रुकुम पश्चिममा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरु बढेका छन । प्रविधिकको तिब्रतर विकाससंगै स्मार्ट फोन प्रयोगकर्ताहरु बढेसंगै इन्टरनेट प्रयोगकर्ता पनि बढेका हुन । जिल्लामा हाल नेपाल टेलिकमको एडिएसएल सेवा संगै विभिन्न नीजि सेवाप्रदायक कम्पनीहरुले सेवा विस्तार गरेका छन । जसका कारण पहिलेको तुलनामा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुलाई पनि सहजता भएको रुकुम खलंगामा सञ्चालित सिटि इन्फोटेकका संचालक कस्तुप नेपाली बताउछन ।
उनका अनुसार पहिलेको तुलनामा जिल्लामा इन्टरनेटको पहुँच राम्रो भएपनि विद्युत समस्याका कारण बेलाबेला जाने आउने समस्या भएको हुँदा सेवाप्रदायक कम्पनीहरुले ब्याकअप विद्युतको पनि व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको छ । जिल्लामा हाल सुविसु, वल्डलिंक, एभरेष्ट र टेकमाईन्ड लगायतका इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले फाईबर इन्टरनेट सेवा दिईरहेका छन । सूचना प्रविधीको विकासले विकशित देशहरुले फाईभजी समेत प्रयोग ल्याईसकेका छन । तर रुकुम पश्चिमका केहि स्थानमा भने अझै पनि राम्रो संग मोवाईल नेटवकले काम नगर्ने समस्या पनि रहेको छ । बेलाबेला नेटवर्क जाने तथा कुरा स्पष्ट नसुनिने समस्या हटाउनका साथै उच्च गतिको मोवाईल डाटा सञ्चालन हुनेगरि सरोकारवालाहरुले काम गर्नुपर्ने रुकुम पश्चिम त्रिबेणी गाउँपालिकाका स्थानीय पाईराम ओली बताउछन ।
‘सदरमुकाम तथा मुख्य बजारहरुमा त इन्टरनेटको पहुँच राम्रो छ तर गाउँगाउँमा प्रयोग हुने मोवाईल डाटा त्यति प्रभावकारी छैन’ उनले भने, ‘पछिल्लो समय नेपाली दाजुभाईहरु विदेशीनेक्रम पनि बढेको हुँदा घरपरिवारसंग भिडियो कुराकानी गर्नको लागी मोवाईल डाटा प्रभावकारी हुनुपर्ने हुन्छ ।’ सूचना प्रविधीको प्रयोग आम सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरुलाई सबैभन्दा जरुरी छ । विश्वभर पहुँचका अनलाईन सञ्चारमाध्यम सञ्चालन गर्न अनिवार्य छ । स्थानीय तहहरु गठन भएपछि संचारकर्मका कामहरु पनि स्थानीय स्तरबाट भैरहेको छ । इन्टरनेट सेवाका कारण गाउँगाउँबाट सञ्चारकर्मीहरुलाई समाचार सम्प्रेषणमा ठुलो सहयोग पुगेको भएपनि थप गुणस्तर विकास गर्नुपर्ने अहिलेको आवश्यता रहेको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष गोपाल रेग्मी बताउछन । उता नेपाल टेलिकम कार्यालय रुकुम पश्चिमले पछिल्लो समय जिल्लामा टेलिफोन तथा इन्टरनेट नेटवर्कको पहुँच बढ्दै गएको बताएको छ ।
जिल्लाभर हाल १६ वटा टेलिफोन टावर मार्फत नेपाल टेलिकम रुकुम पश्चिमले फोन सेवा प्रदान गरिएको छ । नेपाल टेलिकम कार्यालय रुकुम पश्चिमका प्रमुख कृष्णप्रसाद शर्माका अनुसार हालै नयाँ टावरहरु पनि सञ्चालनमा आएका छन । जिल्लामा नेपाल टेलिकम मार्फत मोवाईल सेवाका लागि विभिन्न ठाउँमा टावर निर्माण गरेर सञ्चालन गरेपनि ल्याण्डलाइन, एडिएसएल तथा फाइवर नेटको माग उच्च भएपनि पुर्ति भने हुन सकेको छैन । जिल्ला सदरमुकाम खलंगा सम्म टेलिकमको फाइवर इन्टरनेट विस्तारका लागि टेन्डर आह्वान भैसकेको भएपनि छिटोछरितो काम हुन नसकेको हो । ल्याण्डलाइन तथा इन्टरनेटको माग जिल्ला सदरमुकाम संगै स्थानीय तहका केन्द्रहरुमा रहेको छ । जिल्लामा भएको क्षमता अनुसार ल्याण्डलाइन र एडिएसएल वितरण गरिसकेको र बाँकी क्षेत्रमा विस्तारलागि टेलिकमको केन्द्र तथा प्रदेश कार्यालयबाट क्षमता विस्तारका लागि पहल गर्नुपर्ने कार्यालयले बताएको छ ।