हरि जिज्ञासु
केहि दिन अघि काठमाण्डौँबाट एउटा कामले कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा गएको थिएँ । कर्णालीका १० वटा जिल्लाको केन्द्र हो सुर्खेत । दश वटा जिल्लाहरुमध्यमा राज्यका उच्च पदमा रहेकाहरुले अलि सजिलै नाम लिने जिल्ला भनेको सुर्खेत हो । कर्णालीका अरु हिमाली जिल्लाका बासिन्दाहरुले पनि शहर सम्झने वित्तिकै सुर्खेतलाई सम्झन्छन् । त्यहि सुर्खेत सहर देख्न हिमाली जिल्लाका केही गरिब तथा दिनदुःखीहरुले अझै पाएका छैनन् ।
धेरै वर्ष पहिले कुनै विदेशी नेपालको राजधानी काठमाण्डौँ पुगिसकेपछि उसलाई नेपाल आफ्नो देश भन्दा विकसित भएको भान हुन्थ्यो रे । किनकि काठमाण्डौँमा कला संस्कृतिमा सजिएका पौराणीक दृष्यहरु प्रशस्थ थिए । उसले काठमाण्डौँलाई हेरेर नेपालको प्रशंसा गरेको हुनुपर्छ । जब ऊ काठमाण्डौँ भ्याली बाहिर निस्कन्छ त्यसपछि असली नेपालको दृष्य मज्जाले देख्छ अनी भन्छ नेपाल अझै विकास हुन बाँकि छ । अझै पनि नेपाल सरकारले कर्णालीलाई विकासको बाटोमा हिँडाउन सकिरहेको छैन । कर्णालीका नागरिकहरुको जीवनस्थरलाई माथि उठाउन सकिरहेको छैन । कर्णालीका हिमाली जिल्लाहरुमा बसोबास गर्ने नागरिकहरुको जीवनस्थर कति कष्टपूर्ण छ भन्ने कुरामा सरकारको अझै ध्यान गएको छैन ।
डोल्पा, हुम्ला, कालिकोट, जाजरकोट लगायतका जिल्लाहरुमा सरकारले विकासको मोडेल अझै विस्तार गर्न सकिरहेको छैन । कतिपय जिल्लाका कतिपय गाउँहरु अझै अँधेरा छन् । हुम्ला, डोल्पा र कालीकोटलाई अझै पनि केन्द्रीय सडकले पूर्णरुपमा छुन सकिरहेको छैन । त्यहाँका विकट गाउँहरुमा कहिले विजुली बत्ति पुग्छ र बाटो पुग्छ अत्तोपत्तो छैन । सरकार भने काठमाण्डौँको दरबारमार्ग र त्रिपुरेश्वरलाई दश पटक कालोपत्रे गरेर बस्छ । अहिले त राज्यका जिम्मेवारी व्यक्तिहरुलाई काठमाण्डौँ र पोखरा लगायतका सहरलाईमात्र नेपाल देख्न थालेको जस्तो भान हुन्छ । कर्णालीको शिक्षा, स्वास्थ्य र रोजगारको अबस्था चिन्ताजनक छ । कर्णाली भौगोलिक रुपमा ठूलो र प्राकृतिक रुपमा देशकै सुन्दर भूभाग हो । कर्णालीका सुन्दर हिमाली फाँट र सँधै हाँसीरहेका हिमाल हेर्न विदेशीहरु आउँछन् तर नेपालीहरु कर्णाली घुम्न कम मात्रमा जान्छन् ।
प्राकृतिक रुपमा धनी रहेको कर्णालीलाई नेपाल सरकारले अझै चिन्न नसक्नु चिन्ता जनक विषय हो । सरकार विकासको मोडलहरु बोकेर आफू कर्णाली जानुको सट्टामा एनजिओलाई चाउचाउ र नुन बाँडन पठाउँछ । आफ्नो मेहनती पाखुरा चलाएर सुख दुःखले बाँचिरहको कर्णालीका बासिन्दाहरुलाई एनजीओहरुले अपांग बनाएको सरकारलाई पत्तो छैन । अहिले अधिकांस पर्यटकहरु कर्णालीको सुन्दरतालाई हेरेर मज्जा लिनको लागि कर्णाली जाने भन्दा पनि कर्णालीको गरिबी र अशिक्षालाई हेर्नको लागि कर्णाली पुगेको जस्तो लाग्छ । स्वाभिमानी कर्णालीबासीहरु अहिले सहरिया र सुविधा सम्पन्न ठाउँमा बस्नेहरुका लागि दयाका पात्र मात्र बनिरहेका छन् । कणार्लीबासीहरुले स्वाभिमानीसाथ कहिले बाँच्न पाउँने ? यहाँ जात, धर्म र लिङ्गको आधारमा मात्र विभेद छैन भौगोलिक रुपमाको मान्छे कहाँ वस्छ भन्ने विषयमा पनि विभेद छ । काठमाण्डौँमा कर्णालीको कोही व्यक्तिले आफ्नो घर कालिकोट बताएपछि उसलाई हेर्ने दृष्टिकोण नै फरक भइदिन्छ ।
मेरो जीवनकालमा करिब १० पटक भन्दा बढि म डोल्पा पुगेको छु । डोल्पाली नागरिकहरुको जनजीवनलाई मैले नजिकबाट देखेको छु । कर्णालीका नागरिकहरुलाई भौगोलिक बिकटताले ठगेको छ र भौगलिक बिकटतासँगै नेपाल सरकारले पनि ठगेको छ । कर्णालीका केही सिमित व्यक्तिहरु धनि देखिएता पनि अधिकांस व्यक्तिहरु गरिबिको रेखामुनी नै छन् । सरकारले कर्णालीमा शिक्षा पु¥याउन सकिरहेको छैन । जब एसइइको रिजल्ट प्रकाशित हुँदा कर्णालीको अबस्था नाजुक अर्थात चिन्ताजनक निस्कछ । कर्णालीका धेरै बालबालिकाहरु अझै पनि भौगोलिक बिकटता र गरिबीको कारण शिक्षाबाट बन्चित छन् । केहि सकारात्मक र समाज रुपान्तरणको अभियानमा हिडेका शिक्षकहरु डोल्पा, मुगु र हुम्लामा जान अझै पनि मान्दैनन् । बिकट जिल्ला र दुर्गम गाउँमा राम्रो शिक्षक पठाउन सरकारले अझै सकिरहेको छैन ।
निकै खर्चिलो रुपमा सरकारले प्रदेश सरकार निर्माण गरेको छ । प्रदेश सरकारले आफ्नो प्रदेशमा पर्ने जिल्लाहरुको नागरिकको जीवनस्थर माथि उकास्नको लागि काम गर्छ कि भन्ने आशा नागरिकमा थियो तर त्यसको पनि पाँच बर्ष वितेर अर्को सरकार निर्माण भइसक्योे तर पनि विकासको छाँटकाँट खासै देखिएन । बास्तवमा भन्ने हो भने अहिले सरकारले कर्मचारी र प्रदेश सरकारका मन्त्री र संसदहरुलाई पाल्ने मात्र काम गरिरहेको छ । विकासको चित्तबुज्दो नमुनाहरु मैले खासै देखेको छैन । पाँच वर्ष वित्यो तर पनि प्रदेश सरकार बस्ने विरेन्द्रनगर सुर्खेतकै अबस्था दर्दनाक छ । त्यहाँको सरसफाई र नमुनामय बजार विस्तारको अवस्था अस्थव्यस्थ छ । सरसफाइको त कुरै छोडौँ । साँगुरो सडक तै पनि धुलैधुलोले रंगिएको छ । अव्यवस्थित बाटोको कारण बजार कुरुप देखिएको छ । त्यसकारण कर्णालीको राजधानीलाई हामीले राम्रोसँग विकास गर्ने हो भने पनि कर्णालीमा विकास हुँदैछ भन्ने आशा त पलाउँथ्यो तर अबस्था अझै चिन्ताजनक छ ।
प्रदेशको काम प्रदेश सरकारले गर्न थालेको पाँच वर्ष वित्यो तर खासै काम भएको देखिदैन । पाँच वर्ष मन्त्रीमण्डल विस्तार गर्ने र फेरि विगठन गर्ने मात्र भएको छ । अहिले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा बन्नुभएको छ । मुख्य मन्त्री बन्नुमात्र ठूलो कूरा होइन कर्णालीलाई विकासको गतीमा अगाडी बढाउन सक्नु भनेको महानता हो । अहिले मन्त्री बनेर मख्ख पर्ने तर विकासको काम जिरो भएपछि जनताले धिकार्न सक्छन् । जनताले धिकार्नु भनेको मन्त्री हुनुहैन असफल हुनु हो । कर्णालीको बिकासलाई प्राथामिकता दिएर कर्णालीका दुर्गम गाउँहरुका बुढा बुवा आमाका मलिन अनुहारमा मुस्कान छाउन सकियो भने मन्त्रीको इतिहास रचिनेछ । एक पटक मन्त्री बन्न पाउँनु भनेको जनताको सेवा गर्नको लागि ढोका खोल्नु हो । त्यसकारण आफ्नो सुन्दर पहिचान बनाउनको लागि भए पनि भरपूर काम गर्ने हो । यदि सरकारले गर्ने हो भने धेरै त्यस्ता कामहरु छन् जसले नागरिकलाई खुसी तुल्याउँन सकिन्छ । त्यसकारण कर्णालीमा सरकारको ध्यान जाओस् । हिमाल मुस्कुराइरहने भुभाग हो कर्णाली । यहाँका मान्छेहरु हिमाल मुस्कुराएको देखेर अर्थात हिमालको माया पाएर बाँचिरहेका छन् । कोलाहाल र धूलो धुवामा हाँस्न बाँनी परेको सरकार कर्णालीमा हिमाल हाँसेको देख्न चाँहदैन ।