प्रेमबहादुर खत्री (झलक माहिला)
सिस्ने ३, रुकुम पूर्व
म बाहिर डुलेर घुमफिर गरेर घर भित्र पसे
चुलोको छेवैमा बा बस्नु भएको थियो ।
मैले बालाइ सोधे बा हजुर किन नपढ्नु भाको ?
बा झनक्क रिसाएर भन्नु भयो बेक्कुप पढ्नलाई स्कुल जानू परेन ।
म फेरि नरम हुँदै भने बा स्कुल चाहिँ किन जानुभएन ?
बा अलि चिन्तित भएर भन्नु भयो कर्मको दोष छोरा
स्कुल जाने समयमा डोको बोकेर घाँस गए
दाउरा गए स्याउला गए अनि कसरी स्कुल जानू त ?
स्कुल पनि टाढा थियो पल्लो गाउँको बयरपाटामा ।
स्कुल जानै ४/५ घन्टा लाग्थ्यो ।
पढ्नै पर्छ भन्ने खासै चलन पनि थिएन ।
भनेर लामो सुस्केरा हाल्नु भयो
फेरि मैले बालाइ सोधे बा हजुरलाई हजुरको
बुवा आमाले पढाउँछु भन्नु भएन ?
कापी कलम किन्दिनु भएन ?
बाले एक सुल्पा कंकड दनक्क तानेर जवाफ दिन थाल्नु भो
जब म थाहा पाउने भए तब देखि नै यी कोमल हातले कुटो
समाए कोदालो समाए ।
अनि दिन भरी खेत खन्नु पर्दथ्यो, बाझो फोर्नु पर्दथ्यो ।
झोलीमा दुई रोटि र नुन खोर्सानी हालेर गोठालो जानुपर्दथ्यो ।
अनि झमक्क साँझमा घरमा आउनुपर्दथ्यो ।
त्यसैले कलम र कापी समाउनु सपना जस्तै लाग्यो ।
मैले बाको कुरा सुनिरहे,उहाँले थप्दै जानू भयो ।
हाम्रा दिन दुख गरेरै गए, पसिना बगाएरै गए, आँसु बगेरै गए ।
तर मेरो लक्ष्य छ छोरा तलाइ पढाउँछु । ठुलो मान्छे बनाउँछु ।
अनि समाज र देशको राम्रो नागरिक बनाउँछु ।
हिजो हामीले गरेको जस्तै दुख र पीडा गर्नु पर्ने छैन
मेरो सास छहुन्जेल म केहीको कमी गराउदिन ।।
म एकछिन केही नबोलेर बसे र केही छिनपछि बालाइ सोधे ।
बा म पढेर विदेश जाने हो ??
बाले रिसाको गरेर भन्नू भयो मेरो सामु बिदेशको कुरै नगर ।
विदेश पठाउँथे भने मैले तलाइ पढाउने नै थिएन ।
बाले आम्खोराको पानी पिउदै भन्नुभयो ।
पढ्ने हो अनि देशमै केही गर्ने हो,खाडी र मेलापात सोच्नु हुदैन ।
विदेशी भुमी बिरानो बस्ती कोई हुन्न आफन्ती
रगत र पसिना बगाउनु पर्छ मन हुदैन शान्ति ।
न देखलास बाउको मुख नत आमाको
आउला झल्को गाउँघरको आफ्नै पाखाको ।
त्यसैले छोरा नसोच्नु खाडी नसोच्नु पीडा,
केही कुरा नखेलाएर पढ्ने, ज्ञानि बन्ने अनि असल बन्ने ।
मैले बाको सबै कुरा सुने र भने बा म पढिलेखी ठूलो मान्छे बन्छु ।
हजुरको सपना पुरा गर्छु र स्वदेशमा केही गरेर हजुरलाई खुसी बनाउँछु
मैले यति नै भने, बा मुस्काउँदै भन्नुभयो ल ठिक छ छोरा अब गएर पढ ।
अनि म ओछ्यानमा गएर पढ्न बसे
सुनौलो भविष्य सम्झिएर ।