् । एउटा दुर्गम जिल्लालाई केन्द्रीय सडक सञ्जालमा जोड्नु भनेको ठूलै उपलब्धी पनि हो तर त्यसलाई मात्र उपलब्धि भन्दै बस्ने हो भने हामी अझै पछि पर्न सक्छौँ । कर्णालीको दुर्गम जिल्लाको सदुरमकाम त सडक सञ्जालमा जोडिए अब प्रत्येक जिल्लाको दुर्गम गाउँहरुमा सडक पु¥याउनको लागि सरकार लागि पर्नुपर्छ । कर्णालीको शिक्षाको अबस्था निकै नाजुक छ । त्यो नाजुक शिक्षा प्रर्णालीलाई कसरी माथी उठाउन सकिन्छ यो विषयमा जिम्मेवारी निकायसंग गम्भिर बहस हुनुपर्छ । हरेक वर्ष प्रकाशित हुने एस.ई परिक्षाको परिणाम हेर्न विक्तिकै थाहा हुन्छ हाम्रो कर्णाली कति कमजोर छ ।
जव एउटा व्यक्तिमा शिक्षा हुदैन त्यसपछि त्यो व्यक्ति हरेक कुराबाट पछि पर्दैजान्छ । उसको आत्माबल न्यून हुन्छ । आजका दिनसम्म कर्णालीका धेरै भाइबहिनीहरुले चार–पाँच कक्षा पढेर घरको बाध्यताको कारण पढाइ छोडेका छन् । यदि कसैले मेहनतसाथ पढ्ने चाहाना गरेता पनि गाउँदेखि स्कुल धेरै टाढा छ । अब त झन वर्षात सुरु हुनथाल्यो । खोलानाला बढ्न थाल्छन् । धेरै ठाउँमा झुलुङ्गे पुल समेत हुदैन । कतिपय बालबालिकाहरु स्कुल जानेक्रममा खोलाले बगाएको समाचार हामी पढ्छौँ । यो समस्या देशका विभिन्न जिल्लाहरुमा भयतापनि कर्णालीमा अझ बढि यस्ता समस्याहरु छन् । त्यसकारण यस्ता खालका समस्याहरुको समाधान कहिले होला भनेर कर्णाली प्रतिक्षामा बसीरहेको छ कर्णालीबासीहरु प्रतिक्षामा रहेका छन् ।
चेतनाको अभावको कारणले गर्दाखेरी संस्कृतिक रुपमा पनि हामी कमजोर छौँ ।
सामाजिक विभेदले जरा गाडेको छ । सामाजिक विभेदको अन्त्य गर्नुपनि एउटा विकास हो । अझ कर्णाली पछि पर्नुको मुख्य कारण भनेकै चेतनाको कमीले देखा परेको सामाजिक विभेद मुख्य घातक छ । यस्ता खालको सामाजिक विभेदजन्य कुराहरुबाट कर्णाली चोको हुनुपनि विकास हो । जातको कारण रुकुमको चौरजहारीमा २०७७ जेठ १० गते भएको हत्याकाण्डले रुकुमको बदानाम ग¥यो । सिंगो देशले कर्णालीलाई अशिक्षा र चेताको अभावमा गुज्रीरहेको कर्णालीको रुपमा चिन्ने मौका पायो । जातीय विभेदसँग जोडिएको नबराज विक लगायत ६ जनाको हत्याको घटनाले केहि समय काठमाण्डौँमा घर रुकुम बताउन गाह्रो हुन्थ्यो । रुकुम भनेपछि चेतनाको अभावमा बाँचिरहेको जिल्लाको रुपमा मान्छेहरुले हेर्ने गर्थे । हुन त जातिय विभेदको मामिलामा देश नै चोको छैन तर पनि कर्णाली अझ विशेषरुपमा चिनिन्छ ।
अब हामीले कर्णालीको प्राकृतिक स्रोत र साधनको कुरा गरौँ । कर्णालीबासीको बाँच्ने आधार भनेकै कर्णालीका सेता हिमालको फेदिमा पाइने अनेक जटिबुटी हुन् । जटीबुटीको लागि प्रख्यात छ । कर्णालीबासीको गरिबीलाई कम गर्न सहयोग गरेको छ । यार्सा, लगायतका अनेकौँ जटिबुटीहरु कर्णालीमा पाइन्छ तर दुुःखको कुरो त्यस्तो खालको आयस्रोतलाई सजिलो तरिकाले हात पार्न पनि गाह्रो छ । सरकारले जटिबुटीलाई कर्णालीबासीको लागि मुख्य आम्दानीको स्रोतको रुपमा व्यवस्थापन गर्ने सरकारको निती र कार्यक्रम छैन । यदि कर्णालीका हिमाल छेउछाउमा भएका अनेकन प्राकृतिक स्रोतसाधनलाई सरकारले उचित व्यवस्थापन गरी जनताको आयस्रोतको रुपमा विकास ग¥यो भने कर्णाली विकासको यात्रा अलि छिटो हुन्छ ।
स्वदेशी पर्यटकहरुको लागि कर्णाली घुम्नलाई क्षमता कम छ । कर्णाली पुग्नको लागि खर्चिलो धेरै छ । नेपाल आर्थिक रुपमा संघर्षरत भएका कारण आन्तरिक पर्यटकहरुको आमन्त्रणले कर्णालीको पर्यटन विकास फस्टाउनु गाह्रो छ । यदि कुनै पनि देशको अर्थतन्त्र कमजोर भयो भने आन्तरिक पर्यटकहरु चलायमान हुन सक्दैनन् । त्यसैपनि राजधानीबाट धेरै टाढा भएको कारण कर्णालीमा आन्तरिक पर्यटकहरु कम पुग्छन् । हामीले हाम्रो कर्णालीको पर्यटन व्यवसायीलाई फलदायिक बनाउनको लागि पहिलो कुरा हामी सबै मिलेर कर्णाली चिनाउने अभियानमा लाग्नुपर्छ । कर्णाली सरकारले पर्यटनको लागि लगानी गर्नुपर्छ । यदि कर्णाली सरकारले कर्णाली चिनाउनको लागि मेहनतसाथ लागि परेमा कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटको आगमनले कर्णाली फाइदमा जान्छ । फेरि कर्णालीलाई पर्यटनसँग जोड्नको लागि पनि अन्य विकास चाहिन्छ । शिक्षा, स्वास्थ्य र यातायातलाई विकासको पहिलो प्राथामिकतामा नराखेर पर्यटन विकासलाई हामी अगि बढाउन सक्दैनौँ ।
अब कर्णालीलाई विकासको गतिमा अगाडि बढाउनको लागि सम्पूर्ण कर्णालीबासीहरु तयार हुनुपर्छ । कर्णालीमा जन्मेर आफ्नो राजनीतिक यात्रालाई कर्णालीका गाउँहरुबाट उचाइमा पु¥याएका नेता ज्यूहरु पनि लागि पर्नुपर्छ । कर्णालीको माटोमा जन्मेर राज्यको विभिन्न जिम्मेवारी निकायमा पुगेका शिक्षित व्यक्तिहरु पनि कर्णालीको विकासको लागि आफ्नो क्षमता प्रयोग गर्नैपर्छ । विकासको प्रतिक्षामा रहेको कर्णालीलाई देशकै समृद्धिमय कर्णाली बनाउनको लागि कर्णाली सरकारको सबै भन्दा ठूलो भूमिका छ । कर्णालीका नेताहरुले कर्णालीको जनताको भावनाको कदर गर्नुपर्छ । कर्णालीका झुपटीहरुको दर्दनाक कथा सुन्न तयार हुनुपर्छ । कर्णालीबासीसँग अनेकौँ पीडा छन् ती पीडालाई सुन्न र देख्न तयार हुनुपर्छ । जनताको अनगन्ती पीडाहरु सुनिदिने नेता खासै कर्णालीमा छैनन् । त्यसकारण विकासको प्रतिक्षा गरिरहेको कारण हामी सबै कर्णालीको विकासको यात्रामा अगाडि बढ्नुपर्छ ।
कर्णाली विकासको लागि सञ्चार पनि अतिवाश्यक कुरा हो । सञ्चारको सुविधा कर्णालीका सबै वडाहरुमा पु¥याउनुपर्छ । विकट गाउँहरुमा इन्टरनेटको सुविधा गाह्रो छ ।
रेडियोको भेरमा सूचनाप्रदान गर्ने अबस्था अहिले छ । विभिन्न जिल्लामा साप्ताहिक पत्रिकाहरु प्रकाशन भइरहेका छन् । यस्ताखालका सूचनामुलक पत्रिकालाई कर्णाली सरकारले लगानी गर्नुपर्छ । सञ्चार क्षेत्रले कर्णाली चिनाउको लागि महत्वपूर्ण भूमिका पनि खेलेको छ र खेल्ने छ । हाल रुकुम मुसिकोटबाट प्रकासित आहा सञ्चार साप्ताहिक पत्रिकाले आफ्नो प्रकाशनकालको १० वर्ष पुरा गरेर ११ वर्षमा प्रवेश गर्दैछ । पत्रकारितालाई विभिन्न संघर्षका बीचमा पनि यहाँ सम्म पु¥याएर रुकुमेली जनताको चेतनाको दायरालाई फराकिलो बनाई योगदान पु¥याउनुभएको लागि सम्पादक मेघराज खड्का ज्यूलाई सम्मानका साथ हार्दिक बधाई समेत व्यक्त गर्दछु । किनकि यस्तै व्यक्तिहरुले कर्णाली चिनाउनको लागि थप भूमिका खेलिरहनुभएको छ ।