उपेन्द्रलाल कामी
बिषय प्रवेश :
हरेक मानिसले आफ्नो दैनिक जीवन ब्यवहारमा झेल्दै र खेल्दै आइरहेका तमाम समस्याहरुको चर्चा परिचर्चा गर्नु यस आलेखको उद्देश्य होइन । न त समस्या बिज्ञ कहलाएर यसको नालीबेली ब्यख्या गर्न खोजिएको हो । यो पंक्तिकार आफै पनि तमामखाले समस्याहरु झेल्दै र भूमरीमा खेल्दै आइरहेको एउटा चिन्तनशिल सोधकर्ता हुनुको नाताले खोज अध्ययनबाट अनुभव र अनुभूति गरेका कुराहरुलाई पाठक समक्ष सम्प्रेशन गर्ने प्रयास मात्र गरिएको हो । यसको साथै आफ्नै आँखा अगाडि समस्याकै कारण मृत्युको बाटो रोजेका मान्छेहरुको हृदयबिदारक घटनाहरुबाट पाठ सिक्ने र समस्याहरुसंग पौठेजोडि खेल्दै भूमरीबाट निस्केर सफलताको उँचाइमा पुगेका महान मान्छेहरुको कथा–ब्यथाहरुबाट उत्प्रेरणा लिने साेंचको बिकास हुन सकोस् भन्ने अपेक्षा यस पंक्तिकारले राखेको छ । समस्यालाई हेर्ने, बुझ्ने, ब्याख्या गर्ने र समाधान गर्ने हरेकका आफ्नै परिभाषा र पद्दती होलान तर एउटा सत्य के हो भने समस्यालाई बुझ्ने र ब्याख्या गर्ने भन्दा हजार गुणा महत्वपूर्ण र कठिन बिषय आफैले समस्याहरु झेल्ने र समस्याहरुसंग खेल्ने कुरा हो । यस बिषयमा केवल केही कुरा जान्न र बुझ्नको लागी मात्र पाठकले अध्ययन गर्ने भन्दा पनि यसलाई आफ्नै जीवन ब्यवहारमा लागु गरेर समाजको लागी केही गर्ने इच्छाशक्ति पाठकलाई पैदा गरिदिन सकेको खण्डमा यो पंक्तिकारले जीवनकै सर्वाधिक महत्वपूर्ण उपलब्धीको रुपमा लिनेछ । यस अर्थमा समस्याको बिषयमा केही खोज गरेर अनुभव र अनुभूति सहित चर्चा –परिचर्चा गर्न बाञ्छनयि ठानिएको छ ।
(क) के हो त समस्या भनेको ?
खासगरि प्राकृतिक तथा मानवीय कारणले सृजित अप्ठ्यारो अवस्था एवं अवरोध नै समस्या हो । संसारमा सबै जीवित प्राणीहरुलाई समस्या आउछ । तर मानिस मात्र त्यस्तो प्राणी हो जसले समस्याको पहिचान तथा पुर्वानुमान गरेर समाधानका लागी बिवेकको प्रयोग गर्दै आफुलाई क्रियाशिल बनाउछ । एक अर्थमा सजाय र सफलताको जननी पनि हो समस्या । किनकी समस्याले मानिसलाई प्रत्यक्ष वा अप्रत्क्ष सजाय दिदै सफलतामा पु¥याउन धाइ आमाको भूमिका निर्वाह गरिरहेको हुन्छ । समस्याले दिने सजायलाई सकारात्मक रुपमा ग्रहण गर्नेहरुले आत्मसमीक्षा गरेर धैर्यतापुर्वक बिवेकको प्रयोग गर्दै सफलताको बाटोमा हिडिरहेका हुन्छन भने नकारात्मक रुपमा ग्रहण गर्नेहरुले दोषभरी आफ्नो भाग्य वा कारण अरुमाथि थोपर्दै भूमरीमा अल्झीएर मृत्युको बाटोसम्म रोज्न पुग्छन् ।
(ख) कसरी, कहाँबाट आउछन् समस्या ?
संसारका हरेक प्राणी र मानवजातीले भोग्नुपर्ने समस्याहरु आउने श्रोत भनेका खास गरी दुई प्रकारका छन् । पहिलो समस्याको श्रोत भनेको प्राकृतिक प्रदत्त हो भने दोश्रो आफ्नो कर्म (काम) हो । प्राकृतिक प्रदत्त समस्याहरु आवश्यकता र बिपद बनेर आउछन् । जस्तैः– भोक, प्यास, यौन आदी प्राकृतिक प्रदत्त आवश्यकता हुन भने प्राकृतिक प्रकोपजन्य घटनाहरु प्राकृतिक प्रदत्त बिपद हुन् । हरेक प्राणी तथा मानव जातीले प्राकृतिक प्रदत्त आफ्ना आवश्यकता तथा इच्छाहरु पुरा गर्न गरिने कर्म एवं क्रियालावबाट सिर्जित समस्याहरु दोश्रो प्रकृतिका हुन । खास गरि मानव जातीलाई दोश्रो प्रकृतिको समस्याहरुले नै बढी सताइरहेको हुन्छ । यसो हुनुमा खास चारवटा कारण छन् । ति हुनः अभाव, दवाव, प्रभाव र स्वभाव ।
अभाव– आवश्यता तथा चाहना अनुसार चिज प्राप्त नहुनुलाई नै अभाव भनिन्छ । समस्याको पहिलो कारक तत्व नै अभाव हो । जुन प्राकृतिक प्रदत्त आवश्यकता र मानवीय इच्छा–आकांक्षाले समस्या सिर्जिएका हुन्छन् । जसलाई परिपूर्ति गर्न मानिसले सुकर्म तथा कुकर्मको बाटो अपनाइरहेका हुन्छन । समस्या सुकर्म तथा कुकर्मको दुबै बाटोमा आउछन । तर कुन बाटो हिड्ने त्यो मानिसको आफ्नो रोजाइको कुरा हो ।
दवाव– मानिसको आन्तरिक मनस्थिति तथा बाह्य परिस्थितीको दवावले समस्याहरु उत्पन्न गरिएका हुन्छन् । जस्तै ः मानिसले आफ्ना आश्यकता तथा इच्छा पुरा गर्न योजनाबद्ध समय–सीमा निर्धारण गरेर काम गर्दा आन्तरिक मनस्थितीमा दवाव उत्पन्न भएको हुन्छ भने उक्त काममा पूँजी लगानी गर्दा ऋणको भार, अवरोधजन्य घटना÷कार्य आदि बाह्य परिस्थितीबाट दवाव सृजना भएको हुन्छ । यस्तै तमाम खाले दवावबाट समस्याहरु उत्पन्न हुने गर्छन् ।
प्रभाव– कुनैपनि वस्तु वा घटनालाई मानिसका पाँच ज्ञानिन्द्रीय (आँखा, कान, नाक, जिब्रो र छाला) मध्य कुनै एक अंगले मष्तिष्कलाई दिने सूचनाबाट सोंच–बिचारमै प्रभाव पारेर समस्या पैदा गरेका हुन्छन् । जस्तो कि कसैले राम्रो प्रगति गरेको, मिठो खाएको, राम्रो लाएको आदि बिषयका सकारात्मक तथा नकारात्मक घटनाले पनि प्रभाव पारेर उत्प्रेरित भइ आफुले पनि केही गरौं भनेर कर्म गर्दा नसोचेका समस्याहरु पैदा हुने गर्छन् ।
स्वभाव– हरेक मानिसमा हुने जन्मजात तथा अनुकरण गरिएका मानवीय स्वभावका कारणले पनि समस्याहरु जन्मिरहेका हुन्छन् । हरेक मानिसका बिभिन्न स्वभावहरु छन् जस्तो कोही अन्तर्मुखी, कोही बर्हिमुखी, घमण्डी, छलकपटी, अति लजालु, उत्ताउलोपन, बढी ठट्यौलोपन, रिसाहा, बिद्रोही, महत्वाकांक्षी, डरपोक आदी स्वभावजन्य कार्यशैलीहरु पनि समस्याका कारण हुन सक्छन् ।
(ग) के समस्याको मृत्यु वा समस्याबाट मुक्ति सम्भव छ ?
मुलतः हरेक मानिसहरु यहि प्रश्नको वरिपरि आफ्नो सारा कार्यक्षमता लगानी गरेर जीवन ब्यतित गर्दै स्वभाविक तथा अस्वभाबिक तौरले जीवनको अन्त्यष्टि गर्दै मानव समाजको बिकासक्रम यहाँसम्म आइपुगेको छ । आवश्यकता र मानवीय इच्छाले सृजना गरेका समस्या समाधानको बारेमा खोज अध्ययन गर्ने दुई विश्वददृष्टिकोण अध्यात्मकवाद र भौतिकवादको बिकास भएको पनि सयौं बर्ष–शताब्दी बितिसक्यो । बिभिन्न कालखण्डमा जन्मेका अध्यात्मिक चिन्नतनका महात्माहरु र भौतिकवादी महान दार्शनिक तथा बैज्ञानिकहरुले निकै ठुलो चिन्तन, खोज, अध्ययन र आविष्कारहरु समेत गरिसकेका छन् । आवश्यकताको समाजबाट मानवजातीले अनगिन्ती समस्याहरुसंग पौंठेजोरी खेल्दै आजको डिजिटल प्रबिधिसहितको सुबिधायुक्त बिलासिताको संसारमा आइपुगेको छ । जुन स्तरमा बिकास एवं प्रगति भइरहेको छ त्यहि स्तरमा आवश्यकता तथा समस्याहरु पनि बिकसित भइरहेका छन् ।
यहाँ बाहिरका धेरै ठुला–ठुला कुराहरु सोच्दै गर्दा आफै भित्रका साना–साना गल्ती कमजोरीहरु पत्ता लगाउदै समयमै सुधारका लागी प्रयास थाल्ने हो भने हरेक समस्याहरुको समाधान सम्भव छ । समस्या आफुले सिर्जना गर्ने तर समाधान बाहिरबाट खोज्ने हाम्रो सोंच र तरिका नै गलत छ । कुनैपनि संस्था होस वा ब्यक्ति समस्या समाधानको प्रमुख आफै हो बाह्य पक्ष होइन । बाह्य पक्ष समस्या समाधानको सहयोगी मात्र बन्न सक्छ निर्णायक हुदैन । निर्णायक भनेको आफै हो । जसरि हरेकको जन्मसंगै मृत्यु अवश्यंभावी छ भने समस्याको पनि जन्मसंगै मृत्यु भइरहेको हुन्छ । समस्याको पहिलो मृत्यु त्यसको समाधान हो भने दोश्रो मृत्यु भनेको समस्याको अनुभूति नहुनु वा अनुभूति गर्ने प्राणी नै नहुनु हो । मानिस जीवित रहेसम्म आवश्यकताहरु अविराम हुन्छन भने इच्छाहरु असिमित हुन्छन् । मानिसका अविराम आवश्यकता र असिमित इच्छा पुरा गर्न क्रियाशिल रहँदासम्म एउटा समस्या समाधान हुँदा त्यहिबाट अर्को समस्या पैदा हुन्छ । यो बिकासक्रमको सिद्धान्त पनि हो । तसर्थ हरेक समस्याको समाधान वा मृत्यु अवश्यंभावी छ तर समस्याबाट पूर्ण मुक्ति भने किमार्थ सम्भव छैन । यहि सच्चाइलाई जानेर वा नजानेर आत्मसात गर्न नसक्नेहरुले समस्याबाट मुक्ति पाउन मृत्युको बाटो रोज्ने गरेका छन् । जुन कुरा धार्मिक, सामाजिक, कानुनी सबै प्राबधानले महापाप र अपराधको रुपमा वर्जित छ ।
उपसंहार
कर्मको मूल सिद्धान्त भनेको हरेक कर्मको प्रतिफल प्राप्ति नै हो । जस्तो कर्म गरिन्छ त्यसको प्रतिफल अवश्य पनि प्राप्त हुन्छ । धतुराको बिऊ रोपेर सुन्तला फल्ने होइन । कर्म गर्दा बीचमा आइपर्ने समस्याहरु ब्यवहारिक परिक्षाका लागी प्रश्नपत्र जस्तै हुन । परिक्षामा असफल भएको बिद्यार्थिले राम्रो तयारीका साथ अध्ययन गरेर पुनः परिक्षा दिने वा पढाइ छोडेर अर्को काम थाल्ने हो त्यत्तिकै बरालिने वा मृत्युको बाटो रोज्ने होइन । एउटा परिक्षामा उत्कृष्ट पास भएको बिद्यार्थिले पनि माथिल्लो कक्षामा जाँदा थप जटिल बिषयहरु अध्ययन गरेर अर्को परिक्षा दिनुपर्छ भन्ने कुरालाई हेक्का राखेर मानसिक रुपले तयार भए झैं हामी हरेक मानव जातीले आफुलाई संधभरीै एक अनुशासित बिद्यार्थिको रुपमा बुझेर स्वचालित बन्न सक्यौं भने जीवनमा आइपर्ने तमाम समस्याहरुलाई समाधान गर्दै सफलताको शिखर चुम्न सक्छौं । समस्या सुकर्म वा कुकर्म दुबै बाटोमा हिड्न चाहनेहरुको निम्ती हरेकको भरपर्दो अभिन्न साथी हो । आफ्नो जीवन कसरी जीउने भन्ने कुराको निर्धारणसंगै समस्याहरुले हामीलाई क्रियाशिल बन्न उत्प्रेरित गरिरहेका हुन्छन । तसर्थ जीवनमा आइपर्ने समस्याहरुको समाधानबाट समस्याको स्वभाविक मृत्यु हामीले खोज्ने हो तर समस्याहरुबाट पूर्ण उन्मुक्ति पाउने मुर्खता गरेर आफैले अस्वभाविक मृत्ुयको बाटो रोज्ने हैन भन्ने हरेकले सन्देश प्रवाह गर्न, मनन गर्न र जीवन ब्यवहारमा लागु गर्न अपरिहार्य बनेको छ ।