गाउँनै व्यवसायिक लसुन खेतीमा

Byआहा सञ्चार

२०७८ चैत्र १४, सोमबार १२:४९

रुकुम पश्चिमको चौखाबाङ्ग गाउँका किसान व्यवसायिक लसुन खेतीमा लागेका छन् । अन्नबाली भन्दा लसुन खेतीबाट मनग्ये आम्दानी हुने भएकोले चौखाबाङ्गका अधिकांश किसान लसुन खेतीमा लागेका हुन् । मुसिकोट नगरपालिका –१०, चौखावाङ्ग गाउँ जिल्लामै लसुन उत्पादन हुने पकेट क्षेत्रका रुपमा चिनिएको छ । यस गाउँबाट वर्षेणी ५० देखि ६० लाख सम्मको लसुन बिक्रि हुँदै आएको छ ।

गाउँका धेरैजसो किसानको आम्दानी नै लसुन खेती बनेको छ । विगतका वर्षमा पाखोबारीमा लसुन उत्पादन गर्ने यहाँका किसानले हाल गहुँ, मकै लगायत अन्नबाली उत्पादन हुने जग्गामा व्यवसायिक लसुन खेती गर्न थालेका छन् । गाउँमा उत्पादित लसुन जिल्ला बाहिर निर्यात हुने गरेको किसान वीरध्वज खड्काको भनाई छ ।

यहाँका किसानलाई कृषि सम्बन्धी प्राविधिक ज्ञान तथा बीउ विजनको सहयोग स्थानीय वडासरकारले दिंदै आएको छ । अहिले चौखावाङ्गका विभिन्न वस्ती र अधिकांश किसानका जमिनमा लसुन खेती नै बढि देखिन्छ । लसुन खेती फस्टाउँदै गएपछि किसानलाई बीउ वीजन, सिंचाई, तथा निर्यात व्यवस्थाका लागि वडासरकारले नै पहल गरेको स्थानीय जनप्रतिनिधि धनबहादुर खड्काको भनाई छ ।
चौखाबाङ्गका किसानले पछिल्लो समय लसुन खेती संगै अन्य नगदेबाली तर्फको कृषि व्वसायलाई पनि अंगालेका छन् । यहाँको १० नम्बर वडालाई कर्णाली प्रदेश सरकारले समेत मसलाबाली पकेट क्षेत्रको रुपमा घोषणा गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto