हस्तबहादुर केसी 

“हामी आफूलाई कम्युनिस्ट भन्दछौँ । कम्युनिस्टको अर्थ के हुन्छ ? कम्युनिस्ट ल्याटिन शब्द हो । कम्युनिस्टको अर्थ हो साझा । कम्युनिस्ट समाजको अर्थ हो  सबैथोक साझा । जमिन , कारखाना, साझा श्रम यही हो कम्युनिज्म । कम्युनिज्म भनेको साम्यवाद हो र कम्युनिस्ट भनेको साम्यवादी ।“
– लेनिन , संकलित रचना, दश खण्डो मे , खण्ड – १० , पृष्ठ ६४ , प्रगति प्रकाशन मास्को १९८६ ।

        वैज्ञानिक समाजवादको विकासका बीचबाट वैज्ञानिक साम्यवादको स्थापना हुन्छ । वैज्ञानिक समाजवादबाट वैज्ञानिक साम्यवादमा जानका लागि सर्वहारा वर्गको नेतृत्व र अधिनायकत्वमा विचारधारात्मक , शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सङ्घर्षको प्रक्रियालाई अगाडि बढाउन आवश्यक हुन्छ ।

वैज्ञानिक साम्यवाद भन्नेबित्तिकै अर्को अवैज्ञानिक वा त्यसप्रकारको साम्यवाद थियोे भन्ने जनाउँछ । हो , मानव समाजको विकासको इतिहास ज्यादै लामो र समृद्धशाली छ र शुरुको मानव समाज आदिम साम्यवादी समाज थियो जुन एक प्रकारले जंगली अवस्थाको थियो भने पछिल्लो अत्यन्तै विकसित र चेतनशील समाज चाँहि वैज्ञानिक साम्यवाद हुनेछ  । जसको बारेमा तल विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।
पहिलो – आदिम साम्यवाद , जसलाई जंगली युगको व्याख्या गरेको पनि पाइन्छ । दास युगको जन्म हुनु पूर्वको मानव समाज आदिम साम्यवाद हो । यो अवधिसम्म कायम रहेको थियो । आदिम साम्यवादी समाजवादी समाज हुँदै कविलाई गोत्रीय मानव समाजमा विकास हुने क्रममा जब दास स्वामी ( दास मालिक समाज ) उदयसँगै वर्गको जन्म , जसलाई दास समाज भनिन्छ । त्यसदेखि यता वर्गीय समाजको उत्पत्ति र विकास भयो  ।
यसैक्रममा दास समाज , सामन्ती समाज, वैज्ञानिक समाजवादी र वैज्ञानिक ÷ साम्यवादी समाज गरी समाज विकासका चरणबारे वैज्ञानिक साम्यवादका सिध्दान्तकार कार्ल मार्क्स ( सन १८१८ – १८८३ ) ले वैज्ञानिक ढंगले व्याख्या गर्नु भएको छ ।
दोस्रो –  वैज्ञानिक साम्यवाद , जुन विषयमा यस लेखमा विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।

समाज विकासको अन्तिम र वैज्ञानिक चरण साम्यवाद हो । वैज्ञानिक समाजवादमा सर्वहारा वर्गको अधिनायकत्वद्वारा निरन्तर संघर्ष ( वर्गसंघर्ष ) को माध्यमबाट पुँजीवादी अवशेष नष्ट गरे पछि त्यहाँ वर्गीय शोषण हुँदैन र वर्गविहीनराज्यविहीन हुन पुग्छ । यस अवस्थामा सबै समान हुन्छन् । मानिसद्वारा मानिसमाथि हुने सबै खाले शोषण , दमन , उत्पीडन , अन्याय , अत्याचार समाप्त हुन्छ ।प्रत्येक व्यक्ति आफ्नो योग्यता अनुसार काम गर्दछन् र आवश्यकता अनुसार माम प्राप्त गर्दछन् ।
यही वर्गविहीन , राज्यविहीन र शोषण – उत्पीडन बिहिन सबै समान हुने,  सम्पूर्ण उत्पादनका साधनहरू सामाजिकृत हुने व्यवस्था नै वैज्ञानिक साम्यवाद हो । माथि महान् लेनिनले पनि भन्नुभएको छ, साम्यवाद शब्द अंग्रेजी कम्युनिज्म र ल्याटिन कम्युनिज्म संग सम्बन्धित छ ।
साम्यवादी समाजको उच्चतम् अवस्थामा के हुन्छ ? मार्क्स भन्नु हुन्छ , “ साम्यवादी समाजको उच्चतम् अवस्थामा श्रम विभाजनप्रति व्यक्तिको दासत्वपूर्ण अधीनता र त्यसको साथै मानसिक तथा शारीरिक श्रमबीको अन्तर्विरोध समाप्त भए पछि , श्रम जीवनको मात्र एक साधन नभई वास्तविक अर्थमा जीवनको सर्वोवरि आवश्यकता बनिसकेपछि व्यक्तिको सर्वाङ्गीण
विकासको साथसाथै उत्पादक शक्तिहरुको पनि बृध्दि र सामाजिक सम्पदाका सबै श्रोतहरु अधिक वेगले प्रवाहमान भए पछि यो कहीं गएर बुर्जुवा अधिकारको संकीर्ण क्षितिजलाई नाघ्न सकिनेछ र समाजले आफ्नो झणडामाथि अंकित गर्न सक्ने छ , प्रत्येकसंग उसको क्षमता अनुसार , प्रत्येकलाई उसको आवश्यकता अनुसार ।“ मार्क्स – एंगेल्स संकलित रचनाएँ , खण्ड – ३ , भाग – १ , पृष्ठ १८ , प्रगति प्रकाशन मास्को १९८६ ।
संक्षिप्तमा भन्नुपर्दा साम्यवाद तथा साम्यवादी आदर्श एउटा यस्तो नयाँ मानवतावाद हो , शोषक र शोषित वर्ग हुँदैनन् । वर्गसंघर्ष हुँदैन र ठीक त्यसैले राज्यसत्ता पनि हुँदैन । यो एक वर्गविहीन , उत्पीडन बिहिन तथा राज्यबिहिन नयाँ समाज व्यवस्था हो , नौलो संसार हो । यो समाजव्यवस्थामा व्यक्तिगत सम्पत्तिको अन्त्य हुन्छ । निजी मामिलाको झन्जटको अन्त्य हुन्छ र सुन्दर सामुहिक जीवनको शुरुवात हुन्छ ।

साम्यवादको आदर्श भनेको “ हरेकले आफ्नो योग्यता अनुसारको परिश्रम गर्ने र हरेकले आफ्नो आवश्यकता अनुसारको पारिश्रमिक लिने “ भन्ने महान् सिध्दान्तको कार्यान्वयन गर्ने हो । साम्यवाद अन्तर्गत उत्पादक शक्तिहरुको उत्चतर स्तर , भौतिक वस्तुहरु सेवाहरुको पर्याप्त उपलब्धता र काम प्रतिको साम्यवादी दृष्टिकोणले गर्दा “ हरेकले आफ्नो क्षमता अनुसार र हरेकले आवश्यकता अनुसार “ भन्ने सिध्दान्त अपनाउन सम्भव बनाउँछ । किनभने साम्यवाद भनेको उत्पादनका साधनहरुमाथि सार्वजनिक स्वामित्व कायम भएको अनि समाजका सम्पूर्ण सदस्यहरुको पूर्णरुपेण सामाजिक समानता कायम भएको वर्गविहीन सामाजिक व्यवस्था हो । साम्यवादी सामाजिक व्यवस्थामा विज्ञान र प्रविधिमा हुने लगातार उन्नतिका आधारमा उत्पादक शक्तिहरुको वृध्दिसंगै जनताको सर्वतोमुखि विकास अगाडि बढ्छ । साम्यवाद भनेको स्वतन्त्र एवम् सामाजिक रुपले सचेत श्रमिक जनताको एउटा उच्चतम् ढंगले संगठित समाज हो । साम्यवादी समाजमा सार्वजनिक स्वशासनको स्थापना हुन्छ । साम्यवादी समाजमा समाजको हितका लागि श्रम गर्ने कुरा हरेक व्यक्तिको अतिमहत्त्वपूर्ण आवश्यकता बन्न जान्छ । उत्पादन मानिसको हित र स्वार्थका निम्ति मात्र सञ्चालन हुन्छ ।
साम्यवादका बारेमा माओ त्सेतुङले भन्नुभएको छ , “ साम्यवाद भनेको एकैसाथ सर्वहारा विचारधारा र नवीन सामाजिक प्रणाली सहितको पूर्ण व्यवस्था हो । यो अन्य कुनै पनि विचारधारा वा सामाजिक व्यवस्था भन्दा फरक हुन्छ र मानव समाजमा यो नै एकदमै पूर्ण , प्रगतिशील , क्रान्तिकारी र तर्कसंगत प्रणाली हो । 
– Mao Tsetung , On New Democracy , 27, in Selected Works Mao Tsetung , Volume – II ,  Page 360 , Foreign Language Publishing  House , Third Printing – 1975.

 मार्क्सले साम्यवादलाई नयाँ मानिसको सर्जक बताउँदै अगाडि भन्नुभएको छ , “ साम्यवाद “जुन एक स्वतन्त्र मानिसहरुको स्वतन्त्र समाज हुनेछ “ को मूलभूत अभिभारा भनेको नव मानवहरुको सिर्जना गर्नु हो ।“
गाउँ र शहर , तथा शारीरिक र मानसिक श्रमका बीचका सबै भेद पनि समाप्त हुन्छन् । वैज्ञानिक साम्यवादी समाजमा उत्पादक शक्ति र सामाजिक उत्पादनमा अत्याधिक विकास हुनेछ । त्यसैले वैज्ञानिक साम्यवादी समाजमा माल उत्पादन बन्द हुनेछ र त्यसका साथसाथै माल तथा मुद्रा व्यवस्थाको पनि अन्त्य हुनेछ । वैज्ञानिक साम्यवाद एउटा सभ्य , सुन्दर र समानतामूलक सामाजिक व्यवस्थाका साथै विचारधारात्मक व्यवस्था पनि हो । ठीक त्यसो भएर नै मार्क्सका अनन्य मित्र एंगेल्सले भन्नुभएको छ , “ कम्युनिज्म भनेको सर्वहाराको मुक्तिको सर्तहरूको सिध्दान्त हो ।“ – मार्क्स – एंगेल्स संकलित रचना, खण्ड – १ , पृष्ठ ९७ , प्रगति प्रकाशन मास्को १९७८ ।
वैज्ञानिक साम्यवादी व्यवस्था एक्कासि आकाशबाट खसेजस्तो गरी बनिबनाउ व्यवस्था होइन । साम्यवादी समाजमा प्रवेश गर्नका लागि संस्कृति र विचारधाराका क्षेत्रमा आमूल क्रान्तिको आवश्यकता पर्दछ । अर्थात् मानव समाजको विकासक्रममा वैज्ञानिक समाजवादी व्यवस्थामा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत  भीषण वर्गसंघर्ष र विचारधारात्मक सञ्चालन गरेर मात्र विश्व कम्युनिज्मको उदय हुन्छ र वैज्ञानिक साम्यवादी वयवस्था स्थापना हुन पुग्नेछ ।
निष्कर्ष :
कम्युनिस्ट क्रान्तिकारीहरु मार्क्सवाद – लेनिनवाद – माओवादको आलोकमा  सर्वहारा वर्ग तथा उत्पीडित जनसमुदाय र अन्ततः सिंगो मानव जातिकै सुन्दर , सुसंगत तथा उदात्त प्रकार नयाँ संसार निर्माण गर्न चाहन्छन् । नयाँ संसार संभव छ , त्यो नयाँ संसार भनेको वर्गबिहिन , राज्यबिहिन अत्यन्तै सुन्दर र समृद्धिशाली   वैज्ञानिक साम्यवाद नै हो । (लेखक वरिष्ठ माक्र्सवादी लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्)

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto