कृपाराम ओली (दयाराम)
त्रिवेणी ७ कुरल रुकुम पश्चिम
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, मन्त्रीहरू, संसदहरु तथा सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु । रुकुम जिल्ला सहित समग्र समग्र वर्तमान परिवेश सम्बन्धमा तपाईँहरूलाई म एउटा खुला पत्र पेश गर्न चाहन्छु । सर्वप्रथम म रुकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिका वडा नं ७ मा जन्मेको सचेत नागरिकको तर्फबाट सवैलाई नमस्कार ।
विशेष कुरा के हो त भन्दा नेपालमा गणतन्त्र स्थापना भएदेखि केही भएन भनेर गाली गरेर समय विताउने कर्म नगर्ने, फलको मात्र आश गर्ने समग्र हामी नेपाली दाजुभाइ दिदी बहिनीहरूको विषयमा तपाईँहरू समक्ष केही कुरा राख्न चाहन्छु । अहिले समग्र समाजमा हामी कस्ता भएका छौ त भन्दा अमेरिका, बेलायत, जापान, चीन र दक्षिण कोरियाका मान्छे भन्दा बढी सुखी धनी ज्ञानी सबै कुरा जान्ने भनेको पटक्कै नमान्ने अर्काको राम्रो कामको प्रशंसा गर्नुभन्दा नराम्रा पक्षमात्रै हेरेर गाली मात्र आलोचना मात्र गर्न जान्ने । अहिलेको आयोडिन नुन खाएर हामीलाई रिस र डाहाको विकास भएको छ । हामी अर्काको राम्रो काम देखेर सहन नसक्ने अवस्थामा पुग्यौं । कोहीले कसैको राम्रो कामको प्रशंसा गरेभने मन जलाएर भुतुक्क हुने, बाटोमा पछारिएर लडेमा दुःख पाएमा खुशीले मात्तिएर हाँसी उफ्री उफ्री नाँच्ने प्रवृत्तिको विकास हाम्रो बन्यो र जति सक्यो अर्कालाई होच्याएर घमण्ड गरेपछि हाम्रो शान मान बढ्ने भयो । पहिले पञ्चायत कालमा गाउँ पञ्चायतको प्रधानपञ्च देख्दा हामी डर मान्थ्यौं भर मान्थ्यौं । तर अहिलेको जमानामा जनप्रतिनिधिहरूलाई मात्र नभई एकले अर्कोलाई नटेरेको अवस्था छ । लोकतन्त्र, गणतन्त्रको नाममा अधिकार वढी पाएको अवस्था छ । हामी सबैले मन्त्री हुने हैसियत राख्ने हो भने जनता को हुने हो । सबैले सुविधा खोज्ने हो भने खेतबारीमा उत्पादन कसले गर्ने हो ? हामीले कस्तो किसिमको शिक्षा आर्जन गरेका रहेछौ ? मलाई अचम्म लागेको छ । के हामीले पढेका किताबमा गाईभैंसी, खसी बाख्रा कुखुरा पालेमा पुण्य नपाउने पाप लाग्ने इज्जत जाने समाजमा सम्मानित भएर बाँच्न नसकिने भएर हो वा के हो ? हामी पढेका सम्पूर्ण बौद्धिक तप्काहरु लोकसेवा, शिक्षक सेवामा निर्भर रहनुपर्ने । के नेपाल सरकारको लोकसेवा, शिक्षक सेवा आयोगले पढेका जति छन् सबैलाई नोकरी दिएर बेरोजगार समस्या हल गर्न सक्ला ?
लोकसेवा, शिक्षक सेवा आयोगबाट लिइने परीक्षाबाट के कम्तीमा पचास लाख युवाहरू रोजगारबाट लाभान्वित हुन सक्लान् ? लोकसेवा आयोगको परीक्षाको तयारी गर्न काठमाडौँमा बस्दा आफ्नो जग्गाजमिन बेचेर साहुको ऋण तिर्न नसकेर पढेका युवाहरू विदेश पलायन भएको अवस्था छ । लोकसेवा शिक्षक सेवामा असफल युवापङ्क्ति आत्महत्या गर्न तम्सिरहेको समयमा सोचेको काम सफल भएन केही गर्न सकिएन भनेर मनोवैज्ञानिक रुपमा कमजोर भएको अवस्था छ । लोकसेवा शिक्षक सेवा आयोगको जागिर बौद्धिक वा भाग्योदय चिट्टा परेकाले मात्र पाउने सम्भावना रहेछ । कसलाई भाग्योदय चट्टाले तान्ने हो थाहा हुँदैन । बरु यसको भाग्योदय चिट्टा ट्युसन पढाउने प्रशिक्षकहरूलाई परेको छ किनकी उहाँहरूले अरवौ पैसा कमाएर नेपालका बैंक वित्तिय संस्थामा नअटाएर विदेशी बैंकहरूमा जम्मा गरिरहनुभएको छ । तर पढाई ज्ञान आर्जन गर्ने कुरा जागिर खानेले मात्र गर्ने होइन नखानेले पनि अध्ययन गर्नु राम्रो हो यसमा समयको सदुपयोग हुन्छ । धेरै कुरा मैले जानेको छु भनेर म घमण्ड गर्दिन । त्रिवेणी २ सिम्रतु रुकुम पश्चिममा प्रत्येक नयाँ वर्षको अवसरमा सामान्य ज्ञान र आई क्यूको चासो हुने युवा विधार्थी भाई वहिनीहरुको लागि हाजिरी जवाफ प्रतियोगिता मयुर युवा क्लबले आयोजना गरेको हुन्थ्यो अवका वर्षहरूमा टिकटिकमा नाचेपछि लोकसेवामा सफल भइन्छ भनेर हो वा के हो ? हाजिरी जवाफ प्रतियोगिता राखेमा बढी खर्च लाग्छ भनेर हो वा के हो ? प्रतियोगिता नराखेकोमा दुःख लागेको छ । यसमा कुतर्क गरेर गुनासो पोख्नु भन्दा नपोख्नु नै वेश । अहिले त स्वदेशमा काम गरेर के फाइदा ? गाउँमा जग्गाजमिनहरु बाँझो भइसके । एक दशक अगाडि गाउँमा जग्गा किन्नेहरुले जग्गा गाउँमा किन्न पाइएन भनेर मारामार मुद्दा मामिला गर्थे पहिले गाउँमा एक हातको मूल्य एक लाख पर्दथ्यो अव गाउँमा बाँझो राखेको जमिनको मूल्य कति लाख पर्ला ? पहिले मकैको ढिँडो रोटी खाएमा पौष्टिक तत्व पाइन्छ भन्ने चलन थियो अहिले चटपटे र दश बर्स अघिको कुहेको भारतबाट आयत गरिएको चामलको भात खाएमा पोषण पाइन्छ भन्ने चलन छ । पहिले कामकाज गरे स्वास्थ्य राम्रो हुन्छ भन्ने चलन थियो अहिले कामकाज नगरी सुख सुविधामा बसेमा स्वास्थ्य राम्रो हुन्छ भन्ने चलन छ । पहिलेका शिक्षकले चकले लेखेर पढाउने चलन थियो अहिलेका शिक्षकहरूले कम्प्युटर र प्रोजेक्टर प्रयोग गरेर पढाउने चलन छ ।
गाउँमा वस्नुभन्दा अमेरिका, अस्ट्रेलिया,जापान, दक्षिण, कोरिया गए फाइदै फाइदा भनेर कर्मचारी युवाहरू सबै लागेको पाइन्छ । अमेरिकामा महिनाको पाँचदेखि सातलाख युवाहरूले कमाई गर्छन भन्ने सुनिन्छ । अहिले गाउँमा साहुमहाजन कहाँ ऋण कार्न जाँदा एक पैसा पनि पाउँन मुस्किल छ । यसमा धेरै आर्थिक लगानी गर्नुपर्ने देखिन्छ । थुप्रै पैसा कमाएका मानिसहरको तन पनि छिनेको छ मन पनि छिनेको छ । किनकी पैसाले सन्तुष्टि प्राप्त गरेको देखिएन । झन अझै असन्तुष्टि पलाएर घमण्डी भएको एकले अर्कालाई हेर्ने दृष्टि फरक बनाएको र मानवीय मुल्य मान्यता विर्सने गराएको छ । अर्कोकुरा दाजुभाइ, समाजमा इष्टमित्र, नेता, जनता,मन्त्री,प्रधानमन्त्री,राष्ट्रपति सम्म सबैको सम्बन्ध विगार्ने पैसा नै हो । किनकी नेपालमा दुईचार जना धनी व्यक्तिहरूसँग धन पैसा छ करोडौं नेपाली गरीव छन् नेपाल सरकार गरीब छ । सरकार भन्दा दलालीहरु धनी छन् ।
भारतमा नरेन्द्र मोदीले रु १००० र ५०० को नोट खारेज गरे जस्तो नेपाल सरकारले एकचोटी त्यो दरका नोटहरु बन्द नगरेमा कालोधन्दा गर्ने दलालीहरुबाट कब्जा गरेर नष्ट नगरेमा यो देशमा आर्थिक सन्तुलन हुन सक्दैन । सँधै चरम आर्थिक शोषण उत्पीडन बेहोर्नुपर्ने सरकार भिखारी र दलाल मालिक बन्ने अवस्था सृजना हुन्छ । अथवा नेपालमा रहेका दलाली मेनपावरका सेयरहोल्डर धनीहरूलाई विदेशी बैंकमा रकम जम्मा गर्न नपाइने नेपालका बैंकहरूमा रकम जम्मा गर्ने नियम कानुन नेपाल सरकार र प्रतिनिधि सभाबाट निर्वाचित भएका संसद् प्रतिनिधिहरूले बनाउनुपर्छ । नेपाल सरकार र संसद्लाई ठेकेदार र दलालहरूले किनेभने त हामी साना कमिलाहरुले राखेको कुरा कसले सुन्ला र ? मैले मात्र यो देशको चासो, चिन्ता गरेर के हुने थियो र विश्वको सबभन्दा गरीब जनता र गरीव देश भनेर एक नम्बरमा नेपाल भनेर विश्वका बौद्धिक वर्गले अध्ययन गर्ने अवसर पाउने त हो । नेपालका बैंकहरूमा दलालहरूले रकम जम्मा गरेभने नेपालमा चरम आर्थिक मन्दी र संकट वेहोर्नुपर्दैन । यसमा म अर्थविज्ञ अर्थसम्बन्धी सवै कुरा थाहा पाएको, जानेको मान्छे होईन । प्रमाणपत्र तहमा अर्थशास्त्र पढेको विद्यार्थी हुँ । मानिस रुपियाँ जपीजपी मर्छन रुपियाँ छिनछिन डेरा सर्छन उपियाँको झै सरुवा बानी यिनको सम्झनुपर्छ । नानी भन्ने लेखनाथ पौडेलले कक्षा १० मा लेखेको कविता मलाई अहिले याद भएको छ । पैसाको नाममा हामी सवै अराजक बन्यौ । पैसाले गाजा भाङ चरेस खाएर आफ्नो सन्तुलन गुमाउने समस्या देखि विभिन्न माध्यमबाट आत्महत्याको बाटो रोज्ने बाध्यता बनिसकेको छ ।
अव म तपाईँहरूलाई अर्को प्रसँग जोड्न चाहन्छु कुरा के हो त भन्दा आदरणीय गुरुआमा, गुरु अथवा शिक्षक शिक्षिकाले पढाउँदा कम्तीमा श्रममा आस्थावान हुने तरिकाले अध्यापन गराउनुहुनेछ । अहिले बजारमा बरालिएर हिड्ने थुप्रै युवापंक्तिहरु छन् । काम पाएका छैनन् । काम पाएर पनि जाँगर लगाउँदैनन । मोवाईलमा टिकटकमा नाँच्नेहरुको थुप्रै जमात छ । समाजमा सवै विकृती विसंगती र नियम कानुन उल्लङघनका घटनाहरु हुनुको मुख्य कारण युवाहरु वेरोजगार भएर हो । काम नपाएर हो । कम्तीमा शिक्षकहरुज्यूले रुख कसरी चढ्ने ? घाँस कसरी काट्ने ? मकै गहुँ कसरी उत्पादन गर्ने तरकारी फलफुल कसरी उत्पादन गर्ने ? भनेर सर्वसुलभ शिक्षा दिने प्रयोगात्मक अभ्यास गराउने अनुगमन गर्ने व्यवस्था हुने हो र प्रयोगात्मक मुल्याङनको परीक्षा गराउने हो भने धेरै वेरोजगार युवाहरु जन्मिदैनन् स्वदेशमा श्रम गर्ने संस्कृतिको विकास हुन्छ । कक्षामा १०० जना विद्यार्थी पढाएर १०० जना तीक्ष्ण दिमागी छन् सवै नेपाल सरकारको स्थायी नोकरीमा प्रवेश गर्छन भनेर कसरी ग्यारेन्टी गर्न सक्नुहुन्छ ? धेरै फुर्समा वस्दा सकारात्मक भन्दा नकारात्मक कुराहरु सोच्ने क्षमताको विकास हुन्छ ।
म हाम्रै रुकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिका वडा नं २ को स्यानाखर्कमा अवलोकन भ्रमणमा पुग्दा श्रमप्रति निकै आस्थावान व्यक्तिहरूसँग भेट गरे । मैले भेट गरेका व्यक्ति श्री ठान वहादुर वुढाथोकी हुनुहुन्छ । उहाँको घरमा म पुग्दा मैलै हाम्रो बाजे बुवाको पालामा ठेट्टाको कपडा बुन्ने गरेको इतिहास सम्झे । उद्यमी ठान वहादुर वुढाथोकीले कपडा झोला बुनिरहेको मैले देखे । कपडा बुन्ने काठको तानको सचित्र मैले प्रत्यक्ष आँखाले देखे । मैले के सम्झे भने के नेपालमा ठान वहादुर वुढाथोकीले वुनेको कपडा लगाउँदा ईज्जत जाने विदेशका उद्योगमा वुनेका महँगो कपडा लगाउँदैमा इज्जत आउने हो त यो पक्कै होइन होला भनेर मैलै उद्यमी ठान वहादुर वुढाथोकीबाट झोला र कपडा किनेर चिनो घरमा ल्याएँ । ठान वहादुर वुढाथोकी जस्ता उद्यमीको सम्मान हाम्रो समाजले सरकारले गर्न सक्ने हो भने देश गरीव हुने छैन र अहिलेको जस्तो चरम आर्थिक संकट व्यहोर्नु पर्ने छैन । संसद सचिवालयमा माननीय संसद सदस्यहरुको गफ मात्र हुने हो भने हामी पछाडीका जनताहरुले यो कुरा इन्द्रका अगाडी स्वर्गको वयान जस्तो हुने छ । हाम्रो देशमा सियो उत्पादन गर्ने उद्योग हामीले बनाउन नसक्ने र कल्पना, कुराहरु हावामा महल बनाउने गरेमा देश कसरी अगाडी बढ्ला सवैले सोच्नुपर्ने वेला आएको छ । साना साना उद्योगहरु त कम्तीमा सञ्चालन गर्नुपर्ने हो देशमा उद्योग कलकारखाना त्यति सञ्चालन भएको देखिदैन । किसानले उत्पादन गरेको बस्तुहरु वजारमा विक्री हुन नसकेर नष्ट भएको छ । बजारीकरण हुनुपर्ने हो हुन सकिरहेको छैन । हाटवजार लगाउने संस्कृति विर्सेको जस्तो छ ।
अव देशमा केही विकास भएन त हामीले विकास गरेनौ त भन्ने प्रश्न उठ्ला अग्रज समाजसेवी जनप्रतिनिधिहरु,राजनैतिक दलका प्रतिनिधिहरु,संसदहरु माननीय मन्त्रीहरु ज्यूले देशमा थुप्रै पूर्वाधार विकास निर्माणका कार्यहरु गर्नुभएको छ । सरकारी भवन, पक्की पुल, पक्की सडक, कच्ची सडक, पक्की विद्यालय भवनहरु, खानेपानी, झोलुङ्गे पुल शिक्षा स्वास्थ्य लगायतका कार्यहरु सम्पन्न गर्नुभएको छ नभएका ठाउँमा अझै विकास गर्नुहुनेछ । तपाईहरुले गर्न नसकेको कुरा मानवीय विकास हो युवाहरुको क्षमताको विकास गर्नु हो । सीप नसिकेको युवाहरु विदेशमा पनि दुःख पाएर फर्केको अवस्था छ । चुलो चौकोमा आगो नवल्ने अवस्था महँगीको मार/हातमुख जोड्ने समस्या जनतालाई छ भन्ने कुरा विर्सिदिनुहुन्छ । किनकी हाम्रो देश नेपाल दलाली र ठेकेदारहरुले चलाएको देश हो । नेता र मन्त्रीहरु भन्दा माथि ठेकेदार र दलालीहरु धनी छन् । सरकार गरीब छ । सरकार र दलालीहरुको खाडल कसरी फरक पर्न गयो यसमा तर्क गरेमा कुतर्क नै हुनेछ । हाम्रो अर्कालाई टिकाटिप्पणी गर्ने काम भन्दा कुरा वढी गर्ने अर्काको राम्रो कामको प्रशंसा नगर्ने अर्काको नराम्रो कुरा गरेमा खुशी हुने आफ्नो स्वार्थ हेर्ने संस्कृतिले देश गरीव भएको हो र हामी नेपाली मानवीय विकासमा पछाडी परेका छौ । तनलाई स्वस्थ र मनलाई खुशी बनाएर अर्काको राम्रो कामको प्रसंसा र नराम्रो कामको सकारात्मक आलोचना र आपराधिक क्रियाकलाप गर्नेलाई दण्डको व्यवस्था गरेमा हाम्रो देश नेपाल विकास र प्रगतिको बाटोमा अगाडि बढ्ने छ हामी नेपालीहरू सुखी हुनेछौ भन्दै मेरो कुरा अन्त्य गर्दछु ।