हरि जिज्ञासु
केही समय अगाडी गाउँमा बाख्रा चराईरहेको अवस्थामा रहेकी मेरी आमासँग फोनमा कुरा भयो । संयोगबस आमा त्यो समय म जन्मेको गोठमा हुनुहुन्थ्यो । गाउँघरमा खेतिकिसानको लागि एउटै परिवारको दुई तीन ठाउँमा गोठहरु हुन्छन् । म पनि हाम्रो मुख्य गाउँदेखि अलि टाढा रहेको एउटा गोठमा जन्मेको हुँ । मेरो आमाले मलाई त्यहि गोठमा जन्माउनुभएको हो । संयोगबस मैले मेरो आमालाई म जन्मकै दिनमा फोन गरेको थिएँ ।
काठमाण्डौँमा केही सानो जागिर र उच्च शिक्षाको अध्ययनसँग संघर्ष गरीरहेको मलाई बेला बेलामा आमाबुवाले कमाउनुपर्छ भन्नेकुराको झल्को गराईराख्छन् । मनमनै सोच्छु आर्थिक आयआर्जन गर्नु भनेको धनी बन्नु हो त ? हामीेले मनग्ये पैँसा कमाएमा हामी धनी व्यक्तिकोरुपमा चिनिन्छौँ त ? के हामी पैसा कमाएर मात्रै धनी बन्न सक्छौँ त ?, पैँसा कमाउनु बाहेक अरु पनि केही छन् कि धनी बन्ने उपाय ? यस्तै प्रश्न मनमा खेलिरहन्छन् ।
काठमाण्डौँबाट गाउँमा रहेकी मेरी आमालाई फोन गर्दा धेरै कुराहरु भए । म बुवासँग भन्दा आमासँग बढी समय कुरा गर्छु । किनकि आमाले धेरै कुरालाई मायाले ब्याख्या गर्नुहुन्छ । मलाई आमाको व्याख्यात्मक टिप्पनी सुनिरहन मन लाग्छ । यति भन्दाखेरी आमाको मात्रै कुरा सुन्ने र बुवाको नुसुन्ने र बुवालाई फोन पनि नगर्ने भन्न खोजेको होइन । प्राया आमाहरु भन्दा बुवाहरु छोराछोरीहरुसँग कम खुल्छन् । त्यो दिन आमाले फोनबाटै मैले घाँस काटेको, मैले बारी खनेको, मैले पानी बोकेर ल्याएको, मैले रोपेको सुन्तलाको रुख लगायत धेरै कुराको मज्जाले झल्को दिनुभयो । मैले ती ठाउँहरु कस्ता छन् भनेर आमालाई प्रश्न गर्दा सबै कुराहरु भन्नुभयो । आमाको आवाजमा व्याख्या गरिएका ती ठाउँका शब्दहरु धेरै मूल्यवान थिए मेरालागि । आमाले मलाई फोनबाटै सिस्नु र रोटी पकाउदैछु छिटो आइजा खाँन भनेर जिस्काउँनुहुन्थ्यो । के गर्नु नजिक भए त आउँथे नी भनेर आमालाई सान्तावना दिन्थेँ ।
सहरमा मैले आमाले भन्दा धेरै मिठो खान पाएको छु । आमाले मैले जस्तो खाएको छु, त्यस्तो खानेकुरा जीवनभरी खान पाउनुभएको छैन । बरु मैले आमाले खानुभएका सबै कुरा चाख्न पाएको छु । किनकी म आमाले पकाएको परिकारहरु खाएर हुर्केको मान्छे हुँ ।
मैले उठाउन खोजेको मुख्य बिषय भनेको धनी र गरिब बीचको सवाल हो । गाउँघरमा बसेर खेतीकिसान गर्ने मेरो बुवा आमालाई मैले धनी बनौँ कि गरिब ? उनीहरुभित्र केही दुःख भएता पनि सन्तुष्टिसहितको मिठो बोली छ । आफ्नो केही सपना पूरा गर्नको लागि काठमाण्डौँ बसेपनि चिन्तामा बाँचिरहेको म आफैले आफैलाई धनी भनौँ कि गरिब ? विषाधीयुक्त खानेकुरा खाएर रोगसँग लडीरहेका व्यापारीहरुलाई धनी भनौ कि अथवा प्रकृतिसँग रमाउँदै अर्गानीक खाने कुरा खाएर दुःख गरिरहेका गाउँले किसानलाई धनी भनौं ? यस्ताखालका अनेक प्रश्नहरु हाम्रो मनमा आईरहन्छन् । तर पनि बास्तविक धनी भनेको जुन व्यक्ति आफ्नो पेसामा सन्तुष्टिसाथ बाँचेको छ त्यो व्यक्ति धनी हो । पछिल्लो अबस्थामा धेरै व्यक्तिहरुले ठूलो घर बनाउँनु, बैँकमा पैँसा टन्न जम्मा गर्नु, राम्रो खालको गाडी चड्नुलाई धनी भन्छन् । एक दृष्टीले उनीहरुलाई धनी भन्दा ठीकै होला तर उनीहरुको धनीपनको विभिन्न तवरले व्याख्या गर्नुपर्दा उनीहरु गरिब प्रमाणीत हुन पनि सक्छन् ।
काठमाण्डौँमा ठूलो घर र राम्रो गाडी भएका व्यक्तिहरुको पारिवारीक जीवनशैली राम्रो छैन भने उनीहरुलाई म धनी कसरी भन्न सक्छु ? बैँकमा टन्न पैँसा थुपारे पनि श्रीमान श्रीमती बीचमा मिलेमतो छैन, सँधै झगडा परिरहन्छ, छोराछोरी छन् तर उनीहरु कहिल्यै आमा बुवाको साथमा छैनन भने त्यस्तो परिवारलाई धनी परिवार भन्न मिल्छ र ? एउटा दृष्टिले उनीहरुलाई धनी भन्न त मिल्न सक्छ तर बास्तवमा उनीहरु धनी हुँदैनन् । धेरै व्यक्तिहरु आर्थिक आयआर्जनलाई धनीको रुपमा लिनेगर्छन तर सामाजिक रुपमा धनी हुनको लागि अलि फरक ज्ञान चाहिन्छ । धेरै व्यक्तिहरु आफ्नो नैतिकता समेतको ख्याल नगरि धनी बन्ने दौडमा दौडिन्छन् । त्यस्तालाई कसरी धनीको दर्जा दिन सकिन्छ ? जुन व्यक्तिको धन त प्रसस्थ छ तर ऊ समाजको लागि कचिङ्गल छ भने त्यस्ता व्यक्तिलाई धनी भन्न मिल्दैन ।
वास्तविक रुपमा धनी हुनु भनेको धन कमाउनु मात्र होइन । ठूलो घर बनाउनु मात्रै होईन । अनी उच्च शिक्षा अध्ययन गर्नु पनि धनी हुनु होइन । बास्तविक धनी भनेको जुन व्यक्ति सामाजिक रुपमा, आर्थिक रुपमा, शैक्षिक रुपमा र स्वास्थ्य अवस्थामा स्वस्थ छ त्यो व्यक्ति नै धनी व्यक्ति हो । जीवनमा खुसीसाथ खान पुगोस्, खुसी साथ लगाउन पुगोस र खुसीसाथ अरु कसलाई दिन पुगोस् यो नै धनी हुनु हो । सबै भन्दा ठूलो कुरा आफूले गरिरहेको काममा सन्तुष्टि रहनु धनी हुनु हो । अहिले धेरैै व्यक्ति सम्पती कमाउनको लागि अर्थात घर खर्च चलाउनुको लागि धन कमाउन विदेश जाने गर्छन् । अझ आजभोली त झन युरोपीयन देशहरुमा जानको लागि होडबाजी चलिरहेको छ । बास्तवमा भन्ने हो भने विदेश जानेहरुले स्वदेशमा सामाजिक रुपमा हेर्दा धेरै कुरा गुमाएका हुन्छन् । धनी बन्ने आशाामा उनीहरुले व्यक्तिगत खुसी सबै गुमाएका हुन्छन् । उनीहरु विदेशमा दुःख गर्छन यता श्रीमतीलाई अर्कैले उडाइदिन्छ । कुरा उडाउनेको मात्रै होइन् विदेशमा हुनेहरु सामाजमा पाउनुपर्ने जीम्मेवारीबाट धेरै टाढा हुन्छन् । गाउँ समाजका आफन्तहरुसँग बसेर रमाउनु पर्नेमा उनीहरु धनी बन्ने आशामा अन्य कुरामा अल्झीरहेका हुन्छन् ।
गाउँघरमा कुटो कोदालो गर्ने किसानका पनि आफ्नै दुःख छन् । उनीहरुले आफ्नै तरिकाले दुःख गरिरहेका छन् । र उनीहरु आफैले आफैलाई दुःखी र खुसी बनाएका छन् । हुन त मानव स्वरुप भनेकै आफैले आफैलाई दुःखी पनि बनाउने र खुसी पनि बनाउने खालको स्वरुप हो । किनकि मान्छे कतिखेर दुःखी हुन्छ र कतीखेर खुसी हुन्छ पत्तो हुँदैन । तर बास्तवमा भन्ने हो भने हामीले ठूलो घर देख्ने वित्तिकै धनी भनेर निक्र्यौल गर्छौँ । धेरै जग्गा जमिन देख्ने वित्तिकै धनीको रुपमा हेर्ने गर्छौँ । नेपाली समाजमा धनी को हो भन्ने कुरा छुट्याउन सक्ने क्षमताको अझै विकास भएको छैन । मानिसमा हुनुपर्ने विभिन्न सन्तुष्टिलाई धनी भन्नु आवश्यक छ । एउटा परिवार कसरी मिलेर बसेको छ त्यस्तो कुरालाई मुल्याकंन गर्नु पर्छ । र अर्को कुरा शिक्षा, स्वास्थ्य, रोजगार, लगायतका कुरामा परिपक्व हुनु पनि धनी हुनु हो ।
जसरी मैले सुरुमा म र मेरो आमाको बार्तालाव सुनाएँ । मेरो वुबा आमा धनी कि म धनी भन्ने कुरालाई तुलनागर्दा मेरो बुवा आमा म भन्दा कति गुणा धनी । हुन त मैले आमाबुवाको भन्दा राम्रो खान पाएको छु, राम्रो लगाउन पाएको छु तर पनि म मेरो जीवनमा त्यति सन्तुष्टि छैन भने मलाई मैले मेरो बुवा आमा भन्दा धनी छु भन्न मिल्दै मिलेन नी । तर मेरा बुवा आमा आर्थिक रुपमा कम्जोर हुनुहुन्छ अथवा शिक्षा स्वास्थ्य लगायतको कुरामा पछि हुनुहुन्छ तर उहाँहरु सामाजिक रुपमा र व्यक्तिगत खुसीलाई मापन गर्दा धेरै धनी हुनुहुन्छ । पसलमा बसेर करोडौँ रकम बैँक खातामा राखेको साउजी सुगर रोगको कारण तड्पीरहेको छन् भने उनलाई धनी भन्न मिल्छ त ? एउटा दृष्टिले मिल्न सक्छ तर सामाजिक र व्यक्तिगत ह्यापिनेसको दृष्टिले हेर्दा उनी गरिब छन् । त्यसकारण को धनी र को गरिब भन्ने विषयमा जनु व्यक्ति आफ्नो पेसामा सन्तुष्टि र खुसी छ त्यो व्यक्ति धनी हो ।