हरि जिज्ञासु
कहिले काँहि काठमाण्डौँबाट गाउँमा आमालाई फोन गर्छु । आमा छोराले फोन गरेकोमा खुसी हुनुहुन्छ । समय र उमेरले मेरा बुवा आमालाई विस्तारै कमजोर बनाउँदैछ । बाबा र आमा दुबै जनाको केस फूल्नै आँटेको छ । गाला विस्तारै चाउरी पर्दैछन् ।
गाउँमा साह्रै दुःख छ बाबा आमालाई । मैले मेरो बुवा आमाको दुःख देखेको छु, म जस्तै अरु धेरै छोराहरुले आफ्ना बुढा बाबा आमाको दुःख देखेका छन् । आमालाई सोधेँ घरमा खाने कुरा के कस्तो छ ? आमाले खुसीलाई थोरै लुकाएर दुःखलाई अलिकति खुकुलो बनाउँदै भनिन्, ‘जे रोपेपनि फल्छ छोरा, करिब १२ हजारको जति अदुवा छ । ६ हजारको जति बेसार छ । तर किन्ने मान्छे नै छैनन् । त्यतिकै कुहिन लागि सक्यो । के गर्नु मेहनत गरेर उत्पादन गरेपनि विक्रि हुँदैन । भएको चिज विक्रि भए पनि कतै नून तेल किनेर खानेत हुन्थ्यो ।’ यता चितवनमा तरकारी विक्रि भएन र उचित मूल्य पाएन भनेर किसानले आन्दोलन गरेका छन् अनी म आमालाई के जवाफ दिउँ ?

जसरी छोराछोरीहरुले आफ्ना बुवा आमाको दुःख देखेका छन् त्यसैगरी भविश्य खोज्न गाउँ छोडेका युवाहरुको दुःख सरकारले देखेको छैन । अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गएर त्यहाँको दृष्य अबलोकन गर्ने हो भने कलिला भाइबहिनीहरु मलिन अनुहारकासाथ एक दुई थोपा आँसु नेपालको माटोमा मिसाएर प्रदेश उड्छन् । पढ्दै गरेका भाइबहिनीहरुले पनि देशमा भविश्य देख्दैनन् । ऋण लिएर बाख्रा पालन गरौँ, बाख्रा विक्रि हुँदैन, कुखुरा पालालन गरौँ त्यो पनि विक्रि हुँदैन । ठूलै फम खोलेर तरकारी फलाउँ रोडमा फाल्नुपर्छ । आफ्नो श्रमलाई कृषिमा लगानी गरी टन्न उत्पादन गरेर बजारीकरण गरेर टन्न पैँसा कमाऔँ भन्ने हाम्रो मोटो बुद्धिलाई भारतीय बजारले तहसनहस बनाइदिन्छ । अनी हामी कहाँ जाऔँ ? के गरौँ ? कसैले ऋण पत्याउँनेहरु जापान जाऔँ, अलिकति ऋण खोजेर मलेसिया, कतार जाऔँ, साहुले मलिसिया र कतार जानलाई समेत नपत्याउनेहरु त्यहि भारत गएर स्याउ बोकौँ, तरकारी रोपौँ । अनी त्यहि तरकारी र स्याउ नेपाल पठाउँ भारतलाई धनी बनाऔँ । आफ्नो देशलाई गरिब बनाई राखौँ । अहिलेको अबस्था यहि होइन त ?

गत हप्ता साँसद भवन अगाडि प्रेमप्रकास आचार्यले आफ्नो जिउँदो शरिरमा पेट्रोल छर्केर आगो लगाय । उनले आत्मदाह गर्नुभन्दा पहिले आफ्नो फेसबुकमा लामो सुसाइड नोट लेखेका थिए । त्यो सुसाइड नोटमा देशको बर्तमान अवस्था र परिस्थितिले आफूलाई सहजसाथ बाँच्न सक्ने अबस्था सृजना नगरेको कुरालाई प्रस्तुत गरेका थिए । देशको राजनीति र सामाजिक नीति लगायत अन्य धेरै कारणहरुले नेपालीहरुले आत्महत्या गरिरहेका छन् । यदि कुनै पनि देशमा आत्महत्याको दर बृद्धि हुदै गयो भने हामीले सम्झनुपर्छ त्यो देशको सरकारले नागरिकहरुको सहजसाथ बाँच्न पाउँने प्रस्थितिलाई असहज बनाएको छ । नेपालमा अहिले आम नागरिकहरुले असहजताको जीवन विताइरहेका छन् । नागरिकहरुलाई सहजताकासाथ बाँच्ने बातावरण खलबल्याउँने भनेकै हाल नेपालको अस्थिर राजनीति र भ्रष्टचार कर्मचारी रहेका छन् ।

केहि दिन अघि तरकारी विक्रि भएन र उत्पादन गरेको तरकारीले उचित मूल्य पाएन भनेर चितवनमा किसानले तरकारी सडकमा फालेर आन्दोलन गरे । काठमाण्डौँमा उपभोक्ताले तरकारी महंगो भयो भनेर गुनासो गरिरहन्छन् । राष्ट्रिय मिडियामा भारतबाट करौँडौको तरकारी आयात भयो भनेर हेडलाइनमा समाचार आउँछ । अनी त्यहि राष्ट्रिय सञ्चारमाध्यमहरुमा किसानले तरकारीको मुल्य पाएनन् भनेर समाचार प्रकाशित गर्छ । सरकारले भारतबाट आयात हुने तरकारीलाई रोकेर नेपालका किसानहरुले उत्पादन गरेको तरकारीलाई बजारिकरण गर्न सकिरहेको छैन । प्रत्येक महिना तरकारीको लागि मात्रै करोडौँ रकम नेपालले भारत पठाएको छ । अनी कसरी बन्छ त हाम्रो देश सुन्दर शान्त अनी आर्थक रुपमा समृद्धि ? जब सम्म सरकार स्थिर रहँदैन तब सम्म देश बन्दैन । जब सम्म भ्रष्ट कर्मचारीले देशलाई माया गर्दैनन् तब सम्म देश बन्दैन ।

देशको विकास र देशको कमजोर अर्थ नीतिलाई नियाल्ने हो भने सरकारको अस्थिर नीति प्रष्ठ देखिन्छ । बामगठबन्दनको सरकार बनेतापनि त्यहि सरकारलाई ढाल्नको लागि जोडबल गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने उप–प्रधानमन्त्री र गृहमन्त्री बने । उनको नागरिकता सम्बन्धि मुद्धामा सर्बोच्च अदालते उनको विपक्षमा फैसला नगरेपछि उनको सबै पद गुम्यो । नयाँ नागरिकता लिएपछि फेरि उनीलाई आशा थियो गृहमन्त्री बन्ने तर उनलाई प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री नदिएपछि सरकारबाट बाहिरिए । सबैलाई सत्ताकै माया छ । सबैलाई कुर्सीकै माया छ । किसानहरुले के गर्दैछन् माया छैन । नेपाली युवाहरुको अबस्था कस्तो छ पत्तो छैन । कर्णालीका एकल महिला, दलित, आमा बुवा विहिन बालबालिका, त्यसको आर्थिक अबस्था कस्तो छ भन्ने कुरामा कुनै पनि नेताको ध्यान जाँदैन । उनीहरुलाई साँधै कुर्सी कसरी हात पार्ने मात्रै चिन्ता छ ।

म पनि एक युवा हुँ । देशमा खासै भविश्य देख्दिन । नेपालमा गरेको लगानी सुरछित छैन । बरु केही पैसा लगानी गरेर जापान, कोरिया युके लगायतका देशमा गएपछि त्यहाँ मेरो भविश्य सुरक्षित देख्छु । किनकि त्यहाँको संरचना राम्रो छ । त्यहाँ कम्तिमा पसिना चुहाएपनि त आफूलाई सहजसाथ बाँच्न सक्ने पैँसा आउँछ । तर यहाँ त लगानी गरौँ लगानी डुब्ने डर । जागिर गरौँ सबै भ्रष्टचार कर्मचारीको आफन्तबाद छ । अब यहाँ के गर्न सकिन्छ ? देशमा भविश्य खोज्ने युवाहरुलाई खासै भविश्य देख्न गाह्रो छ । कि त खाए पनि नखाए पनि अर्थात बाँच्नु परे पनि मर्नु परे पनि आफ्नै देशमा मर्छू भन्ने खालको आदर्शबादी कुरा गर्नु प¥यो । संधै आर्दशबादी कुराहरुले मात्रै जीवन चल्दैन । जीवन चल्को लागि देशमा सिस्टम हुनुपर्छ । सिस्टमले देश चलेको हुनुपर्छ । यदि देश नै सिस्टममा चल्न गाह्रो छ भने नागरिकको जीवन कसरी सहजसाथ चल्छ ? देशका नेताहरुले देशको लागि नसोच्ने हो र स्थिर रुपमा काम नगर्ने हो भने एक दिन देश युवा विहिन हुनेछ ।

सबै युवाहरुले देश छोड्ने छन् । भ्रष्टचारीहरुले महल ठड्याउनेछन् । पुँजीपतिहरुको राज हुनेछ । उनीहरुले नै देशमा आफ्नो एकाधिकार कायम गर्नेछन् । पदका लोभिहरु कुर्सीको लागि तछाड र मछाड गरिराख्नेछन् । देश कमजोर भइराख्नेछ । त्यसकारण अब जनताले सत्ता र कुर्सीको मात्र माया गर्ने नेताहरुलाई चिनेर पाखा लगाउनुपर्छ । देशमा सिस्टम चाहिएको छ । स्थिर सरकार चाहिएको छ । किसानले तरकारीको मुल्य पाउँनु । युवाहरुले देशमा सुन्दर भविश्य देखुन । गाउँमा मेरो जस्तै लाखौँ छोराछोरीका बुवा आमालाई सुख होस् ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto