म प्रायः विभिन्न ठाउँमा भ्रमण गर्ने खुब मन पराउँछु । विशेषगरी समाजशास्त्रको विद्यार्थी भएर पनि होला, गाउँघरमा पुगेर समाज कसरी चलिरहेको छ भन्ने कुराको अवलोकन गर्न खुब मन पर्छ । २०६९ सालमा एस.एल.सी पास गरेपछि मेरो जन्मथलो रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नं. ३ खदी गाउँ छोडेर सहर केन्द्रीत भएको पनि बर्षौ वितिसक्यो । गाउँ छोडेको वर्षौ वितेपनि गाउँमा रहँदा भोगेका संघर्षका कथाहरु भने आँखा अगाडि बेलाबेलामा देखिरहन्छन् ।

रुकुमबाट दाङ हुँदै काठमाण्डौँ पुग्दासम्म मैले धेरै अनुभवहरु बटुलेको छु । ती धेरै अनुभवहरुबाट आज गाउँका आमा र सहरका आमाहरुको संघर्षशील जीवनको बारेमा लेख्न चाहान्छु । नेपालमा भौगोलिक बनावटलाई हेरेर पनि विकास कति भएको छ भन्ने कुराको खण्डन गर्न सकिन्छ । नेपालको पश्चिम क्षेत्र भन्दा पूर्वी क्षेत्र विकाशसील छ भन्ने कुरा सबैलाई थाह भएकै कुरा हो । पश्चिम भन्दा पूर्व विकसित भएपछि त महिलाहरुको जनजीवन पनि पूर्वको भन्दा पश्चिमका महिलाहरुको फरक तरिकाले चलिरहेको पक्कै छ ।
अस्ति एउटा कामको लागि काठमाण्डौँबाट डोल्पा पुगेँ । भौगोलिक रुपमा नेपालकै ठूलो जिल्लाको रुपमा चिनिने डोल्पा जिल्लामा यार्सा टिप्नलाई पहिले धेरै पटक पुगेतापनि यो पटक म करिब ८ बर्ष पछि डोल्पा पुगेँको हुँ । वितेका वर्षहरुमा डोल्पा पुग्दा त्यहाँको जनजीवन र आफ्नो गाउँको जनजीवन देख्दा खासै त्यसरी भावुक हुँदैनथेँ । आफ्नो गाउँको आमा दिदीबहिनीहरुको कथा र डोल्पामा रहेका आमा दिदीबहिनीहरुको कथा एउटै लाग्थ्यो । आजभोली उमेर पाको हुँदै गएपछि र शिक्षाको दायरा अलि फराकिलो भएपछि, समाज कसरी चल्दैछ भन्ने कुरालाई बढि ख्याल गरिदोरहेछ ।

पश्चिम नेपालको डोल्पा जिल्लाको सदरमुकाम दुनैमा अझै पनि केन्द्रिय सडक जोडिएको छैन । बीचमा धेरै ठाउँमा मोटर पुल निर्माण हुँन बाँकि छ । पुल निर्माण हुन बाँकि रहेका कारण एउटा ट्रकले पु¥याएको समान झोलुंगेपुलबाट मान्छेले बोकेर अर्को टूकमा अपलोड गर्नुपर्छ । म जाँदाखेर पिलेनमा डोल्पा पुगेपनि काठमाण्डौँ फर्कदा गाडिमै फर्किँने क्रममा करिब ४ ठाउँमा मैले तेस्ता दृष्यहरु देखेँ । करिब विहानको ५ बजेको थियो । डोल्पामा आजबोली निकै चिसो छ । टूकमा रहेको समान बोकेर पुल क्रस गर्ने सबै महिलाहरु थिए । त्यहाँ एउटा पनि पुरुष देखिन । बुढी आमाहरुले बाध्यताको भारी बोकिरहेको देखेँ । महिनौँ सफा नगरेका फोहोर कपडा, महिनौँ नुहाउन समय नपाएको शरीर, हरेक दिन चामलको बोरा बोकेर चुडिनै लागेको पूरानो नाम्लो, टूकले ल्याएको समान बोक्न पाउँदा खुसी देखिने चाहुरिएको अनुहार, अनी टूक नआएपछि आफूले भारी बोक्न नपाउँदा घरका साना बालबच्चाहरु सम्झरेर आँशुले रसाएका आँखाहरु साँच्चिकै मन रुन्छ । पुरुषहरुलाई मतलबै छैन । उनीहरुलाई दिनभरी रक्सी र तास खेल्न पाए भयो । भारी बोकेर भएपनि आफ्नो पारिवारिक जिम्मेवारी पूरा गरेकी शाहासिक महिलाहरुलाई सलाम गर्न मन लाग्छ ।

यो कर्णालीको कथा हो । पश्चिम नेपाललाई त्यस्तै पनि विकासले छोएको छैन । अझ पश्चिम नेपालमा महिलाहरुको जनजीवन झनै संघर्षशील छ । देश पुरुष प्रधान भएता पनि शहरबजारका महिलाहरुले केहि दुःखबाट मुक्ति पाएका छन् भने गाउँमा अझै त्यस्तो छैन । यो सबै हुनुको शिक्षाको कमी हो । पश्चिम नेपालमा महिलाहरुलाई पुरुषले गर्ने दमन ठूलो छ । घरेलुहिंसा अत्याधिक छ । समाजमा कुप्रथाको कानून यति बलियो गरी बाँधिएको छ कि त्यसलाई फुकाउन सामान्य चेतनाले सक्दैन । आजभोली अझ प्रविधिले फट्को मारेको छ र घरेलु हिंसाको घटनाहरु युट्युव र फेसबुकमार्पत बाहिर आउँछन् । सामाजिक सञ्जालमा देखिएका त्यस्ता कुप्रथामय घटनाहरुको विरोध गर्ने मौका सामाजिक अभियन्ताहरुले पाउन थालेका छन् ।

दुरदराजका गाउँहरुमा इन्टरनेटको पहुँच नपुगेको र सामाजिक कानूनका कारण घटना बाहिर आउँदैनन् । सजिलो भाषामा भन्ने हो भने पश्चिम नेपालका कतिपय ठाउँमा पुरुषहरु साना बच्चा बोकेर गाउँ डुल्ने अनी श्रीमतीहरु परिवार पाल्नको लागि अरुको मजदुरी गर्ने बाध्यता छ । कतिपय पुरुषहरु दिनभरी रक्सी पिउँदै तास खेलेर समय विताउँछन् । साँझपख अरुको मजदुरी गरेर थोरै पैसा कमाएर घर ल्याएकी श्रीमतीलाई रक्सीको मातमा अनेकथरी गाली गर्छन् । तर पनि शाहासिक महिलाहरुले पीडालाई आँशुमा परिणत गरेर भए पनि आफूलाई समाहाल्न सक्छन् ।

रोल्पा र रुकुमको अत्याधिक पीडामय त्यो अवस्थाले तत्कालिन माओवादीले सुरु गरेको दश वर्षे जनयुद्धलाई मलजल ग¥यो । सामाजिक हिंसाको विरुद्धमा हुर्किएको माओवादी क्रान्तिले सामाजिक र पुरुष हिंसामा परिरहेकी बुढी आमाको आँसु पुच्थ्योकि भन्ने ठूलो आशा थियो तर त्यो आशा पनि विलय भएर गयो । समाजमा अझै पनि महिलाहरुलाई दमन गर्ने कुप्रथाहरु छन् । ती कुप्रथालाई हटाउन हाम्रो समाजले अझै सकेको छ्रैन ।

महिलाप्रतिको विभेद समाजलेनै निर्माण गरेको एउटा कानून हो । यो कानूनको पालना समाजमा बस्ने सबैले पालना गर्नुपर्ने हुन्छ । पछिल्ला अवस्थामा केहि चेतनाको विकास भएर गाउँका केहि व्यक्तिहरु आर्थिक रुपमा अलि बलियो भएका छन् । आर्थिक रुपमा बलियो भएकाहरुले कतिपय सामाजिक कुप्रथामय कानूनलाई पाखा लगाएको त देखिन्छ तर पनि केहि सामाजिक त्रासहरु भने बाँकि छन् । समाज विकासको परिकल्पना गर्नको लागि सकारात्मक चेतनाको भूमिका सबै भन्दा महत्वपूर्ण हुन्छ । सरकारले पश्चिम नेपालमा विकासको छातालाई फराकिलो पार्न अझै सकेको छैन । त्यहि विकासको छाता फराकिलो पार्न नसक्नुको कारण नै पश्चिम नेपालमा महिला हिंसाको खानी रित्तिन अझै समय लाग्छ ।
सहरबजारतिरका महिलाहरु चेतनाको क्षेत्रमा अगाडि छन् । आर्थिक रुपमा पनि विकट गाउँका महिलाहरु भन्दा बलियो छन् । सहर बजारको महिला हिंसा र गाउँघरको महिलाहिंसाको बनाओट धेरै फरक छ । सहरबजारका महिलाहरुमा यदि घरिलो हिंसा भईहाल्यो भने पनि कानूनी निकाय नजिकै हुन्छ, प्रहरी प्रशासन धेरै नजिक हुन्छ । महिला हिंसाको विरोधमा बोल्ने सामाजिक अभियन्ताहरु नजिकै हुन्छन् । उनीहरुलाई खासै ठूलो समस्या हँदैन तत्काल उनीहरुले आफ्नो अधिकारको लागि आवाज उठाउन सक्छन् । पश्चिम नेपालका कतिपय त्यस्ता ठाउँहरु छन् महिला हिँसा विरुद्धको आवाज उठाउँन समाज डराउँछ । समाजले नै महिलालाई दोसी सावित गर्छ । प्रहरी प्रसाशन समेत सामाजिक नियमसँग डराउँछ ।

अशिक्षा, गरिबी अनी पुरुषको दमन सँगै सामाजिक विभेदको चर्को चोटले थला परेकि पश्चिम नेपालकी कतिपय आमाहरु स्वतन्त्र देखितापनि जेल जीवन बिताईरहेकी छिन् । महिलाहरुको अधिकार र स्वाभिमानलाई संरक्षण गर्न राज्यसत्ताको समान सामाजिकरण प्रणालीलाई नेपालको दुर्गम गाउँहरुसम्म पु¥याउनुपर्छ । महिला हिंसाको विरोधमा बोल्ने सामाजिक अभियन्ताहरु पनि काठमाण्डौँको माइतिघर मण्डलामा मात्रै उफ्रिएर हुँदैन, दुर्गम गाउँहरुमा पुगेर चेतनाहिन पुरुषको हिंसा सहन बानी परेका आमा दिदीबहिनीहरुको आँसु पुछिदिनुपर्छ ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto