राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (रुकुम गाड बिद्युत आयोजना) ले मंगलबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । नेपाल धितोपत्र बोर्ड अनुमति प्राप्त आफ्नै जिल्लाको विद्युत आयोजनामा शेयर लगानी गर्न पाउने रुकुमेलीको लागि यो पहिलो अवसर हो । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको जानकारी गराएको थियो । ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसका लागि आयोजना प्रभावित क्षेत्र रुकुम पूर्व र रुकुम पश्चिम जिल्लाका सबै नागरिकका लागि निष्काशन भएको हो । विशेष गरी हाईड्रो कम्पनीहरुले आयोजना निर्माण गर्दा वा अन्य बेला स्थानीय बासिन्दाहरुलाई हुने गरेको असरलाई मध्यनजर गरि आयोजनाको सौलियतको रुपमा कम्पनीको शेयरको पहिलो हकदारको रुपमा व्यवस्था गर्दै आएको छ ।
रुकुम पूर्व सिस्ने र भूमे गाउँपालिकामा पर्ने रुकुम गाड खोलाको पानीबाट कम्पनीले ५ मेगावट क्षमताको विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको बताएको छ । आयोजना सम्पन्न गर्न आह्वान गरिएको शेयर लगानी अन्र्तगत संस्थापक शेयर, आयोजना प्रभावित र सर्वसाधरणको शेयरपछि कम्पनीको अधिकृत पुँजी एक अर्ब हुनेछ । धितोपत्रबाट प्राप्त पुँजी मुख्य त रुकुमगाड आयोजनाको सिभिल तथा हाईड्रोमेकानिकल कार्य, कर्जा भुत्तानी र कार्यसिल पूँजीको रुपमा उपयोग गरिने छ ।
रुकुम पूर्व र रुकुम पश्चिमका प्रभावित नागरिकका लागि सुरक्षित गरिएको १० प्रतिशत सेयर विक्रि हुन नसकेका अर्को चरणमा कम्पनीले जारी गर्ने सर्वसाधारण लागि निष्काशन गरिने शेयरमा थप गरि विक्रि खुला हुनेछ ।
यस कम्पनीको मुख्य कारोबार स्थान कम्पनी रजिष्टर्ड कार्यालय काठमाण्डौ महानगरपालिका ११, त्रिपुरेश्वर काठमाण्डौ र जलविद्युत उत्पादन केन्द्र रुकुमगाड आयोजना रुकुम पूर्वमा रहेको छ । राप्ती हाइड्रो कम्पनी अन्र्तगत रुकुमगाड आयोजनाबाट उत्पादन विद्युत नेपाल विद्युत प्राधिकरणले किन्ने सम्झौता भैसकेको छ । रुकुमगाड आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्ने मिति ३ महिना ढिलो हुन भई २०७९ साउन १ गतेबाट तय गरिएको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा काठमाण्डौका रोहित रौनियार र अन्य संचालकमा स्याङजाका कुलविक्रम शाह र काभ्रेपलाञ्चोककी अञ्जना श्रेष्ठ रहेकी छिन ।
प्रभावित निष्काशन हुने आइपिओ बन्द छिटोमा असार ७ गते हुनेछ भने ढिलोमा असार २२ गते हुनेछ । आईपीओमा ग्लोबल आइएमई बैंकको रुकुमकोट रुकुम पूर्व र मुसिकोट शाखा रुकुम पश्चिम, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा रुकुम पूर्व र मुसिकोट शाखा रुकुम पश्चिम र प्रभु बैंकको रुकुमकोट शाखा रुकुम पूर्वबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर सिंगल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।